२०७८ भदौमा एमाले पार्टीबाट राजीनामा दिएर दलविहीन बनेका राष्ट्रिय सभाका सांसद वामदेव गौतम अब माओवादी केन्द्रसँग जोडिने भएका छन्।
मंसिर ४ मा हुने निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर गौतमले निर्वाचन लड्ने भएका छन्। त्यसका लागि माओवादी केन्द्रको स्थायी कमिटी सदस्यले स्वीकृति दिएको छ।
‘उहाँका केही शर्तहरू छन्। त्यसबारे हामी छलफल गर्छौं। यसबारे गठबन्धनमा पनि छलफल हुन्छ,’ स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने,‘अब बाबुरामजीसँगै वामदेव गौतमले पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट चुनाव लड्नुहुन्छ।’
गौतमले २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट हारेका थिए।
एमाले-माओवादी गठबन्धनबाट उम्मेदवार बन्दासमेत पराजित भएपछि गौतमले फेरि सांसद बन्न कोशिश गरेका थिए। उनले डोल्पाबाट निर्वाचन लड्न प्रयास गरेका थिए। तर डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढाले राजीनामा दिन नमानेपछि उनी पछि हटेका थिए। उनले काठमाडौं-७ मा समेत आँखा लगाएका थिए। यो क्षेत्रबाट निर्वाचित सांसद रामवीर मानन्धरले गौतमका लागि राजीनामा दिन तयार भएका थिए। गौतमको त्यो प्रयास पनि सफल भएन। उनले यस्ता प्रयास दर्जनौं क्षेत्रमा गरेका थिए। आफ्ना सबै प्रयास असफल भएपछि गौतम राष्ट्रिय सभामा सदस्य बने।
त्यसका लागि उनले तत्कालीन नेकपाको सचिवालयका बहुमत नेताहरूलाई आफ्नो पक्षमा पारेका थिए। गौतमसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ एक ठाउँमा उभिएका थिए। बहुमत सचिवालय सदस्यकै दबाबमा तत्कालीन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत गौतमलाई राष्ट्रिय सभामा पठाउन तयार भएका थिए। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रिय सभा सदस्य नियुक्त गरिन्। २०७७ असोज १ मा उनले राष्ट्रिय सभा सदस्यको सपथ लिए।
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपामा विभाजन आएको थियो। त्यो बेला ओली र प्रचण्ड दुबै पक्षले आफूलाई आधिकारिक नेकपा मानेका थिए। नेकपाका बहुमत केन्द्रीय सदस्य प्रचण्ड र माधव नेपालको पक्षमा थिए तर गौतम भने कतै लागेका थिएनन्। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरिदिएपछि एमाले र माओवादी अलग भए।
नेकपा विघटन भएपछि गौतम एमालेमा खासै सक्रिय भएनन्। उनी ओलीले बोलाएका कतिपय बैठकमा भने गएका थिए। नेकपा एमालेको विधानले ७० वर्षे प्रावधान नहटाउने भएपछि उनले एमाले परित्यागको घोषणा गरेका हुन्। पार्टीको कुनै न कुनै पदमा रहेर सक्रिय हुन चाहने गौतमलाई विधानले नै निष्क्रिय बनाइदिने भएपछि उनी अलग भएका थिए। त्यसपछि भने उनी कुनै पार्टीमा लागेका थिएनन्। गत असारमा उनले नेकपा राष्ट्रिय एकता पार्टी गठन गरे। त्यसका नाममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतलाई भेटेका थिए। उनले सोचेजस्तो परिस्थिति भएन। गौतमकै पहलमा नेकपाकालीन बहुमत सचिवालय सदस्यहरूको बैठक भयो। बैठकमा गौतमसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी थिए।
त्यसपछि केही समय समाजवादी केन्द्र बनाउने प्रयास समेत भयो। त्यो सम्भव नभएपछि गौतमले चुनावका लागि नेकपा माओवादी केन्द्र रोजेका हुन्। उनले पार्टीमै रहने निर्णय गर्लान्/नगर्लान् त्यो भोलिको कुरा हो तर उनी चुनावमा भने माओवादीकै हैसियतबाट लड्दैछन्।
सेतोपाटीसँग कुराकानी गर्दै गौतमले प्युठान र हँसिया हतौडा चिन्ह पाए निर्वाचन लड्ने बताए।
