नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोमबार एउटा सार्वजनिक कार्यक्रममा बोल्दै आफ्ना नेता तथा कार्यकर्ताको मनोबल बढाउने प्रयत्न गरे।
उनले भने, ‘ब्रुस्लीसँग कहिले, कहिले मोटा-मोटा, अग्ला-अग्लाहरूले खेलेको देख्नुभएको छ? त्यो रिङमा खेलेको देख्नुभएको होला नि ब्रुस्लीसँग? ब्रुस्लीलाई हान्छन्, यता हान्छन्, उता हान्छन्। कहिले पछार्छन्। कहिले के गर्छन्। रगतपक्ष पार्छन्। ठ्याक्क चाहिएका बेला ब्रुस्लीले थपक्क उठाउँछ, फनन्न घुमाउँछ। उत्तानो पारेर पछार्छ र ढ्यापढ्याप पार्न लगाउँछ अम्पायरलाई।’
त्यसपछि ओलीले थपे, ‘हामीले पनि चाहिएका बेला उत्तानो पारेर पछारेर अम्पायर (निर्वाचन आयोग) लाई भन्ने हो- ल तीन पटक ढ्यापढ्याप पार।
ओलीको व्यक्तित्वको एउटा सबल पक्ष के हो भने उनी अप्ठ्यारो परिस्थितिको दबाब आफूमाथि भरसक पर्न दिन्नन्। वा कम्तीमा उनको अनुहार र भावभङ्गीमा देखिन दिन्नन्।
सत्ता गठबन्धन मिलेर चुनाव लड्ने निर्णयसहित सिट बाँडफाँटमा केन्द्रित भएपछि एमाले दबाबमा परेको छ। मनोवैज्ञानिक दबाबमा परेका आफ्ना नेता-कार्यकर्ताको मनोबल उकास्ने प्रयत्न ओलीले गरिरहेका छन्।
कार्यकर्ताको मनोबल बढाउन ओलीले ब्रुस्लीलाई रेस्लिङको रिङमै उतारेर भए पनि उदाहरण त दिए। तर साँच्चै के हो गठबन्धनसँग लड्ने एमाले रणनीति? के गरिरहेको छ एमाले?
एमालेको पहिलो रणनीति सत्ता गठबन्धनमा नजोडिएका दलहरूसँग चुनावी तालमेल गर्ने हो। यो रणनीति स्थानीय निर्वाचनकै निरन्तरता हो। यसपालि एमालेका लागि यो विकल्प पनि थप खुम्चिने हो कि भन्ने देखिएको छ।
सत्ताबाहिर रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनमा जोडिने र निर्वाचनअगावै सरकारमा जाने तरखरमा छ।
लोसपाले सत्ता गठबनन्धनसँग हात बढाउँदा सहकार्यको ढोका बन्द हुने परिस्थिति आएको एमाले उपमहासचिव विष्णु रिमालले सेतापाटीलाई बताए।
‘लोसपाले कांग्रेससँग हात अघि बढाएपछि हामीसँग सहकार्य हुने कुरा नै भएन। सत्ता गठबन्धन बाहेकका दलले एमालेसँग सहकार्य गर्न चाहेमा हामी खुला छौं। तर यसपटक बृहत गठबन्धनविरूद्ध एक्लै लडेर हाम्रो शक्ति परीक्षण गर्ने पक्षमा छौं,’ रिमालले भने।
कुरा मिलिसकेको भने छैन। सत्तारूढ अर्को मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) लोसपालाई सत्ता गठबन्धनमा ल्याउन इच्छुक छैन। अर्कोतिर निर्वाचनको मुखमा कोही पनि मन्त्रीबाट हटेर लोसपाका नेताका लागि ठाउँ खाली गर्ने पक्षमा छैनन्। त्यसैले लोसपा सरकार र सत्ता गठबन्धनमा जाने कुरा अझै निश्चित भइसकेको छैन।
निर्वाचन आयोगले प्रकाशित गरेको स्थानीय निर्वाचनको तथ्यांक लिएर सेन्टर फर डेटा जर्नाल्जिमका अरूण कार्कीले गरेको विश्लेषणअनुसार लोसपासँग चुनावी तालमेल गर्न सके एमालेको मधेसमा ३ सिट थपिन सक्छ।
