नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा भरतपुर महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल लगायतको कारबाही फिर्ता गर्नुपर्ने माग उठेको छ।
सोमबारको बैठकमा केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको कमजोरीका कारण भरतपुरमा कार्यकर्ताले उम्मेदवारी दिएको दाबी गरेका छन्।
‘चुनावमा अरूसँग मिलेर चुनाव लड्ने भनियो, स्थानीय आवश्यकता र औचित्यका आधारमा मिलेर लड्ने भन्ने केन्द्रीय समितिको निर्णय थियो। त्यो निर्णयलाई केन्द्रबाटै लत्याइयो, केन्द्रबाट गठबन्धन लादियो,’ कोइरालाले भने, ‘भरतपुर महानगरपालिका हामी एक्लै जित्ने थियौं, स्थानीय निर्णय पनि त्यही थियो तर माओवादी केन्द्रलाई भरतपुरको प्रमुख दिइयो। हामीले भरतपुर गुमाउनुको जिम्मेवारी कसले लिने हो? त्यो लिनुपर्छ।’
उनले केन्द्रीय समितिले जबर्जस्ती लादेको विषयमा कार्यकर्तालाई कारबाही गर्न नहुने उनले बताए।
‘स्वतन्त्र उम्मेदवारी दिने, प्रस्तावक, समर्थक बस्नेलाई पार्टीले बोलाएर कुरा गर्नुपर्छ, निलम्बनमा परेका सबैलाई अविलम्ब निलम्बन फुकुवा गर्नुपर्छ,’ उनले बैठकमा भनेका थिए।
सत्तारूढ गठबन्धनले भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी उम्मेदवार रेनु दाहाललाई समर्थन गर्ने घोषणा गरेपछि कांग्रेसभित्र विद्रोह भएको थियो।
असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेर पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएका थिए। उनलाई पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मिना खरेलले समर्थन गरेका थिए।
निर्वाचनमा पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गरेका थिए। पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि पार्टीले उनलाई सघाउने जिल्ला नेताहरूलाई कारबाही गरेको थियो। उम्मेदवार, प्रस्तावक र समर्थक उम्मेदवारी दर्तासँगै कारबाहीमा परेका थिए।
कोइरालाले स्थानीय आधार र आवश्यकता अनुसार तालमेल या गठबन्धन गर्ने केन्द्रको निर्णयविपरीत केन्द्रबाटै तालमेल र गठबन्धन लादेर केन्द्रीय समितिको निर्णयको खिलापमा जाने काम भएको आरोप लगाए।
केन्द्रबाट भएको एउटा गल्तीको प्रतिक्रिया स्वरूप तल्लो तहबाट अर्को गल्ती भएको हुनसक्ने भन्दै कोइरालाले कारबाही फुकुवा गर्नैपर्ने बताएका थिए।
केन्द्रीय समितिको बैठकमा धारणा राख्दै कोइरालाले स्थानीय तहको निर्वाचनमा जितियो भनेर खुसी मनाउनुको खासै अर्थ नरहेको बताएका थिए।
‘स्थानीय चुनावमा कांग्रेस सबभन्दा ठूलो पार्टी भयो, यसैमा खुसी मनाएको हो? अहँ यो गलत हो। किनभने कांग्रेस सधैं ठूलो पार्टी हो। विगतमा कम्युनिष्टहरू एक हुँदा पनि कांग्रेस सबभन्दा ठूलो पार्टी भएकै थियो, उनीहरू फुट्दा पनि ठूलो पार्टी भएकै छ,’ उनले भने, ‘बरू स्थानीय चुनावमा हामीले जे/जे गरेका छौं, त्यसबाट पार्टीलाई दीर्घकालीन क्षति भएको छ।’
उनले विजयी भए पनि स्थानीय निर्वाचनबाट कांग्रेसले आफ्नो परिचय गुमाएको दाबी गरे।
कांग्रेसको शान, स्वाभिमान र पहिचान खोज्ने काम नेतृत्वबाटै भएको उनले बताए।
‘कांग्रेसले रूखको खेती गर्ने हो, घाँसको खेती गर्ने होइन। कतिपय घाँस हुन्छ केही महिनामै हलक्क बढेर रूखजस्तो हुन्छ, त्यसको आयु लामो हुँदैन,’ कोइरालाले भने, ‘हामीले कम्युनिष्टहरूसँग मिलेर स्थानीय चुनावमा केही सिट थपेका हौं। एक्लै लडेको भए पनि त्यति सिट ल्याउँथ्यौं कि? एक्लै लडेको भए योभन्दा धेरै ल्याउने थियौं कि? यतातिर पनि सोचविचार गरौं।’