संसदीय निर्वाचनको मिति घोषणापछि नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवनका विभिन्न आयोजना शिलान्यासको चटारोमा छन्। उनले शनिबार मात्रै चितवन आएर दुइटा आयोजना शिलान्यास गरे।
उनले सुरूमा पोखरा–भरतपुर विद्युतीय वितरण प्रणाली सुदृढीकरण आयोजना शिलान्यास गरेका थिए। भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने यो आयोजना विद्युत प्राधिकरणले सुरू गरेको हो।
उनको उपस्थितिमा मेघौली विमानस्थल स्तरोन्नतिको काम पनि शनिबार नै सुरू भएको छ। प्रचण्डले अघिल्लो चुनावमै पाँच वर्षमा यो विमानस्थल स्तरोन्नति गर्ने बाचा गरेका थिए।
नारायणी नदीमा सिग्नेचर पुल निर्माणको काम पनि छिट्टै सुरू हुने र केही दिनमै त्यसको शिलान्यास गर्ने उनले बताएका छन्।
उनले केही दिनअघि मात्र माडी पुगेर केही पुल उद्घाटन गरेका थिए। भरतपुर–माडी–ठोरी हुलाकी सडक स्तरोन्नति र केही खोला तटबन्धनको पनि उनले शिलान्यास गरे।
त्यतिखेर उनले माडीमा अन्य आयोजनाहरू निर्माण चरणमा रहेको र भूमिहीनलाई जमिन दिलाउने आश्वासन दिएका थिए।
यसरी चुनाव बेला विकासे काम शिलान्यास गर्दै हिँडेका प्रचण्डले पाँच वर्षअघि गरेका प्रतिबद्धता कति पूरा गरे भन्ने प्रश्न उठ्न थालेको छ।
पाँच वर्षअघि चुनाव लड्न चितवन आउँदा उनले मतदातासामु तीसबुँदे प्रतिबद्धता प्रस्तुत गरेका थिए। चितवनको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवार बनेका उनले समग्र जिल्लाकै लागि योजना र कार्यक्रम प्रस्तुत गरेका थिए।
तीमध्ये सबभन्दा ठूला र महत्वाकांक्षी योजना थिए- पाँच वर्षमा समृद्ध चितवनका लागि सातवटा स्थानीय तह जोडेर ‘चितवन मेट्रो सिटी’ बनाउने, भूमिहीन सुकुम्बासीलाई बसोबास गरेकै क्षेत्रमा वा पायक पर्ने स्थानमा बहुतले आधुनिक आवासगृह निर्माण गरी वितरण गर्ने, माडी र बाँकी चितवन जोड्ने गरी निकुञ्जमा सुरूङमार्ग वा फ्लाई ओभर सडक निर्माण गर्ने, माडीको रिउ करिडोरलाई पूर्णता दिने, मेट्रो तथा मोनो रेलको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाउने, नवलपुर खण्डसँग जोडेर समग्र पश्चिम चितवनको विकास गर्न नारायणी नदीमा तीनवटा थप पुल निर्माण गर्ने।
यति मात्र होइन, नारायणी र राप्ती नदीमा तटबन्धन गरी फराकिलो रिंगरोड बनाउने, शारदानगरमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद रंगशाला र अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क बनाउने, क्यान्सर अस्पतालको स्तरोन्नति, भरतपुर अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना पनि उनले अघि सारेका थिए।
तर यीमध्ये अधिकांश योजना शिलान्यास नै नगरी प्रचण्डको पाँचवर्षे कार्यकाल सकिँदैछ। सुरूआत भएका केही योजना पनि सुस्त गतिमा अघि बढिरहेका छन्।
त्यति बेला नौ हजारभन्दा बढी मतान्तरले चुनाव जितेका प्रचण्डले भनेजस्तै चुनावपछि माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भयो। झन्डै दुईतिहाइको सरकार बन्यो। उनी शक्तिशाली पार्टी नेकपाका एक अध्यक्ष बने र अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाए।
यति हुँदा पनि उनले आफ्नो निर्वाचन क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्न सकेनन्।
