नेकपा (एमाले) अछाम जिल्ला कमिटीबाट प्रतिनिधि सभा निर्वाचनका लागि भीम रावल सर्वसम्मत सिफारिस भएका छन्। एमाले अछामले क्षेत्र नम्बर १ बाट रावललाई सिफारिस गरेको हो।
जिल्लाबाट सर्वसम्मत रूपमा सिफारिस भएका रावल मंसिर ४ मा हुने चुनावमा उम्मेदवार हुने/नहुनेबारे प्रश्न उब्जिएको छ। त्यो प्रश्न उनी स्वंयले लेखेको वक्तव्यले उब्जाएको हो।
जिल्लाबाट आफ्नो नाम सिफारिस भएपछि रावलले धन्यवाद वक्तव्य जारी गरेका थिए। वक्तव्यको अन्तिममा रावलले लेखेका छन्, ‘कुनै पदमा जाने वा नजाने विषय पार्टी र राष्ट्रिय राजनीतिको समग्रतामा हेरिनुपर्छ। कुनै पदमा रहने वा नरहनेभन्दा देश र जनताको सर्वोपरी हितमा काम गर्नु महत्वपूर्ण हुन्छ भन्ने मेरो धारणा छ।’
उनले यी हरफ किन लेखे? तिनमा उनले के भन्ने खोजेका हुन्?
सेतोपाटीले उक्त वक्तव्यको अन्तर्य के हो? तपाईं निर्वाचनमा उठ्ने हो कि होइन? भनेर रावललाई सोधेको थियो।
जवाफमा उनले भने, ‘यो निर्वाचनमा उम्मेदवार भइन्छ कि भइँदैन भन्नेमा मेरो चिन्ता छैन। कुन अवस्थामा उम्मेदवार हुने र कुन अवस्थामा नहुने भन्ने कुरा हो?’
रावल कुन अवस्थामा चुनाव उठ्न चाहन्छन्?
जिल्ला कमिटीबाट एकल सिफारिस भएका उनी भन्छन्,‘जिल्ला किमिटीले सिफारिस गरे पनि यसका विभिन्न आयाम हुन्छन्। त्यसमा के होला मैले हेर्नुपर्ने हुन्छ। यो विषय निर्णयकर्ताको सोच र विचारमा भर पर्ने कुरा पनि हो। उहाँहरूको सोच र विचार मप्रति के छ भन्ने विषय मलाई जानकारी छैन।’
रावलले अर्को विषय पनि राखे।
मुलुकमा मात्रै नभएर पार्टीभित्र पनि विधिको शासन हुनुपर्ने रावलले बताए। आफ्नो निष्ठा र सिद्धान्तविपरीत पार्टी चल्न नहुने उनको मत छ। राजनीतिक दलले आफ्नो सिद्धान्तविपरीत चुनाव जित्नकै निम्ति कसैसँग तालमेल वा सहकार्य गर्न नहुने रावलको अडान छ।
कांग्रेस र कम्युनिष्टबीचको गठबन्धनका कठोर आलोचक उनी एमालेले पनि राजनीतिक आदर्श विपरीतका शक्तिसँग तालमेल गर्न नहुने मत राख्दै आएका छन्।
‘अहिलेको सत्ता गठबन्धन सिद्धान्तमा आधारति नभएर स्वार्थमा आधारित छ। त्यहाँ संघीयता विरोधी शक्ति छन्। संघीयतालाई चलाउनै नहुने पक्षधर पनि छन्,’ रावलले भने, ‘यसको विरोध गरिरहेको एमालेले त्यस्तै गल्ती गर्नु हुँदैन।’
स्थानीय तहमा राप्रापासँग तालमेले गरेको एमालेले प्रतिनिधि सभाको निर्वाचनमा पनि उसैसँग तालमेल गरेर अघि बढ्ने गृहकार्य गरिरहेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक साताभित्र तालमेलको खाका टुंगिने बताएका छन्। एमालेको कुनै पनि कमिटीमा नरहेका रावल यस विषयमा एमालेको औपचारिक निर्णय नआउँदासम्म पूर्वानुमान गर्न नहुने तर्क गर्छन्। तर एमाले र राप्रपाबीच तालमेल हुन नहुने पक्षमा उनी दृढ छन्।
‘सत्ता गठबन्धनले सिद्धान्त नमिल्ने शक्तिसँग तालमेल गर्दा गलत हुने र हामीले गर्दा सही हुने भन्दैन। गलत काम एमालेले गरे पनि गलत नै हुन्छ। सिद्धान्त नमिल्ने शक्तिसँग सहकार्य हुनु हुँदैन,’ उनले भने।
राप्रपा र नेपाल परिवार दल वा अन्य सिद्धान्त नमिल्ने शक्तिसँग सहकार्य गर्ने हो भने एमाले पनि राजनीतिलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने बाटोमा सरिक हुने रावलको भनाइ छ।
