सत्तामा रहेको जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर चुनाव लड्ने निर्णय गरेपछि मधेस प्रदेशमा दुई प्रमुख गठबन्धनबीच चर्को प्रतिस्पर्धाको स्थिति पैदा भएको छ।
एकातिर नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छन् भने अर्कोतिर एमाले र जसपाको गठबन्धन छ।
स्थानीय चुनावको परिणामलाई हेर्ने हो भने मधेसमा कांग्रेस सबैभन्दा ठूलो दल हो भने एमाले र जसपा दोस्रो र तेस्रो ठूला दल हुन्। लोसपा चौथो र माओवादी केन्द्र पाँचौ तथा एकीकृत समाजवादी छैठौं ठूलो दल हो।
गत स्थानीय निर्वाचनमा कांग्रेसले ४६ वटा पालिकाको नेतृत्व जितेको छ भने एमालेले ३०, जसपाले २५, लोसपाले १४, माओवादी केन्द्रले ९ र एकीकृत समाजवादीले ६ पालिकका प्रमुख जितेका छन्।
यसरी कांग्रेस नेतृत्वको गठबन्धन जम्मा ७५ पालिकाको नेतृत्व जितेको छ भने एमाले नेतृत्वको गठबन्धनले जम्मा ५५ पालिकामा नेतृत्व जितेको छ। जसका कारण मधेसमा सत्ता गठबन्धन बलियो देखिएको छ।
संघीय र प्रदेश चुनावको निर्वाचनमा पालिकाको मत हेरेर मात्र पुग्दैन। यहाँ निर्वाचन क्षेत्रको मत हेर्नुपर्छ। हामीले मेधेस प्रदेशका आठ वटै जिल्लाका ३२ निर्वाचन क्षेत्रमा दुई गठबन्धन दलका उम्मेदवारले स्थानीय निर्वाचनमा वडा तहमा पाएको मत विश्लेषण गरेका छौं।
वडा तहको मत विश्लेषण गर्दा कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धन ३२ मध्ये २६ निर्वाचन क्षेत्रमा अगाडि देखिन्छ भने एमाले नेतृत्वको गठबन्धन मात्र ६ निर्वाचन क्षेत्रमा अगाडि देखिन्छ। तर कैंयन निर्वाचन क्षेत्रमा दुई गठबन्धनबीच मतको अन्तर एकदमै कम छ। त्यसले निर्वाचनको परिणामबारै अहिले नै यकिनका साथ भन्न कठिन छ।
केही मुख्य निर्वाचन क्षेत्रमा दुई गठबन्धनबीच प्रतिस्पर्धाको स्थितिबारे हेरौं।
सप्तरी क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। स्थानीय तहको मतलाई आधार मान्ने हो भने जसपा यो क्षेत्रमा सबैभन्दा ठूलो दल हो। तर दुईओटा गठबन्धन बनेसँगै यादवलाई जित्नका लागि यहाँ चुनौती थपिएको छ। जसपा सम्मिलित एमाले नेतृत्वको गठबन्धन यहाँ सत्ता गठबन्धनसँग झण्डै १३ हजार मतले पछाडी छ।
सत्ता गठबन्धनसँग ३३ हजार १ सय ८४ मत छ भने एमाले-जसपा गठबन्धनसँग २० हजार ३ सय ५४ मत मात्रै छ। यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट लोसपाका जयप्रकाश ठाकुरलाई टिकट दिइएको छ।
यही निर्वाचन क्षेत्रमा जनमत पार्टीका सिके राउत पनि मैदानमा छन्। स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने राउतको पार्टीको गतिलो प्रभाव छैन। जनमत पार्टीले ४ हजार ५ सय ४२ मत मात्रै पाएको छ। तर राउतको व्यक्तिगत छविले निर्वाचनको नतिजामा प्रभाव पार्न सक्छ। राउतले कुन गठबन्धनको धेरै मत तान्नेछन् भन्ने पनि एउटा महत्वपूर्ण प्रश्न छ।
सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको जसपालाई आफ्नै प्रभाव क्षेत्र मधेस प्रदेशमा चुनाव जित्न खासै सहयोग पुग्न देखिन्न। जसपासँगको तालमेलले एमालेलाई भने केही क्षेत्रमा फाइदा हुनसक्छ।
