नेपाली कांग्रेसले आउँदो संसदीय निर्वाचनमा चितवन-१ बाट उम्मेदवार बनाएका राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्वनाथ पौडेलविरूद्ध पुराना नेता राजेन्द्रप्रसाद बुर्लाकोटी बागी उठेका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले श्रीमती आरजु राणाको दबाबमा पार्टीको क्रियाशील सदस्य नै नभएको व्यक्तिलाई उम्मेदवार बनाएको दाबी बुर्लाकोटीले गरे।
गुटगत स्वार्थका कारण आयोगका उपाध्यक्ष हुँदाहुँदैको व्यक्तिलाई राजीनामा गराएर उम्मेदवार बनाइएको आरोप उनको छ। पौडेलले आइतबार मात्र उनले आयोग उपाध्यक्षबाट राजीनामा दिएका हुन्।
'म पार्टीका लागि भनेर हिँड्न थालेको ३५–४० वर्ष भयो। एउटा उम्मेदवार खोज्दा पनि नपाउने बेलामा म आफ्नो सम्पत्ति र ज्यानको माया मारेर उम्मेदवार बनेँ। सन्तोषजनक भोट ल्याएर कार्यकर्ताको संरक्षण गरिराखेँ। तर जब गठबन्धन भयो, पार्टीको उम्मेदवारले जित्ने अवस्था आयो, कुनै योगदान नै नभएका व्यक्तिलाई टपक्क टिपेर उम्मेदवार बनाए,' बुर्लाकोटीले सेतोपाटीसँग भने, 'यो त म माथि ठूलो अन्याय भयो। त्यही अन्यायको विरूद्धमा मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ।'
उनी यसअघि चितवन-१ मा बाट कांग्रेसका उम्मेदवार थिए। तर तत्कालीन वाम गठबन्धनसँग पराजीत भए।
बुर्लाकोटीले गठबन्धनको समर्थन विश्वनाथ पौडेललाई भए पनि आफूले स्वतन्त्र उठेर निर्वाचन जित्ने दाबी गरे।
'पार्टीको निर्णयले कांग्रेसका कार्यकर्ताहरूले मनोबल खस्किएको छ। मैले जति दुःख गरे पनि नेताले जसलाई पनि उम्मेदवार बनाइदिने रहेछन् भन्ने परेको छ,' उनले भने, 'म आफूले जीवनभर दुःख गरेको पार्टीका कार्यकर्ताहरूको भावनालाई बुझेर उम्मेदवार बनेको छु। चुनाव जितेर देखाउँछु।'
उनले जनाधार असाध्यै कमजोर भएको क्षेत्रलाई आफूले मेहनत गरेर जित्ने अवस्थामा पुर्याएको कुरालाई पार्टीले भुलेको गुनासो गरे।
चितवन-१ मात्र होइन, पार्टीको निर्णयविरूद्ध क्षेत्र नम्बर-३ मा पनि बागी उम्मेदवारी परेको छ। उक्त क्षेत्रमा केन्द्रीय सदस्य दिनेश कोइराला र स्थानीय चुनावमै बागी उठेका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
उनीहरूले पार्टीको स्वेच्छाचारिताविरूद्ध उम्मेदवारी दर्ता गरेको बताएका छन्।
पार्टीभित्र पटकपटक कुरा उठाउँदा पनि नेतृत्वले नसुनेपछि बाध्य भएर उम्मेदवारी दर्ता गरेको केन्द्रीय सदस्य कोइरालाले बताए।
'प्रचण्ड (पुष्पकमल दाहाल) लड्नु हुन्न। क्षेत्र नम्बर ३ कांग्रेसलाई चाहिन्छ भनेर मैले पटकपटक कुरा उठाएँ। तर उहाँ नउठ्दा पनि उहाँकै पार्टीलाई सहयोग गर्ने निर्णय गरियो,' कोइरालाले भने, 'पार्टीले स्थानीय चुनावमा पनि गल्ती गरेको थियो। तर एकपटकलाई गल्ती भइहाल्यो भनेर चुप बसेँ। तर जति हामी मान्दै जान्छौं, उनी नेताहरूको अहमता, घमन्ड र स्वेच्छाचारिता बढ्दै गयो। ठूलो ढुंगा पनि सय चोटपछि फुट्न सक्छ।'
चितवन कांग्रेसमा धेरै विकृति रहेको र नेपाली कांग्रेसको नेतृत्वमा आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने घमन्ड बढ्दै गएपछि बाध्य भएर उम्मेदवारी दिएको उनले बताए। पार्टी नेतृत्वको स्वेच्छाचारिताले जनतामा वितृष्णा बढेको कोइरालाको भनाइ छ।
