नेकपा (एमाले)बाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको एक वर्ष पुग्नै लागेको छ। एमालेबाट अलग भएर नयाँ पार्टी गठन गर्न तत्कालीन एमाले सांसद रामकुमारी झाक्रीको पनि महत्वपूर्ण भूमिका थियो। नयाँ पार्टी गठन भएपछि उनी सचिव बनिन्।
यसबीचमा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको सामना गर्यो तर परिणामबाट सन्तुष्ट भएन। सत्ता गठबन्धनमा निर्भर रहँदा परिणाम सुखद हुन नसकेको आवाज त्यस पार्टीको नेतृत्व तहबाट सुनिँदै आएको छ।
अब मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि सत्ता गठबन्धनले तालमेल गर्ने निर्णय गरेका छन्। यो चुनावमा एकीकृत समाजवादीले कति सिटमा दाबी गर्छ? त्यस्तो दाबीको आधार के हो? राजनीतिक वृत्तमा एकीकृत समाजवादीको गन्तव्य एमालेमा विलय वा माओवादीमा विर्सजन भन्दै टिप्पणी पनि हुने गरेको छ। यी लगायत आगामी चुनावका तयारी र अध्यक्ष माधवकुमार नेपालसँग पछिल्लो समय चिसिएको भनिएको सम्बन्धबारे एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीसँग सेतोपाटीका शिशिर ढकालले कुराकानी गरेका छन्। कुराकानीको सम्पादित अंश:
एकीकृत समाजवादीको एक वर्षको अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ?
हाम्रो पार्टी निर्माणको प्रशस्त आधार र सम्भावना हुँदाहुँदै पनि हामी कमजोर बन्यौं। यसको निर्मम समीक्षा केन्द्रीय कमिटीमा समेत भइसकेको छ। संगठन र पार्टी निर्माणलाई द्रुत गतिमा अघि बढाउने कार्यलाई कोरोनाले प्रभाव पार्यो। लगत्तैको स्थानीय तह चुनावले पनि असर पुर्यायो।
स्थानीय तह चुनावमा हामी गठबन्धनमा धेरै निर्भर हुँदा उपस्थिति सन्तोषजनक हुन सकेन। गठबन्धन गर्दा पनि आर्जन भएको परिणामका कारण पार्टी पंक्तिमा चोट पुगेको छ। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको साखलाई बलियो बनाउन केन्द्रित भइरहेका छौं।
राष्ट्रिय पार्टीको हैसियत प्राप्त हुने गरी अघि बढ्न सर्कुलर भइसकेको छ। अहिले जिल्ला-जिल्लामा संगठनलाई तीव्रता दिने काम भइरहेका छन्। हामीले केन्द्रीय प्रशिक्षण सकेका छौं। एक वर्षदेखि बस्न नसकेका जनसंगठनका बैठक पनि धमाधम बसिरहेका छन्।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ, पार्टीको तयारी कस्तो छ?
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका निम्ति नीतिगत तयारीमा नेताहरू खटिनुभएको छ। यसका निम्ति उहाँहरूले घोषणा पत्र तयार गर्नु हुनेछ।
गठबन्धनमार्फत् अघि बढ्दा साझा कुरा के-के लिएर जाने भन्ने विषयमा छलफल केन्द्रित छ। घोषणापत्रमा उल्लेख विषयलाई सरकारका कार्यक्रममा समेट्ने विश्वासिलो आधार तयार गर्नका निम्ति छलफल भइरहेको छ।
हाम्रा कार्यक्रमहरू हाम्रा निम्ति नैतिक बन्धन बनाउने किसिमले र त्यसबाट मतदाताको विश्वास आर्जन गर्ने किसिमले तयारी भइरहेको छ। अहिले पाँच दलीय गठबन्धनभित्र पनि समाजवादी गठबन्धनको कुरा भइरहेको छ। त्यसमा एकीकृत समाजवादीको प्रभावकारिता बनाउने कुरा स्वभाविक नै भइहाल्यो। गठबन्धन भित्रैबाट निर्वाचन जित्ने कुरामा केन्द्रित भइरहेका छौं। यसका अलावा आफ्नै पार्टीको संगठन निर्माणलाई बलियो बनाउन र कमिटी प्रणालीलाई व्यवस्थित गर्न आक्रामक रूपले अघि बढेका छौं।
एकीकृत समाजवादीको एक्लै लड्ने सामर्थ्य नभएका कारण गठबन्धनमा जोड गरिरहेको भन्ने छ नि!
