भरतपुर विमानस्थलमा जहाज ल्याण्ड हुन थालेको ६१ वर्ष पहिलेबाट हो।
काठमाडौं, विराटनगर, पोखरा, राजविराज, जनकपुरजस्ता ठूला सहरमा मात्रै विमानस्थल चलेको समयमा चितवनमा पनि विमानस्थल सञ्चालनमा ल्याइएको थियो।
यहाँ सन् १९६१ मा ५८ विघा जमिनमा धावनमार्ग तयार पारेर उडान सुरू भएको थियो। त्यतिखेर चितवनमा भर्खर बस्ती बस्दै थियो। राप्तीदुन उपत्यका विकास योजनामार्फत् बस्ती बसालिँदै थियो।
त्यो सुनसान ठाउँ अहिलेको देशकै व्यस्त बजारमा परिणत भइसकेको छ। केही हजार मान्छे बस्ने चितवनको जनसंख्या अहिले सवा ७ लाख पुगेको छ। तर विमानस्थलको अवस्थामा भने सुधार आउन सकेको छैन। १२ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा ४२ सिटे जहाज जेनतेन अवतरण हुने गरेका छन्।
त्यसोत भरतपुर विमानस्थलको विस्तारको प्रसंग चल्न थालेको एक दशक पहिलेदेखि हो।
उत्तरतर्फ रहेको नेपाली सेनाको ब्यारेक र सेनाकै घोडा प्रजनन् केन्द्रलाई कतै स्थानान्तरण गरेर विस्तार गर्ने बहस त्यतिखेरैबाट चलिरहेको छ।
यसै त साँघुरो विमानस्थल, त्यसमाथि सीमा नजिकै बनेका अग्ला संरचनाले दुर्घटनाको जोखिम बढ्दो छ।
बढ्दो जोखिमलाई मध्यनजर गरेर २०७० साल फागुन ९ गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले विमानस्थल वरपर मापदण्डविपरीत निर्माण भएका भवनहरूको लगत संकलन गरी प्रतिवेदन पेस गर्न प्राविधिक समिति निर्माण गरेको थियो।
उक्त समितिले विमानस्थलको प्रभावित क्षेत्रमा ३१३ वटा अस्थायी तथा स्थायी संरचना निर्माण भएकोमा २५७ वटा संरचना मापदण्डविपरीत रहेको प्रतिवेदन पेस गर्यो।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ को भावनाविपरीत विमानस्थल वरपर भवन बनिसकेको, ती भवनका कारण विमानको उडान, अवतरणमा गम्भीर असर परिरहेको र भविष्यमा झनै अप्ठ्यारो अवस्था आउन सक्ने देखिएकाले मापदण्डविपरीत बनेका संरचना हटाउनु पर्ने सुझाव उक्त प्रतिवेदनमा थियो। तर सरकारका नागरिक उड्डयन मन्त्रीहरू आउँदा विस्तारको प्रतिबद्धता जनाउनु बाहेकको प्रगति भएन। प्रतिवेदन यसै थन्कियो।
तत्कालीन भरतपुर नगरपालिका उपमहानगरपालिका हुँदै महानगरपालिका बन्यो। संविधान निर्माणपछि स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनलगत्तै विमानस्थल विस्तारको बहस फेरि सुरू भयो।
२०७५ सालको माघ २८ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा भरतपुर विमानस्थलको कार्यालयमा बसेको बैठकले यहाँ रात्रिकालीन अवतरण पनि गर्न सकिनेगरी विमानस्थलको स्तरोन्नति गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
उक्त बैठकले विमानस्थलको धावनमार्ग १ हजार मिटर बढाउनुपर्ने, यसका लागि विमानस्थलको उत्तर–पश्चिममा रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् केन्द्रलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने, दक्षिण–पूर्वमा रहेका घर एवं घरका ट्रसहरू हटाउनुपर्ने र नयाँ संरचना निर्माण गर्न दिन नहुने निष्कर्ष निकालेको थियो।
