नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको छ।
विश्वासको मत दिएको एकीकृत समाजवादीले प्रचण्ड सरकारलाई समर्थन मात्रै गर्छ कि सरकारमा सहभागी पनि हुन्छ? शक्ति बाँडफाँटमा समाजवादीको दाबी कुन पदमा हो? राष्ट्रिय दल बन्न नसकेको समाजवादीले अबको राजनीतिक बाटो कसरी तय गर्छ? एमालेमा फर्कन्छ कि माओवादी र जसपासँगको एकता चर्चालाई पूर्णता दिन्छ? समाजवादीले आफ्नो दलमा क-कसलाई भित्र्याउँदैछलगायत समसामयिक विषयमा सेतोपाटीका मनोज सत्याल र शिशिर ढकालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गरेका छन्।
प्रधानमन्त्री प्रचण्डलाई तपाईंहरूले विश्वासको मत दिनुभयो। निर्वाचन लड्ने बेला तपाईंहरू एउटै गठबन्धनमा हुनुहुन्थ्यो। एमालेसँग सत्ता साझेदारी गर्ने विषयमा प्रचण्डले तपाईंहरूसँग छलफल गर्नुभएन। अहिले तपाईंहरू सत्तामा टाँसिन लागेको कतिपयको आरोप छ नि?
हामीले सबै पक्षको स्वतन्त्र विश्लेषण गरेर निर्णय गरेका हौं। हाम्रो पार्टी छुट्टै पार्टी हो। यसको आफ्नो छुट्टै अस्तित्व पनि छ। यसमा स्वाभिमान पनि छ। स्वाभिमानी नेता भएको पार्टी पर्यो। इतिहासको धरोहर बोकेका नेताहरू परे। उनीहरूले कसैसँग टाँसिनु पर्ने, आफ्नो अस्तित्व जोगाइदेऊ भन्नुपर्ने केही आवश्यकता छैन। नेताहरू कहिलेकाहीँ एक्लै पनि पर्याप्त हुन्छन्। कतिपय व्यक्तिको व्यक्तित्व नै चम्किलो हुन्छ। त्यसमा गौरवबोध हुन्छ। मान्छेले राम्रा कुरालाई पत्याउने हो। त्यसो हुनाले हामीले कसैसँग टाँसिनु पर्ने छैन। राष्ट्रिय राजनीतिको आवश्यकताले कसैसँग सहकार्य हुन्छ। हामीले चाहेका थियौं, अहिलेको राष्ट्रिय राजनीतिमा नयाँ ढंगको गठबन्धन बनोस्। तर गठबन्धन अघि बढ्न सकेन। त्यसपछि प्रचण्डजी नयाँ ढंगले अघि बढ्नुभयो। हामीले हाम्रो समय पार्टी निर्माण र संगठन निर्माणमा लगाउने सोचेका छौं।
निर्वाचनअघिको गठबन्धनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी थिए। तपाईंले त्यो गठबन्धन बैठकमा एक प्रचण्ड र शेरबहादुर देउवा दुई-दुई वर्ष र आफूले एक वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव राख्नुभयो। छलफल पनि भयो। त्यतिबेला पनि माओवादीले कुनै जवाफ दिएन। एमालेसँग साझेदारी गर्न जाँदा पनि कुनै छलफल गरेन। यो हिसाबले विश्वासको मत दिँदा टाँस्सिनै गएको देखिँदैन?