‘यो माओवादीसँग एकता गर्नका लागि होइन। म नेकपा राष्ट्रिय एकता पार्टीमै हुन्छु। प्युठानबाहेक अन्तबाट निर्वाचन लड्दिनँ,’ उनले भने,‘प्रचण्डसँगको मेरो वर्षौंदेखिको दोस्ती अनि राष्ट्रिय राजनीतिमा मेरो भूमिकाको कारणले म हँसिया हतौडामा चुनाव लड्न लागेको हो।’
गौतमले २०४८ र २०५१ सालमा एमालेको तर्फबाट बर्दियाबाट प्रतिनिधि सभाको निर्वाचन जितेका थिए। उनी २०५४ मा उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए। २०५५ सालमा एमाले विभाजन गरेर नेकपा मालेको महासचिव बनेका गौतमले २०५६ को निर्वाचन हारेका थिए। २०५९ सालमा एमालेमै फर्किएका गौतमले २०६४ मा पनि बर्दियाबाटै निर्वाचन हारेका थिए। पराजित भए पनि उनी २०६५ मा फेरि उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए।
२०७० को निर्वाचनमा भने बर्दिया र प्युठान दुबै ठाउँबाट उनी विजयी भएका थिए। त्यसपछि उनी तेस्रो पटक उपप्रधानमन्त्री र गृहमन्त्री बने। २०७४ को निर्वाचनमा बर्दियाबाटै पराजित भएका गौतमले अहिले गठबन्धनको सहारा र माओवादी केन्द्रको चुनाव चिन्ह रोजेका छन्। आफ्नो राजनीतिक जीवनमा गौतमले ६ वटा आमनिर्वाचनमा भाग लिए। जसमध्ये ३ मा उनी पराजित भए। ७३ वर्षीय गौतमका लागि अबको उम्मेदवारी सातौं प्रयास हुनेछ।
मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराई र वामदेव गौतमलाई चुनाव लड्न आफ्नो चिन्ह दिने निर्णय गरेपछि सेतोपाटीले गौतमसँग कुराकानी गरेको छ।
तपाईं माओवादी केन्द्रको चिन्हबाट मंसिर ४ को चुनाव लड्न लाग्नुभएको हो ?
हँसिया हतौडाको कुनै अपमान नगरिकन सम्मानजनक रूपमा चुनावमा जाने भन्ने कुरा भएको छ। हाम्रो चुनाव चिन्ह जनतालाई चिनाउनका निम्ति समय लाग्ने देखिएकाले माओवादीको चुनाव चिन्हमा लड्ने भएका हौं।
कुन क्षेत्रबाट चुनाव लड्नुहुन्छ?
हँसिया हतौडाबाट लड्दा मैले प्युठान नै मागेको छु। प्युठानभन्दा बाहिर गएर म कहीँ पनि लड्दिनँ। प्युठान नदिने हो भने हँसिया हतौडा लिनुको अर्थ पनि हुँदैन। प्युठानमा मेरो संगठन जिल्ला कमिटीसम्म छ। सांगठनिक रूपमा शक्ति भएमध्ये त्यहाँ सबैभन्दा ठूलो एमाले छ। त्यसपछि माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस र हामी हो। त्यहाँ एमाले एक्लैले जित्न सक्दैन। गठबन्धनमा कुरा मिल्यो भने जित गठबन्धनकै हो। प्युठानमा मात्रै होइन गठबन्धनले जताततै छक्का हान्छ।
सत्ता गठबन्धनमा तपाईंको सहभागिताबारे संवाद भएको छ कि छैन?
सत्ता गठबन्धनमा मलाई सहभागी गराउन मैले प्रचण्डलाई पहिलेदेखि नै जिम्मा दिएको हो। तर अहिलेसम्म गठबन्धनको बैठकमा बोलाउनुभएको छैन। म गठबन्धनमा जान चाहेको छु।
हँसिया हतौडामा चुनाव लड्नुको अर्थ पछि माओवादीकै नेता बन्ने तयारी हो?
संसदीय चुनावमा माओवादी केन्द्रको चिन्ह प्रयोग गर्नेमात्रै हो। चुनाव चिन्ह प्रयोगको अर्थ माओवादीमा जाने भन्ने होइन। म नेकपा राष्ट्रिय एकता पार्टीको नेता हुने हो। हाम्रो चुनाव चिह्न लोकप्रिय नभएको र सम्झाउन निकै समय लाग्ने भएकाले मैले गोलाकार भित्रको हँसिया हतौडा रोजेको हुँ। हँसिया हतौडाबाट चुनाव लड्दा सिंगो गठबन्धन नै मलाई जिताउन लाग्छ भन्ने मनसाय भएर म लागेको हुँ। प्रचण्डसँग मेरो दशकौंको दोस्ती छ। मैले उहाँलाई दोस्तीको उपकार गर्नुस् भनेको हो।
सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको पनि प्युठानमा दाबी छ। तपाईंलाई छोड्न जनमोर्चा तयार होला त?
यो सबैको व्यवस्थापन मैले गर्न सक्छु। तपाईंले व्यवस्थापन गर्नुस् भनेर साथ दिनेबित्तिकै म मिलाउँछु।
गठबन्धनमा सहभागी भए तपाईंले कति सिट माग्नुहुन्छ?
हामीले प्रतिनिधि सभामा एउटा र प्रदेश सभामा २ सिट मागेका छौं। सिंगो गठबन्धनले सहयोग गरेपछि हामी यहाँ जित्छौं। हाम्रो क्षमताअनुसार गठबन्धनलाई जिताउन हामी पनि सहयोग गर्छौं।