माडीका युवाहरूको एक समूहले ठेक्का लिएर कामै नगर्ने ठेकेदारको तस्बिरसहित ठेकेदार हराएको सूचना ठाउँ–ठाउँमा टाँसेको छ।
हुलाकी राजमार्गअन्तर्गत जीवनपुरदेखि बगईसम्मको सडक र पतरे खोलाको पुल निर्माणको जिम्मा लिएका ठेकेदारहरू हराएको भन्दै फोटोसहितको सूचना टाँसिएको हो।
'बाटो बनाउँछु भनि हामीलाई धुलो खुवाएर रोगी बनाएका ठेकेदार हराएकाले सम्बन्धित निकायलाई जानकारी गराइन्छ,' सडक आसपासका भित्तामा टाँसिएका व्यानरमा लेखिएको छ।
माडी नगरपालिकाको विकास र समृद्धिका लागि खबरदारी गर्न बनेको युवाहरुको समूह ‘समृद्धिका लागि युवा अभियान माडी’का एक अभियान्ता रामचन्द्र लम्सालले निर्माणको जिम्मा लिएर सम्पर्कविहीन बनेका निर्माण व्यवसायीहरुलाई दबाव दिन थालिएको बताए।
‘जीवनपुरदेखि बगईसम्मको सडकको पटक–पटक म्याद थप भयो तर पनि काम हुन सकेको छैन। ठेकेदार सम्पर्कविहीन छन्,’ लम्साल भन्छन्, ‘कामचलाउ अवस्थामा भएको पिच सडकसमेत जोतेर ठेकेदार हराए। सडकको अवस्थाले स्थानीयबासीको जीवन कष्टकर बनाइरहेको छ।’
उनले सडकको दुरावस्थाको विषयमा नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, हुलाकी राजमार्ग निर्देशनालय सबैतिर जानकारी गराउँदा पनि प्रगति नभएपछि स्थानीय युवाहरूले सांकेतिक रूपमा दबाब दिन सुरू गरेको बताए।
हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जले हेर्ने भरतपुर–माडी–ठोरी सडकअन्तर्गत पर्छ जीवनपुर–बगई ८.८ किलोमिटर सडक खण्ड। यो खण्डको निर्माणको जिम्मा बज्रगुरु र ढुकुचु जेभीले पाएको थियो। आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने सडकको काम अहिले ठप्प छ।
‘करिब एक वर्षयता यो सडकमा काम नै भएको छैन। त्यसअघि केही कामदार ल्याएर सडक छेउमा पर्खाल लगाउने काममात्रै भएको थियो,’ अर्का अभियन्ता विपिन पाठकले भने, ‘निर्माण व्यवसायीसँग सम्पर्क गर्न धेरै प्रयास गरियो तर सम्भव भएन।’
उनले माडी नगरपालिकामार्फत पनि पटक–पटक सम्पर्कको प्रयास भएको बताए।
भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत १२ पुल पर्छन्। यीमध्ये चिताइ खोला, रिमाल खोला र टुनामुना खोलाकोे पुल बनिसकेको छ। यहाँ रिउखोला, लम्बाइखोला, घाँघरखोला, परवीखोला, भालुखोला, बाँदरमुडे, रतनीखोला, मुगइखोला पुल बनिरहेका छन्। लोहनी एण्ड ब्रदर्शले ठेक्का पाएको पतरे खोलाको पुल निर्माणको काम भने महिनौंदेखि रोकिएको छ। पाठकले ती ठेकेदारको तस्बिर पनि माडीका विभिन्न ठाउँमा टाँसेर निर्माणका लागि दबाब दिइएको बताए।
माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले यो सडकको विषयमा हुलाकी राजमार्ग योजना कार्यालयका प्रमुखसँग कुरा गर्न प्रयास गरेपनि उनी सम्पर्कमा नआएको बताइन्।
‘यो सडक निर्माणमा नगरपालिकाको चासो छ। हामीले समन्वयको प्रयास गरिरहेका पनि छौं तर हुलाकी राजमार्ग योजना वीरगञ्जका प्रमुख र चितवन निकुञ्जका प्रमुखलाई एकैपटक बैठकमा राख्नै गाह्रो भयो,’ उनले भनिन्, ‘दुबै जनाको समय मिलाएर बैठक राख्नपाए निकास निकाल्न सकिन्थ्यो होला।’
मेयर महतोले सडक निर्माणकोक्रममा आवश्यक पर्ने ढुंगा, गिटीलगायतका निर्माण सामग्रीको रोयल्टी र उत्खनन् प्रकृयाका विषयमा कुरा नमिल्दा योजना प्रभावित भएको जानकारी आफूले पाएको बताइन्।
‘यो सडक अलपत्र बनाइँदा माडीबासीलाई असाध्यै दुःख भएको छ। वर्षायाममा त हिँडिसक्नु हुँदैन,’ मेयर महतोले भनिन्, ‘मैले यो ठेकेदारले काम गर्ला जस्तो लाग्दैन ठेक्का रद्द गरेर नयाँलाई दिनुपर्योयो पनि भनें तर उसैलाई म्याद थप गरिएछ। तैपनि काम भएन।’
उनले निर्माण व्यवसायीले काम नगरेपछि गत वर्षायाममा नगरपालिकाको बजेटले केही काम गरेर बाटो सहज बनाएको बताइन्।