एउटा कुरा प्रष्ट होस्, मैले कहिले पनि प्रधानमन्त्री मागेको छैन। उहाँहरूले नै सोचेको हो, तीन वटा नेताको बीचमा आलोपालो गरौं भनेर। मैले हुन्छ पनि भनेको छैन। हुन्न पनि भनेको छैन। सुनेको छु। मैले माग्ने कुरा त असम्भव नै हो। हकको रूपमा कुरा गर्नु आफ्नो ठाउँमा हुन्छ। निर्वाचनमा आफ्नो स्थिति आइसकेपछि हामीले चर्को र ठूलो कुरा गर्नु पनि हुँदैन। यस्ता कुरामा म धेरै सजग मान्छे हुँ। मेरा निम्ति सत्ता ठूलो कुरा होइन। शक्ति ठूलो कुरा होइन। पैसा त झन् केही अर्थको छैन। मेरा निम्ति मूल्य र मान्यता ठूलो हो। मेरो उच्च मनोबलको आधार नै मूल्य मान्यता हो। म यसमा जोड दिन्छु। तर के हो भने तीन वटा नेताको बीचमा शक्तिको बाँडफाँट गरौं भन्ने कुरा उठेको हो।
राष्ट्रपतिको बारेमा पनि मेरो कुरा उठेको हो। त्यसमा पनि मैले हुन्छ भनेको होइन। त्यो चिज अघि बढ्न सकेन। प्रचण्ड पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने गरी भएको सहमतिबाट शेरबहादुरजी पछि हट्दा प्रचण्डजी ‘इरिटेड’ हुनुभयो। सम्भवत: शेरबहादुरजीलाई मै प्रधानमन्त्री हुन्छ भन्ने लाग्यो। कसैले उहाँलाई आश्वासन दिएको होला, कुनै हालतमा प्रचण्डलाई प्रधानमन्त्री बनाइँदैन। बने तपाईं नै बन्नुहुन्छ भनेको होला। धारा ७६ (३) होइन ७६ को २ कै प्रधानमन्त्रीको अफर गरेको हुनुपर्छ। त्यसो हुनाले उहाँ एउटा भ्रममा पर्नुभयो। भ्रममा परेर धोकाको शिकार भइयो भन्ने उहाँलाई परेको छ। यो अवस्थामा नेपाली कांग्रेसमा पनि शक्तिको मात लाग्यो। निर्वाचनको सिट बाँडफाँटमा कांग्रेस र माओवादीको व्यवहारबाट पनि म सन्तुष्ट थिइनँ। तर मोर्चाहरू भनेका यस्तै हुन्छ। जोसँग पनि सिटको तालमेल सजिलो हुँदो रहेनछ। आफ्नो शक्ति नै बनाउनु पर्दो रहेछ। शक्तिको बलमा नै अघि बढ्नु पर्दो रहेछ। अरू सबैको रिलाइजेशन भयो भने बीचको बिन्दु खोज्न सकिन्छ। होइन भने एउटाले पेल्न खोज्यो भने त्यहाँबाट निस्कनुपर्ने स्थिति बन्छ। २३ सिट ल्याएको कांग्रेसले प्रत्यक्षमा ५७ सिट ल्याउनुलाई के-के हो भन्ने ठान्यो। कांग्रेसको पंक्तिमा नै शक्तिको मत लाग्यो।
त्यसपछि प्रचण्डजीले भन्नुभयो- यो गठबन्धन टिकाइरहनु सधैँ चुनौतीपूर्ण नै हुन्छ। नयाँ ढंगले जाऔं भन्नुभयो। त्यसपछि हामी तीन नेताहरू बसेर छलफल गरौं भनेर १० पुसमा म र प्रचण्डको बीचमा साढे १२ बजे के सल्लाह भयो भने अब यो गठबन्धनबाट काम छैन। केपी ओली, तपाईं र म तीन जना बसेर कुरा गरौं भनेर हिँड्नु भएको प्रचण्डजी त्यसपछि त्यो कुरा बिर्सनुभयो। माधव नेपाल पनि छ, एकीकृत समाजवादी पनि छ भन्ने कुरालाई उहाँले बिर्सनुभएछ। उहाँले क-कसलाई बोलाउनुभयो। हस्ताक्षर गराउनुभयो। संख्या पुग्यो। यसमा मैले अनुमान के गर्नुसक्छ भने उहाँलाई कसैले भनेको हुनुपर्छ- एकीकृत समाजवादी र माधव नेपालको नाम पनि नलिनू भनेपछि उहाँले प्रधानमन्त्रीको