सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका छन्।
उनी नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
यहाँ एमालेले १०, माओवादीले ११, नागरिक उन्मुक्ति पार्टीले ७ र राप्रपाले एक सिट ल्याएका थिए। प्रदेश सभामा कांग्रेसले १९ सिट जितेको थियो।
चुनावअघि केन्द्रदेखि प्रदेशसम्मै कांग्रेस माओवादी लगायत पाँच दलीय गठबन्धन थियो। तर चुनावको परिणाम आइसकेपछि भने नयाँ समीकरण बन्यो।
केन्द्र सरकार बनाउँदा एमाले, माओवादी,रास्वपा राप्रपा नागरिक उन्मुक्ति पार्टी लगायतका दलको नयाँ गठबन्धनले प्रदेशमा समेत सत्ता बाँडफाँट गरेको थियो। त्यही बाँडफाँट गर्दा १० सिट ल्याएको एमालेले सुदूरपश्चिममा मुख्यमन्त्री पायो।
एमालेले रावललाई मुख्यमन्त्रीमा अघि सारेको हो।
रावलको जन्म २०२१ साल जेठ १६ गते बैतडीको दशरथचन्द नगरपालिका–५ मा भएको थियो। उनका बुवा दानसिंह रावल भारतीय आर्मीका क्याप्टेन थिए। आमा कमलादेवी रावल गृहिणी। बुवा भारतीय आर्मीमा भएकाले रावलको स्कुलदेखि स्नातक तहसम्मको पढाइ उतै भएको थियो।
राजनीतिमा भने उनी २०३६ सालपछि लागेका हुन्। उनका दाजु रामसिंह रावल कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको समूहमा आबद्ध भए। दाजु पञ्चायतविरूद्ध आन्दोलन गर्ने राजनीतिमा होमिएपछि रावल पनि राजनीतिमा लागेका हुन्।
२०४१ सालदेखि बैतडीको साइलेखको एक विद्यालयमा पढाउने काम गरे। २०४५ सालपछि पढाउने काम छोडेर उनी पञ्चायतविरूद्ध प्रत्यक्ष रूपमा आन्दोलनमा होमिएका थिए।
बैतडीबाट कञ्चनपुर सरेपछि एमालेको जिल्ला कमिटीमा विद्यार्थी फाँटको इन्चार्ज भए। अनेरास्ववियुमा पनि लागे। २०५४ देखि २०५९ सम्म जिल्ला विकास समितिमा उपसभापति भएका थिए।
अहिले नेकपा एमालेका पोलिटब्युरो सदस्य रहेका रावल सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज पनि हुन्।
उनी महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष भएर काम गरेका छन्। सिद्धनाथ विज्ञान क्याम्पसको सञ्चालन समितिमा आबद्ध छन् ।
एमालेभित्र उनी तार्किक क्षमता भएका प्रखर नेताको रूपमा चिनिन्छन्।
उनले दि इकोस र पावर अफ प्यासन नामक दुई अंग्रेजी पुस्तक लखेका छन्। उनले डोटेली, नेपाली र अंग्रेजी कविता लेखेका छन्।
२८ लाख बढी जनसंख्या रहेको सुदूरपश्चिममा शासन गर्न लागेका ५८ वर्षीय रावलले चार विशेष योजना बनाएको बताउँछन्।
आफू मुख्यमन्त्री रहँदा पहिलो मुद्दा पढाइ, दोस्रो कमाइ, तेस्रो दवाइ र चौथो पानी, खानी र जवानी हुने बताएका छन्।
'शिक्षा नीति, जनशक्ति र पूर्वाधार बढाउने, रोजगारमूलक शिक्षा, व्यवहारिक बनाउन लाग्ने छु, प्राविधिक शिक्षाको विकास गर्ने छु,' उनले भने।
प्रदेशको आन्तरिक स्रोत कम भएकाले केन्द्र सरकारको अनुदानमा भर पर्नुपर्ने अवस्था रहेको बताउँदै उनले यहाँको स्रोत साधन बढाउनतर्फ आफू लाग्ने बताएका छन्।
'अर्थतन्त्रलाई बढाउन जोड दिइने छ। लघु उद्यमशीलता बढाउने, साबुन, धुप, तेलजस्ता सामग्री उत्पादन गर्न साना उद्योगहरू बनाउन जोड दिनेछु,' उनी भन्छन्, 'कृषि उत्पादनको ब्राण्डिङ र मार्केटिङ गर्ने, यहाँको काठ बाहिर जाने तर खरिद गरेर आउने फर्निचर गुणस्तरहीन रहेको अवस्था छ । यहाँको काठ प्रदेशमै उत्पादन र खपतमा लगाउने योजना छ।'
त्यसबाहेक उद्योग स्थापना, ऊर्जा उत्पादन, पर्यटन सर्किट बनाउने, पर्यटन र रोजगारीका अवसर खोज्ने उनको भनाइ छ। खानीको पहिचान र उत्खननमा जोड दिने उनको भनाइ छ।
सुदूरपश्चिमको नयाँ मन्त्रिपरिषद्को सपथ ग्रहण बिहीबार हुनेछ।
केन्द्रमा एमाले–माओवादी र अरू सत्ता साझेदार दलहरूबीच भएका सहमति अनुसार रावल अढाई वर्ष सुदूरपश्चिमको मुख्यमन्त्री रहनेछन्। त्यसपछि माओवादीका खगराज भट्टका लागि उनले पद छोड्नुपर्ने सहमति भएको छ।
उनलाई मुख्यमन्त्री बनाउन प्रदेशको सभामुखमा माओवादी, उपसभामुखमा नागरिक उन्मुक्तिको भागमा परेको छ।