स्थानीय तहको मतलाई आधार मान्दा मधेस प्रदेशका ३२ मध्ये ६ स्थानमा मात्रै अगाडि रहेको यो गठबन्धनको जसपा ३ र एमाले ३ निर्वाचन क्षेत्रमा अगाडि देखिन्छ।
जसपा सप्तरी १, बारा २ र पर्सा १ मा अगाडि छ भने एमाले सिराहा १ र ३ र पर्सा २ मा अगाडि छ।
अर्कोतिर सत्ता गठबन्धनलाई यो प्रदेशमा पर्याप्त लाभ भएको देखिन्छ।
सप्तरीका ४ मध्ये ३ क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ। सप्तरी क्षेत्र नम्बर २, क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धन अगाडि छ। सत्ता गठबन्धनबाट क्षेत्र नम्बर २ मा लोसपाले र अरु दुई क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएको छ।
सिराहाका ४ क्षेत्रमध्ये दुई क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ भने २ क्षेत्रमा एमाले-जसपा गठबन्धन अगाडि छ।
स्थानीय तहको मत हेर्दा सिराहाका चारै क्षेत्रमा दुई गठबन्धनको कडा टक्कर हुने देखिन्छ। सिराहा क्षेत्र नम्बर २ मा मात्रै सत्ता गठबन्धन १ हजार भन्दा धेरै मतले अगाडि छ। सत्ता गठबन्धनको मत ३३ हजार ८ सय ९५ छ भने एमाले-जसपा गठबन्धनको मत ३२ हजार ३ सय ४८ छ। यो क्षेत्र सत्ता गठबन्धनको तर्फबाट कांग्रेसलाई परेको छ भने एमाले-जसपाको तर्फबाट जसपाले पाएको छ।
सिराहा १ र ३ मा एमाले जसपा गठबन्धन अगाडि छ भने सिराहा ४ मा ४ मतले मात्रै सत्ता गठबन्धन अगाडि छ। क्षेत्र नम्बर १ र ३ एमालेको भागमा परेको छ भने क्षेत्र नम्बर २ र ४ जसपाको भागमा परेको छ।
धनुषाका चारै क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ। स्थानीय तहको मतलाई आधार मान्ने हो भने थोरै अग्रता भएको क्षेत्रमा ७ हजार र धेरै अग्रता भएको क्षेत्रमा २२ हजार सम्मको रहेको छ। त्यसैले धनुषामा एमाले-जसपा गठबन्धनलाई चुनाव जित्न निकै कठिन छ।
महोत्तरीका चारै क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ। महोत्तरीमा समेत सत्ता गठबन्धनको फराकिलो अन्तर छ। थोरै अन्तर भएको क्षेत्रमा ४ हजारदेखि धेरै अन्तर भएको क्षेत्रमा २८ हजारसम्म छ।
सर्लाहीमा समेत एमाले-जसपा गठबन्धनलाई उत्तिकै सकस छ। सर्लाही २ मा सत्ता गठबन्धनकै बीचमा मित्रवत प्रतिसपर्धा हुँदा समेत एमाले जसपा गठबन्धनलाई जित्न गाह्रो छ।
जस्तो यो क्षेत्रमा लोसपाका राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले उम्मेदवारी दिएका छन्। यादवले माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका आधिकारीक उम्मेदवार यादव हुन्।
सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा यहाँ ३४ हजार ५ सय ७८ मत ल्याएको थियो। लोसपाको १२ हजार ३ सय ७१ र एमालेको ७ हजार ६ सय ७९ मत छ। जसपाले १९ हजार ६ सय ४२ मत पाएको थियो।
स्थानीय तहको निर्वाचनमा यादव जसपामै भएकाले योमध्ये धेरै मत उनको पक्षमा आउने अनुमान गर्न सकिन्छ। किनकी यादवले २०७० र २०७४ मा यही क्षेत्रबाट निर्वाचन जितेका हुन्। उनी २०५१ र २०५६ समेत नेकपा एमालेबाट बिजयी भएका थिए।