फागुनमा पूर्वप्रधानमन्त्री तथा चितवनबाट निर्वाचित सांसद पुष्पकमल दाहाल‘प्रचण्ड’, पर्यटन मन्त्री अधिकारीसमेत सहभागी बैठकले सेनाको व्यारेक र घोडा फार्मलाई भरतपुर–१ मा नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला क्षेत्रको ३६ विघा र भरतपुर–११ बसेनी गणेशस्थान दक्षिण–पूर्व सामुदायिक वनको ६० विघा जमिनमा स्थानान्तरण गर्नुपर्ने राय दिएको थियो। यसैको आधारमा भरतपुर महानगरपालिकाले २०७५ फागुन २ गते पर्यटन मन्त्रालयहरूमा पत्राचार गरेको थियो। यसका लागि पहल हुँदै गर्दा मन्त्री अधिकारीको निधन भयो।
२०७६ सालको असोजमा पर्यटन मन्त्रालयले सह–सचिव बुद्धिबहादुर लामिछानेको संयोजकत्वमा समिति बनाएर अध्ययन सुरू गर्यो। त्यतिखेर पर्यटनमन्त्री योगेश भट्टराई थिए। उनले पनि भरतपुर विमानस्थल विस्तारका लागि प्रयास गरे। लामिछानेको संयोजकत्वमा बनेको समितिले माघमा भरतपुर विमानस्थलमा एटिआर–७२ वा सो सरहका जहाज उडान, अवतरण गर्न धावनमार्गलाई १५ सय मिटर लामो बनाउने सिफारिस गरेको थियो।
भरतपुर महानगरकी मेयर रेनु दाहालका अनुसार विमानस्थल विस्तारका लागि गुरूयोजना अनुसार नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र भएको जग्गा प्राप्त गर्ने, गण र केन्द्र स्थानान्तरणपछि बाँकी रहेको जमिनमा सेनाको एयर बेस राख्नेगरी आवश्यक विभागीय सहमति लिने निर्णय पनि भएको थियो।
यसै अनुरूप २०७७ सालको साउन २५ गते नेपाली सेनाको कालीबहादुर गण भरतपुरले विमानस्थल विस्तारको गुरूयोजनामा नेपाली सेनाको एयर बेस र लजिस्टिक बेसको भौतिक संरचना निर्माणलाई समेत समावेश गर्नेगरी प्रक्रिया अगाडि बढाउन महानगरलाई पत्राचार गरेको दाहालले बताइन्।
त्यसपछि पनि विमानस्थल विस्तारको विषयमा छलफल नचलेका होइनन्। तर विस्तारको ठोस निर्णय भने अझै पनि हुन सकेको छैन।
भरतपुर विमानस्थल विस्तारको विषयमा पहिलो पटक समिति बनेको ९ वर्ष भएको छ।
यो अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ८ जना फेरिएका छन्। उनीहरू सबैले भरतपुर विमानस्थलको भिआइपी कक्षमा बसेर विमानस्थल विस्तारको काम सुरू गर्ने बताएका थिए।
२०७० सालमा सुशील कोइराला प्रधानमन्त्री हुँदा भीमप्रसाद आचार्यदेखि आनन्द पोखरेल, जीवनबहादुर शाही, जितेन्द्रनारायण देव, रवीन्द्र अधिकारी, योगेश भट्टराई, प्रेम आले हुँदै अहिले जीवनराम श्रेष्ठ विभागीय मन्त्री छन्।
श्रेष्ठले बुधबार विमानस्थल विस्तार हुन लागेको जानकारी दिन भरतपुर आइपुगेको बताए।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पनि लिएर आएका उनले यसै वर्षदेखि विस्तारको काम सुरू हुने दाबी गरे।
