प्रतिनिधि सभाको सिट बाँडफाँटको विषयमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ‘एग्रेसिभ’ देखिएको गठबन्धन दलका नेताहरूले बताउन थालेका छन्।
गठबन्धनका शीर्ष नेता बीचको छलफलमा मात्र होइन सार्वजनिक अभिव्यक्तिमा पनि उनी ‘एग्रेसिभ’ देखिएका छन्।
कांग्रेसले अहंकार देखाउँदा सिट संख्यामा कुरा मिल्न नसकेको नेपालले सार्वजनिक आरोप लगाएका छन्। सबैले आ-आफ्नो अडान कायमै राख्दा सहमतिमा पुग्न नसकिएको उनको भनाइ छ। गत शनिबार विराटनगर पुगेका उनले भनेका थिए,‘बालुवाटारमा बालुवा पेलेका पेल्यै छौं, तर तेल निस्किन सकेको छैन।’
शीर्ष नेताको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले २०७४ सालको प्रतिनिधि सभाको परिणामअनुसार सिट बाँडफाँट हुनुपर्ने अडान राख्दै आएका छन्। कांग्रेसले ७० सिटभन्दा बढी राख्न नहुने उनले अडान राख्दै आएका छन्।
‘गठबन्धनभित्र न्यायोचित रूपमा सिट बाँडफाँट हुनुपर्छ। २०७४ को निर्वाचनमा प्रत्यक्षमा २३ सिट ल्याएको कांग्रेसले ७० सिटभन्दा माथि दाबी गर्न मिल्दैन,’ उनको भनाइ छ।
१ सय ६५ निर्वाचन क्षेत्रमध्ये १०० क्षेत्रमा दाबी गर्दै आएको कांग्रेस ९० भन्दा तल नझर्ने पक्षमा छ। यता, माओवादी केन्द्रले पनि ४५ सिटमा सशक्त दाबी गरिरहेको छ। कम्तीमा पनि २६ सिटमा दाबी पेश गरिरहेको एकीकृत समाजवादी गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीको अडानका कारण अप्ठेरोमा परेको छ। एकीकृत समाजवादीमा प्रत्यक्ष निर्वाचित सांसदको संख्या १३ छ। यो संख्यालाई कायमै गराउने सहमति सत्ता गठबन्धनमा पहिले नै भएको समाजवादीका नेताको दाबी छ।
‘२०७४ को संसदीय चुनावको जनमतका आधारमा सिट बाँडफाँट गर्ने र एमालेले जितेका स्थानमा भागबन्डा गर्ने भन्ने हाम्रो अध्यक्षको प्रस्ताव हो। यसरी अघि बढ्दा हामीले पनि कम्तीमा २६ सिटमा दाबी राख्दै आएका छौं,’ समाजवादीका उपमहाचसिव जगन्नाथ खतिवडाले भने।
कांग्रेस र माओवादीका नेताहरू एकीकृत समाजवादीलाई १५ सिट हाराहारीभन्दा धेरै दिन नसकिने भन्दै आएका छन्।
अध्यक्ष नेपाललाई पार्टीभित्र आफूनिकट नेता र टिकटका लागि आकांक्षी नेताको व्यवस्थापन गर्नुपर्ने चुनौती छ।
बागमती प्रदेशमा मुख्यमन्त्री रहेका उपाध्यक्ष राजेन्द्र पाण्डे पनि प्रतिनिधि सभामा आउन चाहेका छन्। कर्णाली प्रदेशमा माओवादीका महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन फ्लोर क्रस गर्दा उपमहाचिव प्रकाश ज्वालाको सांसद पद गुमेको थियो। यसपालि प्रतिनिधि सभा निर्वाचनमा उनको समेत आकांक्षा छ। यस्तै, समानुपातिक सांसद रहेकी सचिव रामकुमारी झाक्री पनि प्रत्यक्ष लड्ने तयारीमा छिन्। यता, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रतिनिधि सभामा आकांक्षा राखेका छन्। उनी अध्यक्ष नेपालका निकैनिकट छन्। यस्तै, बझाङका भानुभक्त जोशीलगायत नेतालाई नेपालले व्यवस्थापन गर्नुपर्ने छ। अहिले नै प्रत्यक्षतर्फ निर्वाचित १३ जना सांसद छन्।
एमालेबाट विद्रोह गरेर आएका प्रत्यक्ष निर्वाचित सांसदलाई विगतकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने सहमतिका कारण अन्यको व्यवस्थापन नेपालका निम्ति चुनौतीपूर्ण छ। ‘हामी विद्रोह गरेर आएका प्रत्यक्ष निर्वाचित सांसदलाई पहिलेकै निर्वाचन क्षेत्रबाट गठबन्धनले निर्वाचित गराउने सहमति अनुसार प्रत्यक्ष निर्वाचित भएकाहरूले निर्वाचन क्षेत्र छोड्ने कुरै आउँदैन,’ सांसद प्रेम आलेले भने।
यही चुनौतीका कारण पनि अध्यक्ष नेपाल गठबन्धनभित्र सिट बाँडफाँटका सवालमा तनावमा छन्। एकीकृत समाजवादीले पाउने सिट नघटोस् भनेर उनी ‘एग्रसिभ’ देखिएका छन्।
एकीकृत समाजवादी गठनको विशेष परिस्थितिबारे गठबन्धनका दलले हेक्का राख्नुपर्ने उनको भनाइ छ।
‘हाम्रो पार्टी गठनको विशेष परिस्थिति र एकीकृत समाजवादीको योगदानलाई ख्याल गरेर न्यायोचित ढंगले सिट बाँडफाँट हुनुपर्दछ,’ उनले सेतोपाटीसँग भने।
नेता नेपालको अडानकै कारण सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सकस परिरहेको कांग्रेसका एक नेताले बताए।
‘गठबन्धनभित्र सबैभन्दा 'टफ' नै माधव नेपाल देखिनुभएको छ। उहाँले समझदारी बनाउनुभयो भने बाँकी कुरा मिल्छ,’ ती नेताले भने।
प्रतिनिधि सभाको सिट संख्या टुंगो लगाउने उद्देश्यले बालुवाटारमा शीर्ष नेतासहित कार्यदलको बैठक आइतबार दिउँसो बस्दैछ।
सिट बाँडफाँट मिलाउन बिहान प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।