२०७० को निर्वाचनमा महतोलाई यादवले हराएका थिए। २०७४ को निर्वाचनमा महतो धनुषा ३ बाट विजयी भएका थिए। एमाले-जसपा गठबन्धनमा यो क्षेत्र एमालेलाई परेको छ। यो क्षेत्रमा यादव र महतोबीच नै कडा प्रतिसपर्धा हुने देखिन्छ।
रौतहटका चारै क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ।
रौतहट क्षेत्र नम्बर ३ मा भने एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुन सक्छ। साहले यही क्षेत्रबाट तीन वटा निर्वाचन जितिसकेका छन्। उनले एमालेबाट टिकट लिएर गएका भए पनि अन्तिम समयमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचन उठेका छन्। साहले टिकट लिएर गएकाले यो निर्वाचन क्षेत्रमा एमाले पार्टीबाट कोही निर्वाचन लड्न पाएन।
सर्वोच्च अदालतले नेकपा विभाजन गरेर एमाले र माओवादीलाई अलग बनाइदिएपछि साहले एमाले रोजेका हुन्। तर एमाले-जसपा गठबन्धनसँग असन्तुष्ट बनेका साहले यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यो क्षेत्रमा सत्ता गठबन्धको ४३ हजार ३ सय ५२ मत छ भने एमाले-जसपाको ३१ हजार २ सय १२ मत छ।
बारामा एमाले-जसपा गठबन्धन सत्ता गठबन्धनभन्दा एक क्षेत्रमा मात्रै अगाडि छ। बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको मत ४० हजार २ सय ४८ छ भने सत्ता गठबन्धनको ३९ हजार ६ सय ७९ मत छ। सत्ता गठबन्धनबाट यो क्षेत्र माओवादीलाई परेको छ भने एमाले-जसपाबाट जसपालाई परेको छ।
बारा क्षेत्र नम्बर ३ मा एमाले र जसपाले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन्। दुवै दलले उम्मेदवारीसमेत दिएका छन्। यसको फाइदा सत्ता गठबन्धनलाई हुन सक्छ। किनकी सत्ता गठबन्धनको मत ३१ हजार ४ सय ३ छ भने एमालेको २३ हजार ६ सय ५४ र जसपाको ११ हजार २ सय ७९ छ। यदी एमाले र जसपाको यो क्षेत्रमा तालमेल भएको भए सत्ता गठबन्धनभन्दा बलियो हुन्थ्यो।
बारा ४ मा पनि सत्ता गठबन्धनकै मत धेरै छ। सत्ता गठबन्धनको मत ४५ हजार ७ सय ५९ छ भने एमाले-जसपा गठबन्धनको मत २६ हजार ८ सय ५८ छ। यो क्षेत्रबाट २०७४ मा निर्वाचित लोसपाका सांसद एकवाल मियाँ एमालेबाट उम्मेदवार बनेकाले लोसपाको मत बाँडिन सक्छ। यो क्षेत्रमा लोसपाको मत १५ हजार ८० छ।
पर्साका ४ क्षेत्रमध्ये २ क्षेत्रमा सत्ता गठबन्धन र २ क्षेत्रमा एमाले-जसपा गठबन्धन अगाडि छन्। पर्सा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा एमाले जसपा गठबन्धन अगाडि छ। पर्सा क्षेत्र नम्बर १ जसपा र २ एमालेको भागमा परेको छ।
एमाले गठबन्धनलाई सत्ता गठबन्धनको तुलनामा एउटा लाभ भने हुन सक्छ। सत्ता गठबन्धनमा धेरै दलहरु छन्, ती सबै दलबीच ‘मत ट्रान्सफर’ त्यति सजिलो नहुन सक्छ जति दुई दल (एमाले र जसपा) बीच हुन्छ।
हेर्नुहोस् तलको टेबलमा मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा गएको स्थानीय निर्वाचनमा वडा तहमा गठबन्धनका उम्मेदवारले पाएको मत:
सप्तरी |
क्षेत्र नम्बर १ | क्षेत्र नम्बर २ |
