चितवन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभामा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उम्मेदवारी दिने चर्चा पहिल्यैबाट थियो। तर मंगलबार नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ को कार्यालयमा पुगेर उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न आवेदन दिए। उनीसँगै अर्थशास्त्रीहरू स्वर्णीम वाग्ले, विश्व पौडेलसहितका ६ जनाले उक्त क्षेत्रबाट उम्मेदवार बन्न आवेदन दिएका थिए।
भोलिपल्ट बुधबार क्षेत्र नम्बर २ का लागि पनि आवेदन दिन पुगे श्रेष्ठ। जिल्ला पार्टी कार्यालयमा पुगेर उनले क्षेत्र नम्बर २ को उम्मेदवार बन्न आवेदन दर्ता गरे।
चितवन- २ मा श्रेष्ठको घर पनि छ। उनले चितवनका विभिन्न क्षेत्रमा होटलमा लगानी पनि गरेका छन्। ती दुबै क्षेत्रमा पर्छन्। राज्यमन्त्री बनेपछि श्रेष्ठले चितवनमा सक्रियता थप बढाएका थिए। उनको सक्रियता क्षेत्र नम्बर २ का गतिविधिमै देखिन्थ्यो।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने राज्यमन्त्री श्रेष्ठले किन क्षेत्र नम्बर १ मा पनि उम्मेदवार बन्न आवेदन दिए होलान्?
कांग्रेस चितवनका नेताहरू श्रेष्ठ क्षेत्र नम्बर २ मा पार्टी भित्रको शेखर कोइराला समूहसँग सशंकित भएको बताउँछन्।
चितवन कांग्रेसमा देउवाको भन्दा कोइरालाको प्रभाव बढी देखिन्छ। जिल्ला सदरमुकाम भरतपुरको कोर क्षेत्र समेट्ने क्षेत्र नम्बर २ मा कोइराला समूहको प्रभाव अझै बढी छ। यहाँबाट उम्मेदवार बन्न महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी, जिल्ला सभापति राजेश्वर खनाल, पूर्व सभापति जीतनारायण श्रेष्ठ, नेताहरु प्रकाश अघिकारी, कैलाश कोइरालालगायतले पनि आवेदन दिएका छन्। उनीहरूमध्ये रेग्मी र अधिकारी पनि देउवा समूहकै हुन्। कोइराला पनि पछिल्लो समयमा देउवा समूहसँग निकट देखिन्छन्।
‘२ नम्बर क्षेत्रमा कोइराला समूहबाट उम्मेदवार बनाउन दबाब बढी पर्छ। श्रेष्ठले टिकट पाइहालेको अवस्थामा पार्टीभित्रैबाट सहयोग नहुन सक्छ,’ एक जिल्ला नेताले सेतोपाटीसँग भने, ‘त्यही भएर राज्यमन्त्रीजीले यता नभए उता जाने मनाशय राख्नुभएको हुनसक्छ।’
श्रेष्ठ चितवनका कार्यकर्तामाझ राम्रोसँग नभिजिसकेका कारण टिकट पाइहाले पनि जित्न गाह्रो पर्ने देखिएको उनले बताए।
यो क्षेत्रमा नेकपा एमालेका कृष्णभक्त पोखरेल दुई पटक निर्वाचित भइसकेका छन्। उनी अबको निर्वाचनका पनि प्रमुख दाबेदार हुन्। यस क्षेत्र एमालेबाट देवी ज्ञवालीको पनि दाबी छ। माटो र खेतीपाती जोगाउने अभियानका अभियन्ता डा.कृष्णप्रसाद पौडेलले पनि यो क्षेत्रबाट उम्मेदवारी दाबी गर्दै एमालेभित्र लबिङ गरिरहेका छन्।
उता क्षेत्र नम्बर १ मा राज्यमन्त्री उमेश श्रेष्ठसहितका ६ जनाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दिएका छन्। उनीहरूमध्ये राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियामात्रै स्थानीय कार्यकर्ताको माझमा भेटिने गरेका नेता हुन्। बुर्लाकोटी यसअघिका दुई निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएर पराजित भएका थिए। दुबै निर्वाचनमा उनी नेकपा एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका हुन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, पूर्वउपाध्यक्ष स्वर्णीम वाग्ले र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तिर्थराज खनियाले पनि यो क्षेत्रमा उम्मेदवार बन्न आवेदन दिएका छन्।
यस क्षेत्रमा नेकपा एमालेबाट यसपालि पनि पाण्डे नै उम्मेदवार बन्ने सम्भावना बलियो छ। यहींबाट जितेर अर्थमन्त्री बनेका सुरेन्द्र पाण्डेसँग भिड्न कांग्रेसले राष्ट्रिय रूपमा चर्चित व्यक्तित्वको खोजी गरेको स्थानीय एक नेताले बताए।
चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न नेपाली कांग्रेसबाट ७ जनाले आवेदन दिएका छन्। केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्वसांसद रामकृष्ण घिमिरे, नेताहरू विजयराज शर्मा भुषाल, भरतप्रसाद सापकोटा, रामप्रसाद अधिकारी र तारानाथ पौडेलले आवेदन दिएका छन्। गत निर्वाचनमा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निर्वाचित भएका थिए। उक्त निर्वाचनमा माओवादी केन्द्र र एमालेले तालमेल गरेरका थिए। कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सघाएको थियो।
यसपटक प्रचण्ड उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्न चाहन्छन्।