तपाईंले भनेका सिद्धान्त नमिल्ने शक्तिसँग एमालेको सहकार्य भयो भने तपाईं चुनाव नलड्ने हो भन्ने सेतोपाटीको प्रश्नबारे रावलले भने, ‘अहिलेसम्म मैले एमालेले कुनै शक्तिसँग तालमेल नगर्ने भन्ने सुनेको छु। यो संवेदनशील स्थितिमा पूर्वानुमानको आधारमा कुरा गर्नु उचित हुँदैन निर्णय कस्तो हुन्छ, हेर्दै जाऔँ न।’
आफ्नो अडान र दृष्टिकोणबारे पार्टीभित्र सम्यक विचार निर्माण भएमात्रै उम्मेदवारी दिनुको अर्थ हुने उनको भनाइ छ।
‘राष्ट्रको सर्वोपरी हित र राष्ट्रिय स्वाधीनताप्रति मेरा दृष्टिकोण छन्। मेरो उम्मेदवारीले पार्टीको मान्यता र राजनीतिलाई बल पुर्याउँछ भन्ने सम्यक विचार निर्माण भएमात्रै उम्मेदवारी दिनुको अर्थ हुन्छ नत्र उम्मेदवार मात्रै भएर के गर्ने,’ रावलले भने।
२०५१ को मध्यावधि चुनावमा रावल अछाम १ बाट सांसद चुनिएका थिए। २०६४ को संविधान सभामा उनी समानुपातिक सांसद बने। रावल २०७० र २०७४ को निर्वाचनमा अछामबाटै निर्वाचित भएका थिए। अछामबाट तीन पटक निर्वाचित भएका उनलाई यस पटक जिल्ला कमिटीले एकल सिफारिस गरेको हो।
जिल्ला कमिटीबाट एकल सिफारिस भए पनि केन्द्रबाट स्वीकृत नभएसम्म उनी उम्मेदवार हुन पाउने छैनन्। रावल एमालेभित्र १० बुँदे पक्षधर हुन्।
२०७८ असारमा एमालेभित्र विवाद चुलिएपछि अध्यक्ष केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच कार्यदल बनाएर १० बुँदे सहमति गरिएको थियो। रावल त्यही १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एक राख्नुपर्ने पक्षमा थिए।
खरो स्वभावका रावलले अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति कडा आलोचना गर्दै आएका थिए। १० औँ महाधिवेशनमा ओली सर्वसम्मत रूपमा अध्यक्ष चयन हुन खोजेका थिए। रावलले ओलीलाई चुनौती दिएका थिए। एमालेभित्र रावलले राष्ट्रवादी नेताको छवि बनाएका छन्। अमेरिकी सहयोग परियोजना एमसिसीका सवालमा संसदमा एमाले मौन बस्दा रावलले रोष्ट्रम प्रयोग गर्दै विरोध जनाएका थिए। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने भन्दै अमेरिकालाई पत्राचार गर्नका निम्ति संसदमा रूलिङ माग गर्दै रावलले रोष्ट्रम कब्जा गरेका थिए।
पार्टीबाट टिकट पाएको र आफू निर्वाचन लड्ने परिस्थिति बनेको अवस्थामा आफूले जित्ने रावलको दाबी छ। सत्ता गठबन्धनको असर धेरै नपर्ने उनको भनाइ छ।
‘एमालेको संगठनात्मक स्थिति र जनतासँगको मेरो सम्बन्धका कारण सत्ता गठबन्धनको उपस्थितिका बाबजुद् पनि मलाई कुनै समस्या छैन,’ रावलले भने, ‘गठबन्धनका कार्यकर्ता पनि तनमनले एक हुने स्थिति छैन। जनताको सद्भाव र समर्थनका कारण अछाम १ मा एमालेलाई त्यति गाह्रो हुँदैन।’
रावलले आत्मविश्वास प्रस्तुत गरे पनि अंकगणितले भने उनको क्षेत्रमा एमालेभन्दा गठबन्धन निकै बलियो देखिन्छ। स्थानीय चुनावमा अछाम क्षेत्र नम्बर १ मा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा एमालेले १५ हजार ६ सय ६१ मत पाएको छ। नेपाली कांग्रेसले १५ हजार७ सय ७२ मत ल्याएको छ भने माओवादी केन्द्रले ७ हजार ६ सय ८१ र एकीकृत समाजवादीले २९ सय ७८ मत प्राप्त गरेको छ। अछाम १ सत्ता गठबन्धनको मात्रै २७ हजार १ सय ९४ मत रहेको छ।
एमालेमा ७० वर्षको उमेर हद रहेकाले ६७ वर्षीय रावल अब पार्टीको कार्यकारी पदमा फर्किने सम्भावना छैन। ४९ वर्षको राजनीतिक यात्रामा उनी चार पटक सांसद भइसकेका छन्।