नयाँ सरकार गठनबारे सबै विकल्पमा खुला रहने माओवादी केन्द्रको निर्णयले सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस झस्किएको छ।
शनिबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गठबन्धनभित्रैबाट बहुमत पुर्याउन कोसिस गर्ने र सम्भव नभए अन्य विकल्पमा पनि खुला रहने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए।
'हामी अहिले गठबन्धनमै छौं। यसलाई तोड्ने पक्षमा छैनौं तर सरकार गठनका सबै विकल्पमा खुला छौं। अन्य पार्टीसँग पनि छलफल गर्छौं,' महराले भने।
उक्त निर्णयबारे जानकारी पाएलगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ उपाध्क्ष नारायणकाजी श्रेष्ठलाई फोन गरेका छन्।
'निर्णय सुनेलगत्तै मैले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई फोन गरेँ। उहाँहरू दुवैले गठबन्धन नटुट्नेमा ढुक्क हुन भन्नुभयो,' खड्काले सेतोपाटीसँग भने।
माओवादीको यो निर्णयपछि पनि यही गठबन्धनमा बसेर नयाँ सरकार बन्नेमा तपाईं विश्वस्त हुनुभयो त भन्ने प्रश्नमा उनले भने, 'फोनमा कुराकानी भएपछि गठबन्धन नटुट्नेमा म ढुक्क भएँ।'
यसबीच सबै दललाई मिलाएर आफ्नो नेतृत्व वा आफ्नो पहलमा सरकार बनाउन प्रयत्न गर्नुपर्ने मत प्रमुख प्रतिपक्षी नेकपा एमाभित्र बलियो बन्दै गएको छ। विशेषगरी एमालेको दोस्रो तहका नेताले माओवादी केन्द्रसँग सम्पर्क र छलफल बढाएका छन्। माओवादी केन्द्रभित्र पनि कतिपयले वामपन्थी एकता र वाम सरकारका लागि खुला रहनुपर्ने बताउन थालेका छन्।
माओवादी केन्द्रका महासचिव देव गुरूङले सरकार गठनका लागि एमालेसँग पनि छलफल गर्न आफूहरू तयार रहेको बताएका छन्। बहुदलीय व्यवस्थामा अन्य पार्टीसँगको छलफललाई सामान्य र स्वाभाविक हिसाबले लिनुपर्ने उनको तर्क छ।
'तत्कालनै गठबन्धन छाड्ने पक्षमा हामी छैनौं। तर बहुदलीय प्रणालीमा सरकार गठनको विषयमा अन्य पार्टीसँगको छलफललाई स्वाभाविक रूपमा लिनुपर्छ। एमालेसँग छलफल भइरहेको होला वा हुनसक्ला, यसलाई सकारात्मक रूपमा हेरिनुपर्छ,' गुरुङले भने।
आफ्नै नेतृत्वमा सरकार गठनका लागि नेपाली कांग्रेसले पहलकदमी लिइरहेका बेला सरकार निर्माणबारे माओवादीले सबैसँग विकल्प खुला राख्ने निर्णय गरेर नेपाली कांग्रेसलाई दवाबमा राख्न खोजेको कतिपयले विश्लेषण गरेका छन्।
यही गठबन्धन कायम राख्ने हो भने सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने र पहिले आफूले नेतृत्व गर्ने चाहना माओवादी अध्यक्ष प्रचण्डको छ। त्यसबाहेक राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखजस्ता महत्वपूर्ण पद बाँडफाँटको विषय पनि मिलाउन बाँकी नै छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले भने भरसक आफ्नै नेतृत्वमा सरकार गठनको पहल सुरू गरिसकेका छन्। सत्ता साझेदारीमा खुला देखिएका देउवा पनि भरसक आफू नै सुरूमा नयाँ सरकारको नेतृत्व गर्नेमा छन्।
देउवाले बिहीबार जनमत पार्टीका अध्यक्ष सिके राउतसँग छलफल गर्दै उनलाई गठबन्धनमा बस्न सहमत गराएका थिए।
देउवाले पार्टीको नेतृत्वमा सरकार गठनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई विभिन्न दलका शीर्ष नेताहरूसँग कुरा गर्न लगाएका छन्।
खड्काले बिहीबार माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए भने शनिबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग संवाद गरे। कांग्रेसकै नेतृत्वमा सरकार बनाउँदै गठबन्धनलाई निरन्तरता दिने र अन्य दललाई पनि सहभागी गराउने विषयमा संवाद भएको खड्काले बताए।
चुनावअघि माओवादी अध्यक्ष प्रचण्डले पाँचदलीय गठबन्धन १५ वर्षसम्म टिक्ने भाषण गरेका थिए। चुनावपछि बालुवाटरमा देउवासँग भेट गर्दै उनले गठबन्धनले नै सरकार बनाउने बताएका थिए। तर चुनावपछि बसेको पार्टीको पहिलो पदाधिकारी बैठकमा उनले एमालेसँग सहकार्यको विकल्प खुला राख्ने निर्णय गराएका हुन्।
अर्कातिर चुनावअघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्र र त्यसका नेतृत्वको आलोचक थिए। चुनावपछिका सम्बोधनमा भने उनले कुनै आलोचना गरेका छैनन्। बरू चुनावको सबै परिणाम नआउँदै ओलीले प्रचण्डलाई फोन गरेर उनी निर्वाचित भएकोमा बधाई दिएका थिए।
सबै विकल्प खुला राखेको माओवादी केन्द्रको मुख्य रणनीति जोसँग मिलेर सरकार बनाए पनि पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने भन्ने देखिन्छ।
माओवादी केन्द्र पहिलो चरणमै सरकारको नेतृत्व आफूले गर्ने पक्षमा रहेको पार्टी उपमहासचिव मातृका यादवले बताएका छन्। विगतको भद्र सहमति पालना र मुलुकको हितका लागि प्रचण्ड नै पहिलो चरणमा प्रधानमन्त्री बन्नुपर्ने उनको भनाइ छ।
'विगतको भद्र सहमति पालनाका लागि र मुलुकको हितका लागि अहिलेलाई प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्छ। तत्काललाई गठबन्धनभित्रैबाट पहल गर्ने पक्षमा हामी छौं। एमालेको अवसरवादी प्रस्तावमा तुरून्तै हामफाल्दैनौं। वार्ता र संवाद भने सबैसँग हुन्छ,' यादवले भने।
सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ। हालको स्थितिमा गठबन्धनको संख्या ठ्याक्कै पुग्छ। कांग्रेसले हालसम्म प्रत्यक्षतर्फ ५६ सिट जितेको छ भने समानुपातिकतर्फ ३२ सिट पाउने देखिन्छ। योसहित कांग्रेसको कुल सिट ८८ हुनेछ।
प्रत्यक्षमा माओवादीको प्रत्यक्ष र समानुपातिक गरी ३१ सिट पुग्छ भने एकीकृत समाजवादीको १०, लोसपाको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट छ। जनमत पार्टीको ५ सिट थप हुँदा हालसम्म गठबन्धनको पक्षमा १ सय ३८ सिट पुग्छ।
बाजुरा र दोलखामा सत्ता गठबन्धनकै उम्मेदवारको अग्रता रहेको हुँदा यहाँ उनीहरू जितेको स्थितिमा सत्ता गठबन्धनको पक्षमा १ सय ४१ पुग्नेछ।