कुर्सी देख्नुभयो। त्यो पनि खोसिदेला कि भन्ने भएपछि उहाँको आफ्नो सीमा हुन्छ भन्ने म बुझ्छु। त्यसपछि हामीलाई बिर्सनुभएछ। त्यसपछि साझा कार्यक्रमको मस्यौदामा र प्रदेशको सिट बाँडफाँटमा पनि हामीलाई सम्झिनुभएन। यो सबै कुरा जाहेर छ। अहिलेको चुनौतीको सामाना गर्नका लागि तपाईं अहिले प्रधानमन्त्री बन्नुपर्छ भनेर मैले प्रचण्डजीलाई भनेको थिएँ। त्यसैले जुन गाउँ जानु छैन त्यसको बाटो नसोध्नू। यो प्रचण्डजीबाट भएकै हो। माओवादी केन्द्रबाट भएकै हो। म व्यक्तिगत रूपमा प्रचण्डजी प्रति सकारात्मक थिएँ। उहाँ पहिला प्रधानमन्त्री बन्नुपर्छ भनेर शेरबहादुरजीसँग पनि छुट्टै कुरा गरेर ‘बनाइदिउँ प्रधानमन्त्री’ भनेको थिएँ।
मेरो उहाँप्रति सकारात्मक धारणा थियो। तर उहाँको दिमागमा सकारात्मक होइन नकारात्मक धारणा भन्ने परेछ। कुन गठबन्धन कायम गर्ने भन्दा मैले कायम भएको गठबन्धन कायम गर्ने भनेको थिएँ। अर्को गठबन्धन बनाउनु हुँदैन भनेको थिएँ। जब परिस्थितिमा आमूल परिवर्तन भयो। बसौं भन्दा हुन्छ भनेको थिएँ। मैले हुन्न त भनेको थिइनँ। बसौंला योजना बनाउँला। छलफल गरौंला भनेको थिएँ। फेरि माधव नेपाल लुरूलुरू जाने मान्छे नै होइन। कहीँ जाँदा सानका साथ जान्छ। थोरै हुँदा पनि सानका साथ हिँडेको हुँ। अहिलेको सन्दर्भमा एउटा स्थिति जसरी अघि बढ्यो सरकारमा जाने सबै ढोका बन्द भएका छन्।
प्रचण्डले तपाईंलाई बिर्सनु भएको हो कि कसैले बिर्सिदिनुहोस् भनेको?
उहाँले बल्ल विश्वासको मत पाउनुभएको छ। विश्वासको मत पाउने कुरा पनि चुनौतीपूर्ण नै हुन्छ। म त राजनीतिको अ गर्दा अलंकार बुझ्ने मान्छे क्यारे! सबैको कुरा त बुझ्ने हुँ। राजा वीरेन्द्र, ज्ञानेन्द्र, गणेशमानका कुरा पनि बुझ्ने हुँ। नयाँका कुरा पनि बुझ्ने हुँ। छोरा नातिका कुरा पनि बुझ्ने हुँ। प्रकृतिका त कुरा बुझिन्छ भने मानवका कुरा नबुझ्ने कुरै आउँदैन। उहाँ एउटा लिमिटेशनमा हुनुहुन्थ्यो। त्यो बाध्यता के-केले सिर्जना भयो भन्ने कुरा मैले भन्नु राम्रो हुँदैन। उहाँको मुखबाटै कुनै दिन आउला भन्ने विश्वास छ।
अब सभामुखको निर्वाचन हुँदैछ। राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रदेश सरकारदेखि प्रदेश प्रमुखहरू नियुक्ति गर्ने कुरा छ। तपाईंले केही कुरा गर्नुभएको छ कि छैन? सँगै जाऔं भनेर तपाईंलाई प्रचण्डले प्रस्ताव गर्नुभयो कि भएन?
कुनै कुरामा प्रवेश गरेका छैनौं। विश्वासको मत उहाँले प्राप्त गर्नुभयो। १५ वटा बुँदालाई अघि सारेर विश्वासको मत दिँदै हामी रचनात्मक विपक्षमा रहनेछौं भनेका छौँ। अरू विषयमा कुनै कुरा भएको छैन।
तपाईंले राष्ट्रपति, उपराष्ट्रपति, सभामुखमध्ये कुनै पद दाबी गर्नुभएको छैन?
केही कुरा भएको छैन।
रचनात्मक प्रतिपक्षी भन्नुभयो। तर कांग्रेस र तपाईंहरूले पनि प्रचण्डलाई विश्वासको मत दिएपछि त संसद प्रतिपक्षीविहीन भयो हैन?