कांग्रेस गठबन्धन | ३४७०३ | कांग्रेस गठबन्धन | ३३१८४ |
एमाले गठबन्धन | ३५१७१ | एमाले गठबन्धन | २०३५४ |
क्षेत्र नम्बर ३ | क्षेत्र नम्बर ४ |
कांग्रेस गठबन्धन | ३६०४८ | कांग्रेस गठबन्धन | २५७२६ |
एमाले गठबन्धन | ३३६१७ | एमाले गठबन्धन | ३५१७९ |
| | | |
सिराहा |
क्षेत्र नम्बर १ | क्षेत्र नम्बर २ |
कांग्रेस गठबन्धन | ३४४३८ | कांग्रेस गठबन्धन | ३३८९५ |
एमाले गठबन्धन | ३४७१० | एमाले गठबन्धन | ३२३४८ |
क्षेत्र नम्बर ३ | क्षेत्र नम्बर ४ |
कांग्रेस गठबन्धन | ३४०३९ | कांग्रेस गठबन्धन | २८२८९ |
एमाले गठबन्धन | ३५२२१ | एमाले गठबन्धन | २८२८५ |
| | | |
महोत्तरी |
क्षेत्र नम्बर १ | क्षेत्र नम्बर २ |
कांग्रेस गठबन्धन | ३७६११ | कांग्रेस गठबन्धन | ४३०१७ |
एमाले गठबन्धन | १५२६८ | एमाले गठबन्धन | १५६०७ |
क्षेत्र नम्बर ३ | क्षेत्र नम्बर ४ |
कांग्रेस गठबन्धन | २९५४३ | कांग्रेस गठबन्धन | ३७८६२ |
एमाले गठबन्धन | २५१७७ | एमाले गठबन्धन | २०१४० |
| | | |
धनुषा |
क्षेत्र नम्बर १ | क्षेत्र नम्बर २ |
कांग्रेस गठबन्धन | ३०८९९ | कांग्रेस गठबन्धन | ४७७३० |
एमाले गठबन्धन | १७५२४ | एमाले गठबन्धन | २५४७२ |
क्षेत्र नम्बर ३ | क्षेत्र नम्बर ४ |
कांग्रेस गठबन्धन | ३५५८२ | कांग्रेस गठबन्धन | ३९९७७ |
एमाले गठबन्धन | २५३३४ | एमाले गठबन्धन | ३२००८ |
| | | |
रौतहट |
क्षेत्र नम्बर १ | क्षेत्र नम्बर २ |
कांग्रेस गठबन्धन | ५६८७९ | कांग्रेस गठबन्धन | ४४१७० |
एमाले गठबन्धन | १५६२६ | एमाले गठबन्धन | २७६८३ |
क्षेत्र नम्बर ३ | क्षेत्र नम्बर ४ |
कांग्रेस गठबन्धन | ४३३५३ | कांग्रेस गठबन्धन | ५५२७१ |
एमाले गठबन्धन | ३१२१२ | एमाले गठबन्धन | १९१०९ |
| | | |
सर्लाही |
क्षेत्र नम्बर १ | क्षेत्र नम्बर २ |
कांग्रेस गठबन्धन | ५४३२८ | कांग्रेस गठबन्धन | ३४५७८ |
एमाले गठबन्धन | २२७९० | एमाले गठबन्धन | २८०६३ |
क्षेत्र नम्बर ३ | क्षेत्र नम्बर ४ |
कांग्रेस गठबन्धन | ४७४०२ | कांग्रेस गठबन्धन | ६१७११ |
एमाले गठबन्धन | ३६१४६ | एमाले गठबन्धन | १८८०० |
| | | |
बारा |
क्षेत्र नम्बर १ | क्षेत्र नम्बर २ |
कांग्रेस गठबन्धन | ४९४८० | कांग्रेस गठबन्धन | ३९६७९ |
एमाले गठबन्धन | ३१९५१ | एमाले गठबन्धन | ४०२४६ |
क्षेत्र नम्बर ३ | क्षेत्र नम्बर ४ |
कांग्रेस गठबन्धन | ३१४०३ | कांग्रेस गठबन्धन | ४५७५९ |
एमाले गठबन्धन | ३४९३३ | एमाले गठबन्धन | २६८५८ |
*बारा ३ मा एमाले गठबन्धनको स्पष्ट बहुमत पुगे पनि एमाले र जसपाले मित्रवत प्रतिश्पर्धा गर्ने निर्णय गरेका छन्। जसअनुसार सत्ता गठबन्धनलाई बहुमत पुग्ने देखिएको छ। |
|
पर्सा |
क्षेत्र नम्बर १ | क्षेत्र नम्बर २ |
कांग्रेस गठबन्धन | २०३३७ | कांग्रेस गठबन्धन | २८२१९ |
एमाले गठबन्धन | २९०४१ | एमाले गठबन्धन | ३२१६३ |
क्षेत्र नम्बर ३ | क्षेत्र नम्बर ४ |
कांग्रेस गठबन्धन | ३१२४६ | कांग्रेस गठबन्धन | ३२४४६ |
एमाले गठबन्धन | ३०८५० | एमाले गठबन्धन | ३१७४५ |