सेतोपाटीसँग कुरा गर्दै हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका प्रमुख सिनियर डिभिजन ईन्जिनियर दारोगा प्रसादले पनि निर्माण सामग्रीको किचलोका कारण सडक निर्माणमा ढिलाई भएको दाबी गरे।
‘निर्माण व्यवसायी हाम्रो सम्पर्कमै छन् तर उनीहरूले सडक निर्माणका लागि निर्माण सामग्री प्राप्तीमा चितवन राष्ट्रिय निकुञ्जले रोक्यो भन्छन्,’ उनले भने।
प्रसादले निकुञ्जले सिधै रोकेको जस्तो नदेखिए पनि माडीभित्रका खोलाहरूबाट निर्माण सामग्री उत्खनन् गरेर प्रयोग गर्नेक्रममा बाधा पारेर घुमाउरो रूपबाट रोक्ने प्रयास गरेको बुझेको बताए।
‘यस विषयमा पुस १५ गते माडी नगरपालिकामा बैठक गर्दैछौं। त्यो बैठकले सहजीकरण गर्नसक्यो भने सडकको ठेकेदारलाई काममा फर्काउन सकिन्छ,’ उनले भने, ‘म सबैसँग समन्वय गरेर असार मसान्तभित्रैमा काम सक्नेगरी लाग्नेछु।’
प्रसादले पतरे खोलाको पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी लोहनी एण्ड ब्रदर्शलाई भने कारबाही गर्ने तयारी भइरहेको बताए।
‘अरु पुलको निर्माणकार्य भइरहेको छ। पतरे खोलाको पुलको निर्माण सन्तोषजनक छैन। त्यो कम्पनीलाई कारबाही गर्ने प्रक्रिया सुरू भइसकेको छ,’ उनले भने।
हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका प्रमुखले निर्माण सामग्रीमा निकुञ्जले अवरोध गर्दा ढिलाइ भएको दाबी गरे पनि माडीका बासिन्दा यसलाई मान्न तयार छैनन्।
‘निर्माण सामग्री पुर्याउन सबैभन्दा गाह्रो पर्ने बगई खोलामा हो, यो निकुञ्जसँगै जोडिएको छ। त्यहाँ अहिले पुलको निर्माण धमाधम भइरहेको छ,’ स्थानीय युवा विपिन पाठक भन्छन्, ‘निकुञ्जलाई देखाएर हुलाकी सडक कार्यालय र ठेकेदारले ढिलाइ गर्ने प्रयास गरिरहेका छन्।’
बेथितिकाविरूद्ध आवाज उठाउने भन्दै एकजुट भएका माडीका युवाहरूले ठेकेदार हराएको सूचनामार्फत् दिइएको दबाबले काम नगरे स्थानीयबासीलाई एक ठाउँमा ल्याएर थप दबाबका कार्यक्रम गर्ने बताएका छन्।
चितवन राष्ट्रिय निकुञ्जको बनकट्टा पोष्टबाट अघि बढेपछिको १५.५ किलोमिटर सडक भने कालोपत्रे भइसकेको छ। बघौडा, बसन्तपुर, बाँदरमुढे हुँदै देवेन्द्रपुरसम्मको सडकमा अब केही पुलमात्रै बन्न बाँकी छन्।
निकुञ्जभित्र पर्ने सडक र जीवनपुरदेखि बगईसम्मको सडक भने लामो समयदेखि अलपत्र छ। गत भदौमा वनमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई लिएर माडी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लेहालले हुलाकी राजमार्ग स्तरोन्नती र केही पुल निर्माणको शिलान्यास गरेका थिए। त्यतिखेर मन्त्रीहरुले रोकिएका सबै योजनाका कामहरु तत्काल सुरू गर्न ठाडो आदेश दिँदै काम तत्कालै सुरू हुने दाबी गरेका थिए। तर उनीहरूले भनेजस्तो भएन।
२०७४ सालको प्रतिनिधि सभामा माडीसमेत पर्ने चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका प्रचण्डले हुलाकी राजमार्ग निर्माण आफ्नो प्राथमिकतामा पर्ने बताउँदै आएका छन्।
गत मंसिरमा भएको निर्वाचनमा चितवन छाडेर गोर्खा पुगेका प्रचण्ड आइतबारमात्रै तेश्रो पटक प्रधानमन्त्री बनेका छन्।
हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका प्रमुख दारोगा प्रसादले स्थानीय र केन्द्रीय राजनीतिको प्रभाव पनि उक्त सडकमा पर्दै आएको बताए।
‘देशको राजनीति फेरिएसँगै यो सडकको निर्माण पनि प्राथमिकतामा पर्न सक्छ। पुस १५ गतेको बैठकबाट सकारात्मक नतिजा निस्कन सक्छ,’ उनले भने।
हुलाकी राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोक देखि ठोरी बसपार्क सम्म ८२ किलोमिटर सडक पर्छ। यो सडक ७ मिटर कालोपत्रेसहित १२ मिटर फराकिलो बनाउने योजना २०७४ सालमै बनेको थियो। यो सडकअन्तर्गत भरतपुरको हाकिम चोकदेखि पकौडीसम्मको स्तरोन्नतिमा पनि विलम्ब हुँदै आएको छ।