चितवनको क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको बीचमा प्रतिस्पर्धा हुने भएको छ।
पाण्डेलाई एमालेले र पौडेललाई नेपाली कांग्रेसले उम्मेदवार बनाउन लागेका हुन्। पौडेल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समेत रहेको गठबन्धनका उम्मेदवार हुन्।
२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा यहीँबाट विजयी भएपछि पाण्डे अर्थमन्त्री भएका थिए।
उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भए। दुबै निर्वाचनमा उनले नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई पराजित गरेका थिए।
२०७४ सालमा पाण्डेले ५१ हजार ८० मत ल्याउँदा बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए। उक्त निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रका बीच तालमेल भएको थियो।
पौडेललाई टिकट दिएकोमा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी असन्तुष्ट छन्। उनले स्वतन्त्र उम्मेदवारी दिन लागेको स्रोतले बतायो।
यो निर्वाचन क्षेत्रमा चितवनका राप्ती, खैरहनी र रत्ननगर नगरपालिका पर्छन्। यहाँ यसपालि १ लाख ३९ हजार ८४५ मतदाता छन्।
गत स्थानीय तहको निर्वाचनमा तीन वटै तहमा नेकपा एमाले पराजित भएको थियो।
यी तीन स्थानीय तहबाट एमालेका वडाध्यक्षहरूले ३९ हजार ६०६ र गठबन्धनमा रहेका दलका वडाध्यक्षहरूले ४६ हजार ५७७ मत पाएका थिए।
यो क्षेत्रबाट प्रदेश सभामा नेकपा एमालेले पूर्व जिल्ला अध्यक्ष जगन्नाथ थपलिया र जिल्ला सचिव प्रकाश खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर ‘ख’मा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल उम्मेदवार बन्दैछन्।
‘क’ बाट नेपाली कांग्रेसका किरणभूषण ओलीले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।
खनाल बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री हुन्। ओली कांग्रेसका क्षेत्रीय सभापति हुन्।