चितवनको क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन, नेकपा एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। गठबन्धनका तर्फबाट माओवादीले फिजिसियन डाक्टर भोजराज अधिकारीलाई अघि सारेको छ।
नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। राप्रपाबाट उपाध्यक्ष बिक्रम पाण्डेले उम्मेदवारी दिँदैछन्। नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताको नेतृत्व गर्दै भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका जगन्नाथ पौडेलले पनि यहीँ क्षेत्रबाट उम्मेदवारी दिएका छन्।
चितवनमा पाँच वटा निर्वाचन क्षेत्र हुँदा राप्रपाका उपाध्यक्ष पाण्डे क्षेत्र नम्बर पाँच बाट विजयी भएका थिए। त्यस क्षेत्र हाल क्षेत्र नम्बर ३ मै पर्छ। २०७० सालको संविधानसभा निर्वाचन उनी क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। २०७४ सालमा प्रचण्डसँग क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्दा पाण्डे पराजित भए।
गत निर्वाचनमा यस क्षेत्रबाट प्रचण्डले ४८ हजार २७६ भोट ल्याएका थिए। पाण्डेले ३८ हजार ९३५ भोट ल्याएका थिए। त्यसबेला, प्रचण्डलाई एमालेले र पाण्डेलाई कांग्रेसले सहयोग पाएका थिए।
यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्छ। क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २८३ मतदाता छन्।
गत स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध वडाध्यक्षका उम्मेदवारहरुले ४५ हजार १७२, एमालेका उम्मेदवारले ३० हजार ६०९ र राप्रपाका उम्मेदवारले ७ हजार ४५४ मत पाएका थिए। स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको थियो।
प्रतिनिधिसभा र निर्वाचनमा भने एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दिएका हुन्। यो क्षेत्रअन्तर्गत प्रदेश सभा ‘क’ मा कांग्रेसका सुर्यकान्त घिमिरेले प्रतिस्पर्धा गर्दैछन् भने ख बाट माओवादी केन्द्रका ठाकुर ढकाल मैदानमा छन्।
ढकाल माडीका पूर्वमेयर र घिमिरे कांग्रेसका महासमिति सदस्य हुन्। एमालेले प्रदेश 'क'मा कृष्णप्रसाद भुर्तेल र 'ख'मा सरस्वती विष्टलाई उम्मेदवार बनाएको छ। उनीहरु दुवै एमालेका प्रदेश सदस्य हुन्। राप्रपाले चितवन–३ मा प्रदेशतर्फ 'क'मा पार्टीका बागमती प्रदेश उपाध्यक्ष गिरबहादुर तामाङ (ज्ञानजंग लामा) र ३'ख'मा सहमहामन्त्री रिना गुरुङलाई उम्मेदवार बाउँदैछ।