लोसपा सत्तारूढ गठबन्धनमा समावेश भए एमालेलाई राप्रपासँग सहकार्यको विकल्प मात्रै रहनेछ। राप्रपासँग देशैभरि छरिएर रहेको मत छ। गएको स्थानीय निर्वाचनमा राप्रपाका वडाध्यक्षहरूले पाएको मत हेर्दा राप्रपासँग करिब चार लाख मत भएको देखिन्छ। राप्रपासँग मिलेर चुनाव लडे एमालेलाई केही राहत मिल्ने देखिन्छ।
कार्कीको संस्थाले गरेको वडा तहको मतको विश्लेषणअनुसार एमालेले एक्लै चुनाव लड्यो र अरू सबैले ऊविरूद्ध गठबन्धन बनाए भने एमालेले ९ सिट मात्र जित्ने सम्भावना हुन्छ। तर राप्रपासँग गठबन्धन गर्यो भने १७ सिटमा एमालेका सांसद निर्वाचित हुन सक्छन्।
‘विचार मिल्ने शक्तिबीच चुनावी सहकार्य गर्ने विकल्पमा हामी खुला छौं। विगतका कमजोरीलाई सच्याउँदै हामी चुनावमा अघि बढ्छौं,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने।
एमालेको दोस्रो रणनीति आफूबाट टुक्रिएर बनेको एकीकृत समाजवादीका नेता, कार्यकर्ता आफूतिर तानेर क्षति कम गराउने हो।
स्थानीय चुनावमा एकीकृत समाजवादीका कारण एमालेको पाँच लाख मत प्रभावित भएको महासचिव शंकर पोखरेलको दाबी छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टी विभाजनको थप असर पर्न नदिन एकीकृत समाजवादीबाट कार्यकर्ता भित्र्याउने अभियानमा केन्द्रित हुन एमाले अध्यक्ष ओलीले निर्देशनसमेत दिएका छन्।
‘नेताहरूबीचको गठबन्धन जेसुकै होस् तर माधव नेपालका कार्यकर्ताहरूलाई हामीले भन्नुपर्छ- कांग्रेसको बिँड बनेर कम्युनिष्ट सिध्याउने कि कम्युनिष्ट शक्तिलाई बलियो बनाउने? यो कुरा सम्झाउनुपर्छ, माधव नेपाल र माओवादीका कार्यकर्तालाई फर्काउनुपर्छ,’ ओलीले प्रदेश कमिटीको प्रशिक्षणमा भनेका छन्।
एमालेले संसदीय निर्वाचनमा एकीकृत समाजवादीका निर्वाचित सांसदलाई भित्र्याउन पनि पहल गरिरहेको छ। एमालेका २४ सांसद माधव नेपालसँगै एकीकृत समाजवादीमा गएका छन्। त्यसमध्ये १२ जना प्रत्यक्ष निर्वाचित सांसद हुन्।
‘एमालेले फेस भ्यालु भएकाहरूलाई भित्र्याउने प्रयत्न जारी नै राखेको छ। त्यहाँ जाँदा टिकट पाइने निश्चित छ तर जित निश्चित छैन,’ एकीकृत समाजवादीका एक सांसदलले भने।
एकीकृत समाजवादीको जनवर्गीय संगठनबाट पनि कार्यकर्ता भित्र्याउन एमाले सक्रिय छ। हालै मात्रै समाजवादीनिकट कर्मचारी संगठनका नेता भोला पोखरेल एमालेमा आएका छन्। उनकै पहलमा एकीकृत समाजवादीको जुम्लाको सिंगो कमिटी एमालेमा प्रवेशको तयारी थियो। तर अन्तिम समयमा स्थगित भयो।
एमाले उपमहासचिव ज्ञवाली एकीकृत समाजवादीका कार्यकर्ताहरूका निम्ति एमालेको ढोका खुला रहेको बताउँछन्।
‘एकीकृत समाजवादी भित्रका कार्यकर्तामाझ असन्तुष्टि बढिरहेको छ। उहाँहरूसँग हाम्रो कुनै गुनासो छैन। त्यस पार्टीका कार्यकर्ताहरूका निम्ति एमालेको ढोका खुला छ,’ ज्ञवालीले भने।