‘संविधान निर्माणपछिको म सातौं नागरिक उड्ड्यन मन्त्री रहेछु। सातलाई लक्की नम्बर भन्ने चलन पनि छ,’ भरतपुर महानगरपालिकाको सभाहलमा उभिएर उनले भने, ‘म खेल क्षेत्रको मान्छे हुँ। यस पटक गोल गर्छु। त्यही जानकारी दिन भरतपुर आएको हुँ।’
उनले विमानस्थल विस्तारका लागि आसपासमा मापदण्डविपरीत बनाइएका संरचनाहरू हटाउन महानगरपालिका र स्थानीयवासीको सहयोग आवश्यक पर्ने बताए।
महानगरले त्यति समन्वय गरे यसै वर्षबाट विस्तारको काम सुरू गर्नेगरी बजेटको व्यवस्थापन गर्ने उनले बताए।
‘मैले प्रधानसेनापतिसँग पनि यस विषयमा कुरा गरिसकेको छु। उहाँ असाध्यै सकारात्मक हुनुहुन्छ,’ मन्त्री श्रेष्ठले भने, ‘देशको पर्यटन विकासका लागि पनि भरतपुर विमानस्थलको स्तरोन्नति नगरी सुखै छैन। त्यसैले अब काम अघि बढ्छ।’
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हाल रहेको धावनमार्गलाई ३०० मिटर मात्रै बढाउन सके भरतपुर विमानस्थलमा ७२ सिटका जहाज अवतरण हुन सक्ने बताए।
‘सेनाको व्यारेक सार्न पनि नपर्ने भयो, घोडा फार्ममात्रै सार्दा विमानस्थलको विस्तार हुन्छ,’ उनले भने, ‘बाधक संरचनाहरू हटाएर यसै वर्षदेखि विस्तार सुरू हुन्छ। महानगरले २०८० साललाई भ्रमण वर्ष घोषणा गरेको छ, त्यतिखेरसम्म रात्रिकालीन अवतरण गर्नेगरी काम गर्छौं।’
उनले समयमा निर्णय नहुँदा भरतपुर यातायात विकासमा धेरै पछि परेको बताए।
६१ वर्षअघि स्थापना भएको विमानस्थल अझै पनि उस्तै अवस्थामा हुनु दुखद् भएको उनले बताए।
‘भरतपुरवासीले अवसरको उपयोग गर्न सक्नुभएन। यहाँभन्दा पछि स्थापना भएका विमानस्थल धेरै स्तरीय भइसके,’ उनले भने, ‘अहिले दैनिक २० वटा जहाजहरू राति मोफसलका विमानस्थलमा रहन्छन्। बिहान ६ बजे नै काठमाडौं पुग्छन्। अब पनि भरतपुरले अवसरलाई समात्न सकेन भने विस्तार गर्न सकिएन भने ४२ सिटको जहाज पनि अवतरण गर्न नमिल्ने अवस्था आउँछ।’
उनले विमानस्थल विस्तार गर्न नसके साना जहाजमात्रै अवतरण गर्न मिल्ने अवस्था आउने बताए।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विमानस्थल विस्तार गर्न मेयर भएलगत्तै प्रयास थालेको बताइन्।
केही दिनअघिमात्रै काठमाडौं गएर प्रधानसेनापति, प्रधानमन्त्रीलाई भेटेर कुरा राखेको भन्दै उनले सबैबाट सकारात्मक जवाफ पाएको बताइन्।
‘अब चाहिँ विमानस्थल विस्तारको काम अघि बढ्नेमा म विश्वस्त छु। मन्त्री आफैं यहाँ आएर काम सुरू गर्छौं भन्नुभएको छ,’ मेयर दाहालले भनिन्, ‘विस्तारको काम सुरू गर्नुपर्यो। मापदण्डविपरीत बनेका संरचना हटाउन र आवश्यक समन्वय गर्न महानगर तयार छ।’
भरतपुर विमानस्थल भएर दैनिक ५०० यात्रुहरू ओहोरदोहोर गर्छन्। यहाँबाट काठमाडौं, पोखरा र भैरहवा उडान हुने गरेको छ। साना जहाजमात्रै चल्ने भएकाले काठमाडौंबाट नजिकै भए पनि भाडा महँगो छ।