सरकारले नि:शुल्क गर्ने भनेका औषधि समेत गरिब बिरामीले पाउन सकेका छैनन्। तर लुम्बिनी प्रदेश सभाका सांसदहरूले भने हरेक वर्ष लाखौं रुपैयाँ औषधि उपचारको नाममा भुक्तानी लिँदै आएका छन्।
पछिल्लो तीन वर्षको अवधिमा प्रदेशसभा सचिवालयमार्फत् ४६ जना सांसदहरूले ५२ लाख ९५ हजार ८ सय ८० रुपैयाँ औषधि उपचार भन्दै भुक्तानी लिएका छन्।
आर्थिक वर्ष २०७६/७७ मा २८ जना सांसदले १४ लाख ४९ हजार ५ सय ३० रुपैयाँ लिएको उपचार खर्च त्यसयताका वर्षहरूमा निरन्तर बढिरहेको छ।
आर्थिक वर्ष २०७८/७९ मा २५ जना सांसदले १७ लाख १८ हजार ५६ रुपैयाँ भुक्तानी लिएकोमा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३६ जना सांसदले २१ लाख २८ हजार २ सय ९४ रुपैयाँ भुक्तानी लगेका छन्।
लुम्बिनी प्रदेशसभा सचिवालयमा रहेको तथ्यांक अनुसार १३ जना प्रदेश सांसदले पछिल्लो तीन वर्ष नै औषधि उपचारबापत भन्दै रकम बुझेका छन्।
त्यस्तै, १७ जना सांसदले २ वर्ष र १६ जनाले एक वर्ष रकम बुझेका छन्। औषधि उपचार खर्च भन्दै स्वर्गीय बलदेव शर्मा पोखरेललाई ४ लाख ८६ हजार ८ सय २४ रुपैयाँ भुक्तानी दिइएको थियो।
लुम्बिनी प्रदेश सभामा जेष्ठ सदस्यको हैसियतले पहिलो प्रदेशसभा बैठकको अध्यक्षता समेत गरेका पोखरेलको २०७६ साल माघ ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो।
त्यसपछि प्रदेशसभा सचिवालयमार्फत् सबभन्दा बढी उपचार खर्च भन्दै भुक्तानी बुझ्नेमा प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडिया रहेका छन्।
चिनी उद्योगका मालिक समेत रहेका कनौडियाले आर्थिक वर्ष २०७७/७८ मा २ लाख ४९ हजार १ सय ५७ र २०७८/७९ मा २ लाख २७ हजार ८ सय ५१ गरी दुई वर्षमा ४ लाख ७७ हजार ८ रुपैयाँ उपचार खर्च लिएका छन्।
त्यस्तै, ८ जना सांसदले २ लाखभन्दा माथि र ११ जना सांसदले १ लाखभन्दा माथि औषधि उपचार खर्चबापतको भुक्तानी लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
२ लाखभन्दा माथि रकम बुझ्नेमा मन्त्री समेत रहेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले २ लाख ३७ हजार २ सय ७०, कांग्रेसकी सचेतक निर्मला क्षेत्री २ लाख ७३ हजार ८ सय ९७, माला गोतामेले २ लाख १४ हजार ६ सय ८७ र कांग्रेसकै मोहम्मद याकुब अन्सारीले २ लाख १६ हजार ९ सय ५९ रुपैयाँ भुक्तानी लिएका छन्।
त्यस्तै, एमालेका डा. पुरनमान बज्राचार्यले २ लाख २० हजार १ सय ६७, डा. कृष्ण न्यौपानेले २ लाख ४८ हजार १ सय ५ र सरस्वती गौतमले २ लाख २० हजार २ सय ३१ रुपैयाँ भुक्तानी लिएका छन्। बज्राचार्य चिकित्सा शास्त्रमा एमडी गरेका चिकित्सक हुन् भने न्यौपाने आयुर्वेदिक चिकित्सक हुन्।
त्यस्तै, जसपाबाट कारबाहीमा परेकी पूर्वमन्त्री कल्पना पाण्डेयले २ लाख ७५ हजार २ सय ७ रुपैयाँ भुक्तानी लिएकी छन्। यीमध्ये न्यौपाने, अन्सारी र गौतमले तीन वर्ष नै उपचार खर्च भन्दै औषधिको बिल भरपाई बुझाएर उपचार खर्च लिएका छन् भने बाँकी सांसदले दुई वर्षको लिएका छन्।
त्यसैगरी, १ लाखभन्दा माथि रकम लिनेहरूमा सभामुख पूर्णबहादुर घर्तीले १ लाख ४० हजार ३ सय ५१ र उपसभामुख कृष्णी थारुले १ लाख ६ हजार ९२ रुपैयाँ खर्च बुझेका छन्।
यस्तै, नेपाली कांग्रेसका अष्टभुजा पाठकले १ लाख ६९ हजार ४ सय ६, रुन्धावती शर्माले १ लाख १७ हजार ३ सय २८, शान्तिदेवी स्वर्णकारले १ लाख २१ हजार ४ सय १० र कांग्रेसकै भुवनेश्वर चौधरीले १ लाख १३ हजार ४ सय ७५ रुपैयाँ भुक्तानी लिएका छन्।
त्यस्तै, माओवादी केन्द्रकी आशा स्वर्णकारले १ लाख ८ हजार ९ सय ५२, दीपा विकले १ लाख २२ हजार ८ सय ६६ रुपैयाँ औषधि खर्च लिएका छन् भने एमालेका चेतनारायण आचार्यले १ लाख ३१ हजार ८५ र विमला शर्मा पन्थीले १ लाख १४ हजार ६९ रुपैयाँ भुक्तानी लिएका छन्।
