नरेश भण्डारी नेकपा (एकीकृत समाजवादी) का गुल्मी जिल्ला अध्यक्ष थिए।
उनले आफू निकटसँग केही समयदेखि एउटा कुरा भन्दै आएका थिए- म जिल्ला अध्यक्ष रहुन्जेलसम्म रामकुमारी झाक्रीलाई सांसदका लागि सिफारिस गर्दिनँ।
झाक्री एकीकृत समाजवादीका केन्द्रीय सचिव हुन्। र उनी गृह जिल्ला गुल्मीको क्षेत्र नम्बर २ बाट संसदीय चुनाव लड्न चाहिरहेकी छन्। पार्टीबाट टिकट पाउँछु र सत्ता गठबन्धनको उम्मेदवार हुन्छु भन्नेमा झाक्री यति ढुक्क देखिन्छन् उनी केही समयदेखि जिल्लामै चुनावको तयारीमा व्यस्त छन्।
झाक्रीलाई दलको तर्फबाट सिफारिस गर्नुपर्ने अवस्था आएपछि भण्डारी भने पार्टीबाटै अलग भएका छन्। उनीसहित केही नेता पुरानै पार्टी एमालेमा फर्किएका छन्।
समाजवादीको कार्यतालिका अनुसार भदौ १० भित्र जिल्ला कमिटीले उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गर्नुपर्थ्यो। त्योभन्दा अघि नै भण्डारी पार्टीबाट अलग भए।
‘मेरो हातबाट रामकुमारीको नाम सिफारिस गर्नुभन्दा पार्टी नै छोड्छु भनेर उहाँ एमालेमा जानुभयो,’ झाक्रीले भनिन्।
भण्डारीले भने एकीकृत समाजवादी आफ्नो एजेन्डामा अडिग नरहेका कारण पार्टी छोडेको बताउँछन्। समाजवादीमा लागेर एमालेलाई हराउने भूमिका निर्वाह गर्नुबाहेक कुनै काम नभएकाले पार्टी छोडेको उनको भनाइ छ।
‘विगतमा आफ्नै साथीभाइहरूलाई हराउन लागियो। अब त्यो गल्ती फेरि गर्नु छैन। एमालेलाई हराउनेबाहेक अरू केही काम नहुने देखेर आफ्नो गल्ती सच्याउन एमालेमा फर्किएँ,’ उनले सेतोपाटी सँग भने।
भण्डारीसँगै एकीकृत समाजवादीका गुल्मी इन्चार्ज गणेश खनाल र लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा पनि एमालेमा फर्किएका छन्। उनीहरूसहित जिल्ला कमिटी सदस्य मदन घिमिरे, हरि कुँवरले पनि समाजवादी छाडेका छन् भने समाजवादी निकट युवा संघ गुल्मीका अध्यक्ष रामजंग कँडेल र अनेरास्ववियुका जिल्ला अध्यक्ष निलकण्ठ पाण्डे पनि एमाले गएका हुन्।
गुल्मीका अध्यक्षले पार्टी छोड्दा कस्तो असर पर्छ?