उनीसँगै जगन्नाथ पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीले भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रलाई सहयोग गर्ने निर्णय गरेपछि कांग्रेसभित्रका असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेर जगन्नाथ पौडलले मेयर पदमा उम्मेदवारी दिएका थिए। त्यतिखेर उनले १४, ७२८ भोट पाएका थिए।
उनी र उनका प्रस्तावक, समर्थकहरूलाई पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको थियो।
निर्वाचन परिणम आएलगत्तै पत्रकार सम्मेलन गरेर जगन्नाथ पौडलले नेपाली कांग्रसले प्रतिनिधि सभाको निर्वाचनमा चितवन–३ माओवादीलाई दियो भने त्यहाँ पनि उम्मेदवारी दिने तयारी भएको बताएका थिए।
उनले बोलेजस्तै गरे। आइतबार स्थानीय चुनावको खर्च विवरण समयमै नबुझाएबापतको साढे ७ लाख रूपैयाँ जरिवाना बुझाएर उनी सिधै कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रहेको निर्वाचन कार्यालय पुगे।
जगन्नाथ पौडलले चितवनको समृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका छन्।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले चितवन क्षेत्र नम्बर-३ छाड्ने चर्चा चल्दा यो क्षेत्र नेपाली कांग्रेसको भागमा पर्ने आकलन धेरैको थियो। कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले क्षेत्र नम्बर-३ को विकल्पमा माओवादीलाई चितवनका अन्य दुई क्षेत्रमध्ये एक रोज्न आग्रह गरेका थिए। यद्यपी पछि उनले अन्यत्र नगई चितवनको क्षेत्र नम्बर-३ बाटै उठिदिन प्रचण्डलाई आह्वान गरे।
प्रचण्डले चितवनका राजनीतिक दलहरूले गरेको आग्रहलाई सुनेनन्। गठबन्धनले प्रचण्ड गोरखा जाँदा पनि यो क्षेत्र माओवादीकै भागमा पर्ने निर्णय गर्यो। जबकी यहाँबाट उठ्ने गतिलो उम्मेदवार खोज्न माओवादीलाई धौधौ भएको थियो। पार्टीभित्र कोही पनि उपयुक्त उम्मेदवार फेला नपरेपछि औपचारिक राजनीतिमा कहिल्यै नदेखिएका तर पार्टीप्रति झुकाव राख्ने डाक्टर भोजराज अधिकारीलाई माओवादीले उम्मेदवार बनायो।
प्रचण्डको आग्रहमा चितवनका चर्चित फिजिसियन डाक्टर अधिकारी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए। प्रचण्ड यो क्षेत्र आफूले अहिले छाडे पनि यहाँको जनमत नगुमोस् भन्ने चाहन्छन्।
माओवादीभित्रैको उच्च स्रोत भन्छ, 'अध्यक्ष अहिले योभन्दा सुरक्षित क्षेत्र भेटेर गोरखा जानुभयो। तर पार्टीको यहाँको जनमत भने नगुमोस् भन्नेमा उहाँ सचेत हुनुहुन्छ। अहिले विश्वासिलो र चर्चित व्यक्तिलाई उम्मेदवार बनाएर जिताउन सके अर्को निर्वाचनमा यो क्षेत्र छोरीका लागि सुरक्षित हुन्छ भन्ने उहाँलाई लागेको छ।'
कांग्रेसलाई भने प्रचण्डले छाड्दा पनि यो क्षेत्र माओवादीले नै पाउँदा पार्टीको जनमत खस्किँदै गएको चिन्ता छ। स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पार्टीले कारबाही गरे पनि आफूलाई कांग्रेसको धेरै माया रहेको बताए। उनले नेपाली कांग्रेसको मत बचाइराख्न आफूले यसपटक पनि उम्मेदवारी दिएको बताए।
यो क्षेत्रबाट एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाले केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई उम्मेदवार बनाएका छन्। यस क्षेत्रबाट अन्य २१ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।