आफूले नै जिताएर पठाएका नेता अध्यक्ष रहेको पार्टीले बहुमतको सरकार चलाउँदा पनि चितवनले विकास, निर्माणमा कुनै प्रतिफल पाएन। तै पनि उनी जब जब चितवन आउँछन्, भरतपुरको विकासले विश्वको ध्यान तानेको भन्न पछि पर्दैनन्।
प्रचण्डले चुनाव जित्दा उनको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकाले पनि धेरै आशा राखेको थियो। निर्वाचनअघि भएको सभामा प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र 'माडीलाई मणि' बनाउने उद्घोष गरेका थिए।
उनीहरूले निकुञ्जका कारण माडीवासीले भोगेका समस्या अन्त्य गर्ने, चेपाङ र सुकुम्बासीका समस्या हल गर्ने, निकुञ्जभित्र र बाहिरको सडक तथा पुल निर्माणको काम सक्ने, माडीलाई विकासको गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए।
प्रचण्डको प्रतिबद्धतापत्रमा द्वन्द्व बेला माओवादी पार्टीबाट भएको बाँदरमुढे दुर्घटनामा दिवंगतहरूको स्मरणमा एक पार्क निर्माण गर्ने उल्लेख थियो। यो काम पनि पाँच वर्षमा सुरू हुन सकेन। अहिले बाँदरमुढे घटनाका पीडितहरू प्रचण्डले आफ्ना माग बेवास्ता गर्दै आएको आरोप लगाउँछन्।
माडीका सुकुम्बासी तथा विपन्न चेपाङहरूका लागि आवासको व्यवस्था गर्ने प्रतिबद्धता गरिए पनि यहाँका अधिकांश चेपाङ समुदाय अझै घरविहीन छन्। राष्ट्रिय भूमि आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप्ने र सेतो पुर्जा दिने काम भने चितवनमा सुरू भएको छ। आयोगले केही ठाउँमा लालपुर्जा नै बाँडेको छ।
भरतपुरमा बन्दै गरेको छ लेनको सडक, सिटी हल, नारायणी नदी तटबन्धन योजना प्रचण्डको प्रयासमा आएको दाबी उनीनिकट नेताहरू गर्छन्। नेकपा एमालेका नेताहरू पनि यी योजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा ल्याएको दाबी गर्छन्।
प्रचण्ड आफैंले शिलान्यास गरेको प्रचण्ड मार्ग, रिङरोड, लिंकरोड निर्माणको काम पटक–पटक म्याद थप्दा पनि सकिएको छैन। उनले शिलान्यास गरेको देवघाटको विद्युतीय शवदाह गृह पनि पटक–पटक म्याद थप्दा पनि निर्माणमा ढिलाइ भइरहेको छ। बाइपास सडक, हुलाकी सडक निर्माणमा पनि ढिलासुस्ती भइरहेको छ। सँगै शिलान्यास गरिएको भरतपुर अस्पतालको बिरामी कुरूवा घर भने समयमै निर्माण भएको थियो।
महानगरभित्रका धेरै काम दुई वर्षमा सकिनुपर्नेमा सात वर्षमा पनि नसकिएको भरतपुरकी मेयर रेनु दाहालले नै बताएकी छन्।
‘विभिन्न बहाना बनाएर निर्माण व्यवसायीहरूले काममा ढिलाइ गर्दै आएका छन्। हामीले अन्तिमपटकका लागि म्याद थप गर्ने भनेका छौं,’ उनले भनिन्, ‘विकासका काम समयमै सम्पन्न होस् भनेर हामीले दबाब दिइरहेका छौं।’
चितवन क्षेत्र नम्बर ३ को उम्मेदवार बन्दा प्रचण्डले आफ्नो प्रतिबद्धतापत्रमा उद्योग, कृषि, सेवा, यातायात लगायत क्षेत्रबाट पाँच वर्षमा ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने उल्लेख गरेका थिए। उनले कालिका नगरपालिकामा औद्योगिक क्षेत्रको समग्र विकासका लागि एकीकृत योजना बनाउने, शक्तिखोर औद्योगिक क्षेत्रसम्म पुग्ने फराकिलो सडक निर्माण गर्ने, खानेपानी, विद्युत्, सञ्चार पुर्याउने दाबी गरेका थिए। तर यी योजना भाषणमै सीमित भए। शक्तिखोर औद्योगिक क्षेत्रको काम सुरू हुनै सकेको छैन।
