मंसिर ४ मा हुने आम निर्वाचनको लागि सत्तारूढ गठबन्धन भित्रको सिट बाँडफाँट नेकपा (एकीकृत समाजवादी)का कारण पेचिलो बनेको आरोप गठबन्धनका अन्य घटकले लगाउँदै आएका छन्।
अहिले रहेका सांसद र स्थानीय निर्वाचनमा पाएको मतका आधारमा नभएर राजनीतिक निर्णयका आधारमा आफूलाई सिट दिनुपर्ने माग एकीकृत समाजवादीकोछ। अन्तिम समयमा एकीकृत समाजवादीले कति सिटमा चित्त बुझाउँछ? माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियाबारे अहिले के भइरहेको छ लगायत विषयमा एकीकृत समाजवादीका विरोध खतिवडासँग सेतोपाटीले कुराकानी गरेको छ।
प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट एकीकृत समाजवादीकै कारण पेचिलो बनेको हो त?
सत्ता गठबन्धनमा रहेका सबै दलले आ-आफ्नै दाबी गरिरहेका छन्। कांग्रेसले १०० भनिरहेको छ। माओवादीले ६० भनिरहेको छ। मलाई सिट बढी भयो तपाईं लानुस् त कसले भन्छ र? हाम्रो कारणले मात्रै सिट बाँडफाँट पेचिलो बनेको होइन। बढीभन्दा बढीमा दाबी गर्नु स्वभाविक हो। अन्तिम समयमा सबैको चित्त बुझ्नेगरी सिट संख्या टुंगिन्छ।
कति सिट भयो भने एकीकृत समाजवादीको चित्त बुझ्छ?
मैले अहिले संख्या भनें भने गठबन्धनको बैठकमा विरोधीजीले यति भन्नुभएको छ तपाईं किन धेरै माग्नुहुन्छ माधवजी भन्लान्। तर अन्तिममा २५ सिटमा कुरा मिल्छ भन्ने मेरो विश्वास छ।
२५ सिटमा तपाईंहरूको दाबी पुग्ने आधार छ त?
सिट बाँडफाँटको सुरूआती बैठकबाट नै हामीले एकीकृत समाजवादीको हकमा मतको आधारमा निर्णय गर्नुहुन्न भनेका थियौं। अरू दलको हकमा २०७४ को नतिजा र स्थानीय चुनावको मतको आधारमा गर्ने भन्ने कुरा भएको हो। हामीसँग २०७४ को निर्वाचनको अनुभव पनि छैन। स्थानीय चुनावमा पनि २७ प्रतिशत ठाउँमा मात्रै उम्मेदवारी दियौं। त्यसैले समाजवादीको हकमा राजनीतिक निर्णयबाट जानु पर्ने भन्नेमा गठबन्धनका अन्य दल पनि सहमत नै छन्।
एकीकृत समाजवादी र माओवादीबीच संयन्त्र बनाएर एकता गर्ने भनिएको थियो। यसको प्रक्रिया कहाँ पुग्यो?
माओवादीसँगको एकता प्रक्रिया सुरू नै भएको छैन। वामपन्थीहरूको संयन्त्र बनाउँदा चुनावमा सहज हुन्छ भन्ने हिसाबले अघि बढिएको हो। वामपन्थी एकता हुनु हुँदैन भनेर कसले भन्छ र?, कसैले पनि भन्दैन। वामपन्थी एकता हुनुपर्छ भन्छौं तर गर्नचाहिँ कोही पनि अग्रसर हुँदैनौं। बरू भएको एकता तोड्ने काम गर्छौं। विगतमा शक्तिशाली बनेको वामपन्थी शक्तिलाई केपी ओलीले ध्वस्त पारे। छिन्नभिन्न रहेको वामपन्थी शक्तिलाई एक बनाउने अभियान हामीले सुरू गरेका हौं। यो अहिले प्रारम्भिक चरणमै छ। माओवादी र एकीकृत समाजवादीको एकता नै हुने चरणमा पुगिसकेको छैन।
पार्टी माओवादीसँग मिल्न लाग्यो भनेर तपाईंहरूका केही केन्द्रीय सदस्य एमाले फर्किनुभएको छ नि?
वामपन्थी एकता हुनु हुँदैन भन्ने मानिस कम्युनिष्ट कार्यकर्ता हुनै सक्दैन। मार्क्सवाद, लेनिनवाद वा समाजवाद मान्ने शक्ति एक ठाउँमा आउनु हुँदैन भन्ने मानसिकता कम्युनिष्ट कार्यकर्ता वा पार्टीको हुनु हुँदैन। पार्टी प्रवेशको छिटपुट एक-दुई घटना भइरहन्छन्। अरू दलबाट पनि हामीकहाँ आइरहनुभएको छ। हाम्रोबाट पनि गइरहनुभएको छ। चुनावको बेलामा ललिपप पाउँदा दौडिने प्रवृत्ति अघिल्ला चुनावमा पनि थिए, अहिले पनि छन्। यो ओहोरदोहोर प्रक्रियालाई सामान्य रूपमा नै लिनुपर्छ।
पार्टीको स्थापना दिवसमा समेत तपाईंसहित तीन पूर्वमन्त्रीको अनुपस्थिति रह्यो? नेतृत्वप्रति अझै असन्तुष्टि हो वा जिम्मेवारीमा नफर्किनुभएको हो?
यो कुरा निकै नै पुरानो भइसक्यो। हामी सबैजना अहिले चुनाव केन्द्रित अभियानमा छौं। म मकवानपुरमा व्यस्त छु। रामकुमारी गुल्मीमा छिन्। किसान आफ्नै क्षेत्रमा व्यस्त छन्। निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त भएकाले हामी पुग्न सकेनौं। पार्टीभित्र त्यस्तो कुनै पनि विवाद छैन। विवादका कुरा सबै हल्ला मात्रै हुन्। अध्यक्षले चुनावमा लाग्न भनिसकेफछि हामी सबै चुनावी कार्यक्रममा छौं।
तपाईं यसपालि पनि मकवानपुरबाटै लड्ने तयारीमा हुनुहुन्छ। त्यहाँ तपाईंको स्थिति के छ?
निर्वाचन क्षेत्र फेर्नलाई ठूला नेता परिएन। त्यस कारण यस पटक पनि म मकवानुपर-२ बाटै लड्ने हो। म यहाँबाट उम्मेदवार बन्ने कुराले कांग्रेस र माओवादीका साथीहरू पनि उत्साहित नै हुनुहुन्छ। गठबन्धनको पनि साथ पाउँदा मेरो स्थिति झनै बलियो छ। मेरो उम्मेदवारीको कुराले सबै जना उत्साहित नै हुनुहुन्छ।