आवश्यक परे कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने परिस्थिति आउन सक्छ र त्यसका लागि तयार रहनुपर्छ भन्ने छलफल पनि एमालेभित्र चल्न थालेको छ।
लोसपा सत्ता गठबन्धनसँगै टाँसिन प्रयत्नरत रहेकाले उसको भर छैन। तर लोसपा, जसपालगायत मधेस केन्द्रित दलमा रहेका असन्तुष्ट नेताहरूलाई एमालेले आफ्नो पार्टीमा ल्याउने प्रयास गरिरहेको छ।
यस्तै राप्रपाले एमाले एक्लै परेको देखेर सिटमा अनावश्यक बार्गेनिङ गर्न सक्छ। त्यसमाथि राप्रपासँगको सहकार्यकै कारण एमालेमाथि दक्षिणपन्थी गठबन्धनको आरोप लाग्न सक्छ।
चुनावी लाभका लागि मात्रै संविधानका आधारभूत उपलब्धि गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विरोधी शक्तिसँग सहकार्यलाई पुन: निरन्तरता दिने वा नदिने भन्ने वैचारिक प्रश्न एमालेभित्र कायमै छ।
आवश्यक पर्दा राप्रपासँग सबैले तालमेल गरेका छन् तर अर्को दलसँग मिलेमा दक्षिणपन्थीको आरोप लगाउन पनि कसैले बाँकी राखेका छैनन्।
त्यसैले आवश्यक परे एमाले चुनावमा एक्लै जाने मनस्थिति बनाएको छ। स्थानीय चुनावमा प्राप्त लोकप्रिय मतले एमालेको जनमत अझै पनि बलियो रहेको देखिन्छ। पार्टीका नेताहरूले दाबी गरेजस्तो पहिलो स्थानमा त एमाले छैन।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्थानीय तहमा पहिलो स्थानमा रहेको नेपाली कांग्रेसभन्दा एमालेले १ लाख ४४ हजार ५ सय ९१ मत मात्र कम ल्याएको छ। आयोगले वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा लोकप्रिय मत निकालेको थियो।
आयोगको विवरणअनुसार एमालेले ३८ लाख ११ हजार ७ सय २ मत प्राप्त गर्दा कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ मत प्राप्त गरेको थियो। गएको संसदीय निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो नम्बरमा थियो। उसले कांग्रेभन्दा ४५ हजार मत धेरै ल्याएको थियो। त्यसरी हेर्दा गएको संसदीय निर्वाचनको तुलनामा कांग्रेसले एमालेभन्दा करिब दुई लाख मत बढाएको छ।
आन्तरिक कमजोरीलाई सुधारेर निर्वाचनमा सहभागी हुँदा अझै पनि कांग्रेसलाई उछिन्न सक्ने भएकाले एमाले एकल प्रतिस्पर्धामा जान नडराउने जिकिर उपमहासचिव ज्ञवालीले गरे।
‘प्राविधिक रूपमा दोस्रो भए पनि जनमत बलियो रहेको तथ्य स्थानीय चुनावले देखाइसकेको छ। हामीले आंकाक्षीहरूको सही व्यवस्थापन र कमिटीलाई पूर्ण परिचालन गर्ने हो भने एमाले फेरि बलियो शक्तिका रूपमा आउनेमा कुनै शंकै छैन,’ ज्ञवालीले भने, ‘हाम्रा गल्तीलाई सुधार्दै पहिलो शक्तिका रूपमा स्थापित हुने गरी आत्मविश्वाससहित एक्लै जनताको बीचमा जानेछौं।’
उपमहासचिव रिमालले पनि आवश्यक परे एक्लै लड्न एमाले तयार रहेको बताए।
‘एमालेविरूद्ध अहिले बृहत गठबन्धन बनेको छ। यो गठबन्धनविरूद्ध एक्लै भिडेर आफ्नो वास्तविक सामर्थ्य देखाउन एमाले तयार छ,’ उनले भने।