उनले ठोरी नाका व्यवस्थित बनाई भारतसँगको व्यापार तथा सुख्खा पारवहनलाई नियमन गर्ने, २५ प्रतिशत विद्यालयलाई नमूना बनाइने, गरिब तथा न्यून आय भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि तत्काल मन्टेस्वरी कक्षासहितको सामुदायिक विद्यालय स्थापना गर्ने, राष्ट्रिय निकुञ्जका जंगली जनावरहरूका कारण सास्ती झेल्नुपरिरहेको अवस्था अन्त्य गर्न निकुञ्जसँग जोडिएका बस्ती क्षेत्रमा पिसिसी वालसहितको मेस जाली जडान गर्ने, चितवनमा रहेका सप्तगण्डकी क्याम्पस, बालकुमारी कलेज, माडी कलेज र सहिद स्मृति कलेजजस्ता सामुदायिक कलेजसँगको सहकार्यमा चितवनमा एउटा पब्लिक विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता गरेका थिए। पाँच वर्षभित्र यी काम पनि अघि बढ्न सकेनन्।
उनले तीव्र सहरीकरणका कारण चितवनमा खेतीयोग्य जमिन सीमित हुँदै गएकाले खेतीयोग्य, औद्योगिक क्षेत्र र आवास क्षेत्रका रूपमा भूमि वर्गीकरणको नीति लिइने बताए पनि यसका लागि कुनै प्रयास हुन सकेन।
अहिले चुनावको मुखमा विभिन्न योजना शिलान्यास गर्दै हिँड्दा प्रचण्डले आफूले पाँच वर्षअघि गरेका बाचा पूरा गर्न नसकेको स्वीकारोक्ति पनि गरिरहेका छन्।
‘मैले सोचेजति गर्न पाएजस्तो मलाई पनि लागेको छैन,’ उनले शनिबार विद्युत प्राधिकरणको एक उद्घाटन कार्यक्रममा भने, ‘निकुञ्जभित्र आकासेपुल वा भूमिगत बाटोको कुरा गरेको थिएँ, त्यो भएकै छैन। रिङरोडको कुरा गरेको थिएँ, त्यो पनि भएको छैन। रिउ खोलामा तटबन्धन र बाटो तथा सम्पूर्ण टाडा खोलामा तटबन्धनको कुरा गरेको थिएँ, त्यो पनि भएको छैन।’
उनले कोरोना महामारीका कारण सोचेजस्तो काम गर्न नसकिएको दाबी गरेका थिए। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा आफूलाई असफल बनाउन प्रयत्न गरेका कारण माडीको विकासले गति नलिएको आरोपसमेत लगाए।
यसबाहेक प्रतिनिधिसभा सदस्यको संयोजनमा खर्च गरिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्रचण्डको क्षेत्रमा विकासका केही कामहरू भएका छन्। यो कार्यक्रमअन्तर्गतको बजेट उनको निर्वाचन क्षेत्रका विद्यालय, सडक, सिँचाइ लगायतका योजनामा खर्च भएको छ।
माओवादी केन्द्र चितवनका नेताहरू केन्द्रीय राजनीतिका प्रभावशाली नेताले चितवनबाट निर्वाचन जित्दा विकास निर्माणका काममा बजेट ल्याउन सहज भएको बताउँछन्। स्थानीय तह, सांसदले चाहेर मात्रै विकास गर्न गाह्रो भइरहेको अवस्थामा प्रचण्डको प्रयासमा ठूला बजेटहरू ल्याउन सकिएको उक्त पार्टीका जिल्ला नेताहरूको दाबी छ।
प्रचण्ड मंसिर ४ गते हुन लागेको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन्। गत निर्वाचनमा एमालेसँग मिलेर वामपन्थी गठबन्धन बनाएका उनी यसपालि नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितको गठबन्धनबाट उम्मेदवार बन्ने योजनामा छन्।
यो क्षेत्रबाट नेपाली कांग्रेसका स्थानीय नेताहरूले पनि उम्मेदवार दाबी गरिरहेका छन्। दुई जना केन्द्रीय सदस्यसहितका सात जना नेताले उक्त क्षेत्रबाट उम्मेदवार बन्न कांग्रेस चितवनको क्षेत्रीय समितिमा आवेदन दिएका छन्।
गत निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसले राप्रपा उम्मेदवार विक्रम पाण्डेलाई सघाएको थियो। पाण्डेले यसपटक पनि उक्त क्षेत्रबाट उम्मेदवार बन्ने योजना बनाएका छन्। उनी २०७० को संविधानसभा निर्वाचनमा हालको क्षेत्र नम्बर ३ को माडी र भरतपुरका केही भाग समेटिएको तत्कालीन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। त्यसपछि उनी मन्त्री पनि बनेका थिए।