एकीकृत समाजवादीसँग एक्लै लड्ने सामर्थ्य नै नरहेको कुरा सत्य छैन। स्थानीय चुनावमा पनि कतिपय स्थानमा हामी एक्लै लडेका थियौं। संविधानले सुनिश्चित गरेको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल बहुमत सुनिश्चित छैन।
संयुक्त सरकार नै बन्ने परिस्थितिमा एजेन्डा मिल्नेहरूबीच गठबन्धन गर्ने कुरा गलत होइन। वर्तमान गठबन्धन नभएको भए मुलुकको राजनीतिमा रिक्तताको स्थिति आउने थियो।
हामीले लोकतन्त्रलाई लिकमा ल्याएका थियौं। राष्ट्रिय आवश्यकताले गठबन्धन बनेकाले त्यसलाई निरन्तरता दिन खोजिएको हो। चुनावपछि बन्ने सरकारलाई पनि बलियो र स्थिर बनाउन गठबन्धन बनाउन खोजिएको हो।
एकीकृत समाजवादीलाई मात्रै बलियो बनाउन गठबन्धन बनाउन खोजेका होइनौं। गठबन्धनको वकालत गर्दै हामीसँग एक्लै लड्न सक्ने क्षमता छैन भन्न मिल्दैन। यो गठबन्धन हाम्रो पार्टीको अस्तित्व रक्षासँग मात्रै सम्बन्धित छैन।
चुनावमा पाँच दलीय गठबन्धन गर्ने साउन २० मा सहमति भएको थियो, सिट बाँडफाँट गर्न कार्यदल पनि बनेको छ, तपाईंहरूले कति सिट दाबी गर्ने हो?
हामी २४ जना सांसदले एमालेबाट विद्रोह गरेका थियौं। ती सबै सांसदलाई आगामी प्रतिनिधि सभा निर्वाचनमा समेट्ने सहमति पहिले नै भएको थियो। यो सहमतिअनुसार २४ स्थानमा हाम्रो दाबी रहन्छ। ती २४ मध्ये १२ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत् आउनुभएको थियो। त्यसैले कति निर्वाचन क्षेत्रमा हामी प्रत्यक्ष लड्ने भन्ने कुरामा गठबन्धनका शीर्ष नेताहरूले विवेकपूर्ण निर्णय गर्नुहुनेछ भन्ने विश्वास छ।
स्थानीय तहको चुनावमा हाम्रा उम्मेदवारले पाएको मत नौ लाख हो। यो गठबन्धनका कारण कांग्रेस र माओवादी केन्द्रबाट पनि आएको मत हो। एकीकृत समाजवादीको मात्रै मत साढे तीन लाख हो।
अब हुने चुनावमा समानुपातिकतर्फ हामी एक सय १० सिटमै कलस्टर मिलाएर उम्मेदवारी दिन्छौं। प्रत्यक्षतर्फ आपसी सहमतिमा दिने कुरा भयो। हाम्रो पार्टी नै राष्ट्रिय आवश्यकताअनुसार गठन भएको थियो। यसलाई ध्यान दिँदै गठबन्धनका अन्य दलले हामीलाई न्यायपूर्ण व्यवहार गर्नुहुन्छ भन्ने विश्वास छ।
तपाईं कहाँबाट चुनाव लड्ने हो?
यो पटकको निर्वाचनमा मेरो नाम समानुपातिक सूचीमा समावेश हुने छैन। म प्रत्यक्ष नै उठ्ने हो। मैले काम गरेको इलाका वा अपनत्व भएको ठाउँ र मेरा अभिभावक भएको स्थान गुल्मी क्षेत्र नम्बर २ हो। त्यहाँबाट चुनाव लड्नुपर्छ भन्ने दबाब ममाथि छ। काठमाडौंबाट पनि कुरा भइरहेको छ। मेरा लागि प्राथमिकता गुल्मी नै हो। अर्को विकल्प भनेको काठमाडौं हो। गठबन्धनमा कसरी सहमति हुन्छ त्यलाई पनि कुर्नुपर्ने स्थिति छ।
एमालेले विद्रोह गरेर गएका सांसदहरूलाई फर्काउन संवाद गरिरहेको चर्चा छ। तपाईंलाई फर्कने अफर आएको छ कि छैन?
म एमाले अध्यक्ष केपी ओलीसँग विगतदेखि नै सैद्धान्तिक रूपमा असहमति राख्दै आएको व्यक्ति हुँ। यो पार्टी बनाउन माधव कमरेड वा अरूको जत्ति नै योगदान छ मेरो पनि त्यति नै योगदान छ। यो पार्टीबाटै मैले अवसरको अथाह सम्भावना देखेको छु।
त्यसैले पनि कुनै पनि अफरबाट लोभिने पक्षमा छैन र त्यस्तो मान्छे पनि होइन। कतिपयको चाहना एमालेमा आवस् भन्ने होला वा कतिपयको चाहना जावस् भन्ने होला तर कसैको पनि चाहना पूरा हुनेवाला छैन। एकीकृत समाजवादीलाई नै मूल शक्ति बनाउने संकल्पमा म दृढ छु। यही पार्टीलाई बलियो बनाउन निर्वाचनका गतिविधिमा व्यस्त छु।
एकीकृत समाजवादी एमालेमा विलय वा माओवादीमा बिर्सजन हुन्छ भनेर टिप्पणी गर्छन्, के भन्नुहुन्छ?
