चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा (एमाले) का नेता रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका छन्।
सहायक निर्वाचन अधिकृत पुरूषोत्तम पौडेलले उम्मेदवारी फिर्ताका लागि न्यौपानेको निवेदन आएको जानकारी दिए।
आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेले यहाँ कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्ने सम्भावना छ।
एमाले चितवन उपाध्यक्ष कमलराज पाठकले उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने आधिकारिक निर्णय भई नसकेको बताए।
‘हामीले कांग्रेसका बागी उम्मेदवारमध्ये एक जनालाई समर्थन गर्ने सम्भावना छ,’ पाठकले भने। राप्रपा उम्मेदवारलाई भने समर्थन नगर्ने उनले बताए। यो क्षेत्रमा राप्रपाका विक्रम पाण्डे उम्मेदवार छन्।
‘स्थानीय तहको निर्वाचनमा तालमेल भए पनि राप्रपाले असहयोग गरेका कारण यसपटक राप्रपासँग तालमेल हुने सम्भावना कम छ,’ पाठकले भने।
स्रोतका अनुसार पार्टीको केन्द्रीय तहबाटै न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको हो। उम्मेदवारी फिर्ताबारे प्रतिक्रिया लिन खोज्दा न्यौपानेको मोबाइल अफ छ।
सत्तारूढ गठबन्धनले भागबन्डा गर्दा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो। माओवादी केन्द्रबाट भोजराज अधिकारी उम्मेदवार बनेका छन्।
अघिल्लो चुनावमा यो क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए। यसपालि प्रचण्ड चितवन छोडेर गोरखा-२ मा चुनाव लड्न गएका छन्।
चितवन कांग्रेसका नेताहरूले उक्त क्षेत्र प्रचण्डले छोडेपछि आफूहरूले पाउनु पर्ने माग गरेका थिए। उक्त क्षेत्र पार्टीको भागमा नपरेपछि कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
यही क्षेत्रबाट कांग्रेसले कारबाही गरेका जगन्नाथ पौडेल र कांग्रेसका क्षेत्रीय प्रतिनिधि तारानाथ पौडेलले पनि उम्मेदवारी दिएका छन्।