गुल्मीका अध्यक्षले पार्टी छोड्दा आफूलाई कुनै पनि असर नपर्ने झाक्रीको दाबी छ। आफूलाई अहसयोग गर्दै आएका व्यक्तिले पार्टी छोड्दा झनै सहज भएको उनले बताइन्।
‘संगठन विस्तारमा नलाग्ने उल्टै मलाई असहयोग गर्ने व्यक्तिले पार्टी छोड्दा मलाई झनै सहज भएको छ। उहाँले पार्टी छोड्दा कुनै असर पर्दैन,’ उनले भनिन्।
झाक्री हाल निर्वाचन केन्द्रित कार्यक्रमका साथ गुल्मीमै व्यस्त छिन्। मतदाताहरूसँगको छलफलमा राम्रै प्रतिक्रिया पाइरहेको उनको भनाइ छ।
गुल्मी-२ मा २०५६ सालदेखि विजयी एमालेका सचिव गोकर्ण बिष्टको विकल्प खोजी भइरहेको र आफू सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार बन्ने स्थिति रहेकाले सहज स्थिति रहेको झाक्रीले बताइन्।
‘सत्ता गठबन्धनबाट म सर्वसम्मत उम्मेदवार बन्ने स्थिति छ। गुल्मी-२ का मतदाताले गोकर्ण बिष्टको विकल्प पनि खोजिरहेका छन्। एउटै मान्छेलाई कति पटक अवसर दिने भन्ने मनस्थिति मतदाताको छ र मप्रति छुट्टै सद्भाव छ,’ उनले भनिन्।
छोटो समय मन्त्री भए पनि आफूले गुल्मीको विकासका निम्ति अन्य मन्त्रालयसँग समन्वय गरेर काम गरेकाले पनि मतदाताको सद्भाव बढेको उनको जिकिर छ।
‘गुल्मीको पश्चिमी क्षेत्रलाई छोड्ने गरी निर्माण हुन लागेको ढोरपाटन करिडोरदेखि द्वन्द्वकालमा विस्थापित चौकी पुनर्स्थपनालगायत स्थानीय विकास निर्माणमा मेरो भूमिकाले मतदाता सकारात्मक हुनुहुन्छ,’ उनले भनिन्।
महिला उम्मेदवार बन्न लागेकाले पनि मतदातामा उत्साह आएको उनको जिकिर छ।
‘स्थानीय विकासमा सहयोग पुर्याएको र राष्ट्रिय राजनीतिमा परिचित महिला उम्मेदवार बन्न लागेको कुराले पनि मतदातामा उत्साह छ,’ उनले भनिन्।
सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने भएकाले पनि आफूलाई सहज हुने उनको भनाइ छ। वैशाख ३० गते भएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा गुल्मी-२ मा एमाले सबैभन्दा बलियो छ। एमालेले ३१ हजार २ सय ५३ मत पाएको छ भने कांग्रेसले २९ हजार ८ सय २१ मत पाएको छ। यस्तै माओवादी केन्द्रको मत १८ सय ४१ छ भने एकीकृत समाजवादीले भने ६ सय ५८ मत मात्र ल्याएको छ।
क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीको ९ हजार मत रहेको झाक्रीको दाबी छ।
‘मुसीकोट र धुर्कोटमा समाजवादीका उम्मेदवारको मत जोड्दा कलममा आएको भोट ९ हजार पुग्छ,’ झाक्रीले भनिन्।
आफूप्रतिको उत्साहलाई मतदानको दिनसम्मै कायम राख्नुपर्ने चुनौती झाक्रीले महसुस गरेकी छन्।
‘अहिलेको उत्साहलाई मैले निर्वाचनको दिनसम्मै कायमै राख्नुपर्ने छ। जनमत जोगाइराख्नुपर्ने चुनौती पाइला-पाइलामा छ,’ उनले भनिन्।
झाक्री, विद्यार्थी आन्दोलनबाट उदाएकी नेता हुन्। दोस्रो जनआन्दोलनबाट उनी चर्चामा आएकी थिइन्। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। एमालेबाट छुट्टिएर एकीकृत समाजवादी गठन गर्दा उनले माधव नेपाललाई निकै ठूलो साथ दिइन्। उनी सहरी विकास मन्त्रीसमेत बनिसकेकी छन्। सत्ता गठबन्धनमा एकीकृत समाजवादीका प्रत्यक्ष निर्वाचित सांसदलाई यसपटक त्यही निर्वाचन क्षेत्रबाट विजयी गराउने सहमति गठबन्धनमा पहिले नै भएको छ।
समानुपातिक सांसद रहेकी झाक्री भने यसपटक प्रत्यक्ष लड्न लागेकी हुन्। एमालेबाट विद्रोह गर्दा निर्वाह गरेको भूमिकाले कांग्रेस सभापति शेरबहादुर देउवाको पनि सद्भाव आफूतर्फ रहेको झाक्री बताउँछिन्।
‘केन्द्रमा गठबन्धनका अन्य नेताहरू पनि मेरो विषयमा सकारात्मक हुनुहुन्छ। जिल्लामा पनि कांग्रेस र माओवादीबाट मलाई राम्रै सहयोग छ,’ उनले भनिन्।
गुल्मी क्षेत्र नम्बर २ बाट २०५६ सालदेखि एमालेबाट बिष्ट निर्वाचित हुँदै आएका छन्। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ३४ हजार ६ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। उनले कांग्रेसका उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४ सय ६१ मतान्तरले पराजित गरेका थिए।