मोरङ क्षेत्र नम्बर २ मा यसपटक मिनेन्द्र रिजालले चुनाव लड्न नपाउने भएका छन्।
रिजालको सट्टामा सुजाता कोइरालालाई पार्टीले टिकट दिएको छ।
क्षेत्रीय समितिले सिफारिस गरे पनि उनलाई टिकट नदिनुको कारण के होला? अब उनले आफ्नो राजनीतिक यात्रालाई कसरी अघि बढाउलान्। यसै सेरोफेरोमा रहेर सेतोपाटीका शिशिर ढकालले रिजालसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश।
मोरङ २ मा टिकट पाउनुभएन। अब तपाईंको आगामी राजनीतिक यात्रा कसरी अघि बढ्छ?
नेपाली कांग्रेस धेरै ठूला नेताले बनाएको पार्टी हो। पार्टीको माथिल्लो तहमा विकृति देखिए पनि आम रूपमा पार्टीको चरित्र लोकतान्त्रिक नै छ। पार्टीका अन्य साथीप्रति मेरो अपार विश्वास छ। कांग्रेसलाई बिपी कोइरालाको नीतिमा चल्ने बनाउन म क्रियाशील नै रहनेछु।
तपाईंलाई कांग्रेसले टिकट नदिनु कारण के होला?
लोकतन्त्र र सत्ता फरक कुरा हुन्। लोकतन्त्रले जहिले पनि सत्तालाई औंला ठड्याउँदै सत्ताको जबरजस्तीलाई रोक्ने प्रयास गर्छ। बिपी कोइरालाले बनाएको पार्टीमा नेतृत्वप्रति औंला ठड्याउने चरित्र अझै रहनुपर्छ भन्ने मेरो मान्यता छ।
पार्टीको विद्यमान नेतृत्व प्रतिशोधबाट प्रेरित हुन्छ भन्ने लागेर मैले बिपी स्मृति दिवसको दिन ‘आत्मोह र प्रतिशोध भन्दा परका बिपी ’ भनेर लेख लेखेको थिएँ। त्यही बेलादेखि नै ममाथि केही न केही प्रतिशोध साँधिन्छ भन्ने अनुभूति थियो।
अहिले पनि नेतृत्व प्रतिशोधको सीमाभन्दा बाहिर उठेको देखिँदैन। उहाँको यस्तै छविकै कारण मैले उहाँको विकल्प खोज्नुपर्छ भन्ने अभियानलाई साथ पनि दिएको थिएँ। उहाँकै विकल्प खोज्ने अभियानमा सक्रिय भएर होला मलाई टिकट नदिएको।
यो निर्णयले मेरो राजनीतिक महत्वाकांक्षालाई के गर्ला भन्नेबारे यसै भन्न सक्दिनँ तर मेरो इच्छाशक्तिलाई भने अझै दृढ बनाएको छ।
टिकटबारे तपाईंसँग के कस्तो छलफल भएको थियो?
नेतृत्वले मोरङ क्षेत्र नम्बर २ मा टिकट र विकल्पका विषयमा मसँग कुनै पनि छलफल गरेन। मिनेन्द्र रिजाललाई संसदमा पुग्न नदिने चाहना नेतृत्वमा प्रस्ट देखियो।
तपाईं शेखर कोइराला समूहबाट महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धामा हुनुहुन्थ्यो। यही कारण पनि प्रतिशोध साँधिएको भन्न खोज्नुभएको हो र?
यो त प्रस्टै देखियो नि। नत्र त नेतृत्वले त्यस क्षेत्रको विषयमा निर्णमा लिँदा कम्तीमा म सँग सल्लाह त गर्नुपर्थ्यो। मलाई टिकट नै नदिने सोच नेतृत्वसँग भएकाले मसँग कुनै परामर्श नै भएन।
तपाईंलाई टिकट दिने विषयमा तपाईंको समूहले नेतृत्वसामू दबाब दिएको थिएन र!
यो विषयमा मेरो कुनै पनि प्रतिक्रिया छैन। सबै विषयमा कसरी कुरा गर्नु?