उस्तै-उस्तै प्रकारको कम्युनिष्ट पार्टीको संख्या धेरै हुँदा हाम्रो पृथक पहिचानका सवालमा प्रश्न उठ्नु स्वभाविक नै हो। हामी छिट्टै नै राजनीतिक दस्तावेज वा घोषणाबाट यस्ता सैद्धान्तिक विषयमा उठेका प्रश्नको जवाफ दिनेछौं। हाम्रो पार्टीमा जनताको बहुदलीय जनवादलाई मान्ने वा नमान्ने अथवा विचारधारा के हो भन्ने प्रश्नको निर्क्यौल अझै भइसकेको छैन।
हामीले पहिले सबैलाई समेट्न खोज्दा वैचारिक बहसलाई केन्द्रमा राखेनौं। राजनीतिक र सैद्धान्तिक लाइनमा खरो बहस नहुँदा हामीमाथि अझै प्रश्न उठ्ने छन्। एमालेबाट विद्रोह गरेर जन्मिएको पार्टी भएकाले हाम्रा केही शैली एमालेसँग मिल्छ। चुनावपछि राष्ट्रिय सम्मेलनमार्फत् विचारधारा निर्माणमा हामी केन्द्रित हुनेछौं। यसले हाम्रो पृथक पहिचान स्थापित गर्नेछ। हामीले एमालेमा पनि विलय हुने छैनौं, माओवादीमा विर्सजन पनि हुने छैनौं।
एमालेतिरै फर्कने कोणबाट पार्टीभित्र छलफल सुरू भएको खबर पनि आएका थिए नि?
हाम्रो पार्टीमा एमालेमा जाने कुरामा कुनै बहस भएको छैन, न त माओवादीमै जाने कुरा भएको छ। समाजवाद लक्ष्य राख्ने शक्तिबीच मोर्चा बनाउने कुरामा छलफल भइरहेको छ। शीर्ष नेताबीचको छलफलमा समाजवादी केन्द्रको बहस भएको पनि छ। यस मोर्चामा सहभागी हुनेबाहेक अन्य कुनै एजेन्डामा हामीले छलफल गरेका छैनौं। तर शीर्ष नेताबीचको छलफलमा आएको समाजवादी केन्द्रको प्रस्ताव अझै परिपक्व भइसकेको छैन।
मन्त्रीबाट फिर्ता बोलाएपछि तपाईंसहित केही नेता पार्टी जिम्मेवारीमा सक्रिय हुनुहुन्न हो?
हामी मन्त्री हुँदा पार्टीको कुनै जिम्मेवारीमा थिएनौं। मन्त्रीको जिम्मेवारीबाट मुक्त भएपछि केही निजी काममा व्यस्त पनि भयौं। अहिले हामी सबै पार्टीले तोकेको जिम्मेवारीअनुसारकै भूमिका छौं। सबैजना पार्टीकै कार्यक्रममा व्यस्त हुनुहुन्छ। म पनि अध्यक्षसँगै कार्यक्रममा उपस्थित भएको छु। अध्यक्षसँग बोलचाल नै नभएको, संवाद नै नभएको हल्ला आइरहेका छ्न्। यी कुरामा कुनै सत्यता छैन। अहिले हामी सबै निर्वाचन केन्द्रित गतिविधिमा अग्रसर भइरहेका छौं।
तपाईंले रौतहटको योजनालाई लिएर माधव नेपालको आलोचना गर्नुभयो। अध्यक्षसँग सम्बन्ध बिग्रिएको हो?
सहरी विकास मन्त्रालयमा मैले सुधारका निम्ति धेरै काम गरें भने मेरा केही एजेन्डा अलपत्र पनि परे। सार्वजनिक खर्च कटौती, राष्ट्रको ढुकुटीप्रतिको जवाफदेहिता, गैरबजेटको खर्चको विषयमा मैले पहिलेदेखि नै वकालत गर्दै आएको थिएँ। मन्त्री हुँदा राष्ट्रिय ढुकुटीमा असर पुर्याउने गतिविधिलाई निरूत्साहित गर्नै केन्द्रित भएँ। मेरो प्राथमिकता स्वीकृत कार्यक्रमको कार्यान्वयन नै थियो। ठेक्का प्रक्रियामै नगएका आयोजना कार्यान्वयन सम्भव नै हुँदैनन्।
अध्यक्षलाई खुसी बनाउनका निम्ति आयोजना शिलान्यासमा लगिएको विषयको मैले आलोचना गरेको हुँ। यसमा पार्टी भित्रको आन्तरिक राजनीतिको कुनै पनि असर छैन। यो सैद्धान्तिक र व्यवहारिक रूपमा गलत भएरै मैले प्रक्रियाको विषयमा प्रश्न उठाएकी हुँ। कतिपयले एमाले फर्किने तयारी रहेकाले आलोचना गरेको पनि भने तर यसमा कुनै सत्यता छैन। अध्यक्षमाथि नैतिक राजनीतिका सवालमा म सधैं नै प्रश्न उठाउँछु।