पूर्वमन्त्री समेत रहेका जसपाका विजयबहादुर यादवले पनि राज्यको कोषबाट १ लाख ९० हजार १ सय ५७ रुपैयाँ औषधि उपचार खर्च लिएका छन्।
सरकारी कोषबाट उपचार खर्च भन्दै रकम भुक्तानी लिने अन्य प्रदेश सांसदहरूमा एमालेका विष्णु पन्थी ९२ हजार ६ सय २४, भोजप्रसाद श्रेष्ठ ८६ हजार ८ सय ५, दधिराम न्यौपाने ६६ हजार ७७, रामजीप्रसाद घिमिरे ६० हजार ९ सय ५४, कमलराज श्रेष्ठ ५० हजार २ सय ३२, चिन्तावती कुर्मी ४८ हजार ५ सय ३१, धमकली चौधरी ४४ हजार २५, कुलप्रसाद पोखरेल ३९ हजार ७ सय १०, ६७, थानकुमारी थापा ३१ हजार ४ सय ८३, खड्ग बहादुर खत्री ३० हजार ६ सय ८५ र दिनेश पन्थीले १६ हजार ६ सय ८ रुपैयाँ भुक्तानी लिएका छन्।
त्यस्तै, माओवादीकी कृष्णा केसीले ७४ हजार ६७, तेज बहादुर वलीले ४८ हजार ९ सय ८८, गीता थापाले २५ हजार ५ सय ४९, दीपेन्द्र कुमार पुन मगरले १४ हजार ९ सय ४४, लौटी थारुले १३ हजार ५ सय ५३, पार्वती पुन गहतराजले १२ हजार ५ सय ६५ र दीपेश थारुले १० हजार ३३ रुपैयाँ लिएका छन्।
नेपाली कांग्रेसकी रमा अर्यालले ३७ हजार ४ सय ७९, शंकर गिरीले ३५ हजार ५८, हाल मन्त्री समेत रहेका बसिउद्धिन खानले २५ हजार ६ सय ७९, रिना नेपालले १८ हजार २ सय ७१, पुष्पा थरुनीले १६ हजार ७ सय ७ र वैजनाथ कलवारले १४ हजार ४ सय ५३ रुपैयाँ सरकारी कोषबाट औषधि उपचार खर्च लिएका छन्।
त्यसैगरी, मन्त्री समेत रहेकी जसपाकी पुर्मती ढेंगाले पनि औषधि खर्च वापत ३७ हजार ९ सय ३१ रुपैयाँ भुक्तानी लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभा सचिवालयका प्रवक्ता एवं सूचना अधिकारी सम्झना सुवेदीले सांसदहरूले औषधि उपचार गरेको भन्दै सचिवालयमा बुझाएको बिल भरपाईमाथि छानबिन गरेरमात्र भुक्तानी दिने गरिएको बताइन्। त्यसको लागि लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक समेत समिति रहेको र सोही समितिले बिल भरपाई छानबिन गरी चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा भुक्तानी दिने गरिएको सुवेदीले बताइन्।
लुम्बिनी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूलाई पारिश्रमिक र सुविधा दिन बनेको ऐनमा दर्तावाला चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा जुनसुकै अस्पतालबाट उपचार सेवा लिएवापत बिल बमोजिम सबै सांसदले बढीमा ५/५ लाख रुपैयाँसम्म उपचार खर्च लिन सक्ने उल्लेख छ।
तर कतिपय सांसदहरूले भने आवश्यकताभन्दा बढी औषधिको बिल समेत पेस गर्ने गरेको र त्यस्ता बिलहरूको भुक्तानी दिने नगरिएको सुवेदीले बताइन्।
‘अनावश्यक देखिएका कतिपय बिल भरपाईको भुक्तानी रोकिएको छ, चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा औषधि उपचार गरिएका बिलहरूको मात्रै भुक्तानी दिने गर्छौं,’ सुवेदीले भनिन्।
सचिवालयका अनुसार करोडौंका उद्योग, घर जग्गाका मालिक समेत भएका सांसदहरूले पनि सुगर, प्रेसर जाँच गराएको जस्ता सामान्य बिल पेस गरेर पनि भुक्तानी लिने गरेका छन्।
सबभन्दा बढी औषधि उपचार खर्च लिएका नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले आफूले नियमित रूपमा औषधि सेवन गर्नुपर्ने भएकोले ऐनमा व्यवस्था भएअनुसार उपचार खर्च लगेको बताए।
नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले पनि पाठेघर र नाकको अपरेसन गर्दा लागेको खर्चवापत भुक्तानी लगेको बताइन्।
एमालेका सांसद डा. कृष्ण न्यौपानेले आफ्नो आँखाको अपरेसन गरेको र सोही वापतको भुक्तानी लगेको बताए।