अध्यक्ष ओली स्वयंले पनि सत्ता गठबन्धनविरूद्ध एक्लै लड्न एमाले सक्षम रहेको भन्दै कार्यकर्ताको मनोबल उच्च बनाउने भाषण गरिरहेका छन्।
उनले भनेका छन्, ‘जब-जब कांग्रेस सत्तामा आउँछ उसले एमालेमाथि दमन गर्छ। कांग्रेसको बिँड बनेर गएकाहरूका कारण एमालेलाई दमन गर्न झन् सजिलो भएको छ। तर अब चुनाव आउँदैछ। हामीले जवाफ दिनैपर्छ, एमालेको बहुमत आउने गरी तपाईंहरू जनताकोमा जानुस्।’
यसरी एमालेले चुनावमा आवश्यक परे एक्लै लड्ने मनस्थिति बनाउँदै लगेको हो। माओवादी केन्द्र र एकीकृत समाजवादीले हाल कांग्रेससँगको सहकार्य नछोड्ने भएकाले वाम गठबन्धन सम्भव नरहेको एमालेको निष्कर्ष छ।
‘वाम गठबन्धनको प्रयास गरे पनि अहिले नै त्यसले आकार पाउने स्थिति रहेन,’ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले भने।
अहिले एक्लै भिडेर निर्वाचनपछि कम्युनिष्ट शक्तिको समिकरण निर्माण गर्ने रणनीति एमालेको रहेको छ।
‘माधव नेपाल र प्रचण्डसहितको वाम गठबन्धन अब सम्भव रहेन। चुनावअघि त गठबन्धन सम्भव भएन, चुनावपछि नयाँ समिकरण विषयमा छलफल हुन सक्छ,’ उपमहाचिव ज्ञवालीले भने।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेस २३ सिटमा खुम्चिएको थियो। त्यसपछि कांग्रेसले एमाले र माओवादी गठबन्धन तोड्न प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री बन्ने अफर गरेको थियो।
सो अफर लिएर प्रचण्डसँग गएका कांग्रेसका एक नेता भन्छन्, ‘हामीले प्रचण्डलाई कांग्रेस-माओवादी केन्द्र मिलेर सरकार बनाऔं, तपाईं पाँचै वर्ष सरकार चलाउनुहोस् भनेको हो।’
त्यसलाई नकार्दै प्रचण्डले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे। पछि एमाले र माओवादीबीच पार्टी एकता भयो। प्रचण्ड र ओलीबीच आलोपालोको सहमति ओलीले लत्याएपछि नेकपाभित्र विवाद चर्कँदै अहिलेको राजनीतिक परिस्थिति निर्माण भएको हो।
यो संसदीय निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्रीको र सायद फेरि पार्टी एकताको प्रस्ताव पठाउने पालो एमालको हुनेछ। प्रचण्डले सो प्रस्ताव स्वीकारे भने एमालेले गठबन्धनलाई ‘ब्रुस्ली’ किक हानेर छिन्नभिन्न पार्नेछ।
कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता साझेदारीमा माहिर खेलाडी हुन्। आफूले दिएको बचन राख्नेमा पनि देउवाको ‘ट्रयाक रेकर्ड’ अरू समकालीन नेताको भन्दा राम्रो छ।
कतिपयले देउवा र प्रचण्डबीच चुनावपछि बन्ने सरकारको नेतृत्व बाँडफाँटमा सहमति भइसकेको आकलन गरेका छन्। त्यस्तो सहमति भइसकेको हो र प्रचण्ड त्यसप्रति प्रतिबद्ध रहने हो भने एमालेको ‘ब्रुस्ली’ किकले काम गर्ने छैन।
देउवाले प्रचण्डलाई सरकारको नेतृत्वमा भाग दिएनन् भने गठबन्धनलाई ‘ब्रुस्ली’ किक सम्भवत: प्रचण्ड नै हान्नेछन्!