कहाँबाट यो ज्ञान आएको छ? २०५१ सालमा मनमोहन अधिकारीको अल्पमतको सरकारलाई कांग्रेसले समर्थन गरेको थियो। विश्वासको मत प्राप्त भयो। तर कांग्रेस सत्ता पक्ष त भएन। ऊ प्रतिपक्षमा बस्यो। प्रतिपक्षी दलको नेता गिरिजाप्रसाद कोइराला भए। कि त्यो व्यवस्था बदलियो? संविधानमा नयाँ व्यवस्था भयो? संविधान सभा भएको बेलामा सुशील कोइरालाको सरकारलाई विश्वासको मत दिएर प्रचण्डजी प्रतिपक्षमा बस्नुभयो। दलको नेता उहाँ नै हुनुभयो। त्यस्तो हुँदैन। नयाँ सरकारले केही गर्छ कि भनेर ‘कन्डिस्नल सपोर्ट’ गरिन्छ। शंकाको लाभ दिइन्छ।
२०५१ मा मनमोहन अधिकारीले बहुमत सिट ल्याउनु भएको थिएन। रेकर्ड हेर्दा संसदमा उहाँले शतप्रतिशत मत पाउनुभएको देखिन्छ। तर अहिलेको अवस्थामा सत्ता साझेदार दलसँग बहुमत थियो। बहुमत सांसदसहित राष्ट्रपतिसमक्ष दाबी गरेको अवस्थामा तपाईंहरूले मत दिनुभएको छ। जबकी त्यतिबेलाको सरकार अहिलेको संविधानको धारा ७६ को ३ अनुसारको सरकार मनमोहन अधिकारीले चलाउनुभएको हो। त्यतिबेला र यतिबेलाको अवस्था दाँज्न मिल्छ?
अनि प्रचण्डजीको पालामा के भएको थियो? कुरा के भएको थियो नेपाली कांग्रेसले साथ दिएको भए उहाँको समर्थनको सरकारमा जानुहुन्थ्यो। प्रधानमन्त्री प्रचण्ड बन्नुहुन्थ्यो। अनि के प्रचण्डले साथ छाडेको हुनाले विरोध गर्छौं भनेर कांग्रेसले भन्नुपर्थ्यो? कि ठिकै छ। तपाईं जहाँबाट भए पनि प्रधानमन्त्री हुनुभयो भनेर तपाईंलाई हामीले शंकाको लाभ दिएका छौं भन्नुपर्थ्यो। अहिले कांग्रेसले गरेको कुराको प्रशंसा पो गर्नुपर्छ। त्यसलाई प्रशंसा नगरी अन्य अर्थ लगाउनु हुँदैन। २०५१ को भन्दा भिन्न व्यवस्था भएको छैन।
प्रतिपक्ष त ‘गभर्मेन्ट इन वेटिङ’ हो नि। त्यो किसिमले त उसले प्रतिपक्षको भूमिका पो राम्रो खेल्नुपर्थ्यो होला। यसले त सत्ता लिप्सा देखाएन?
उसले गरेका कामलाई गुण दोषको आधारमा हेर्छौं। कसरी जानुहुन्छ त्यही आधारमा हाम्रो कदम हुन्छ। तपाईंलाई ढाल्ने कदम पनि हुनसक्छ। सघाउने कदम पनि हुनसक्छ। प्रतिपक्ष भन्नेबित्तिकै ढाल्नै पर्छ भन्ने छ र!
संघीय संसदको पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनले त प्रतिपक्षी दलको नेता मन्त्रिपरिषद् गठनको बेला विपक्षमा उभिनेबाट छान्ने भनेको छ। कानूनी व्यवस्थाका हिसाबले त संसद त प्रतिपक्षविहीन भयो नि?
अब कानुनमा के छ त्यो मलाई थाहा भएन । तर व्यवहारमा हेर्न हो भने सरकारलाई समर्थन गरे पनि प्रतिपक्षी हुन्छ भन्ने विगतको अनुभवले देखाएको छ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड र पुरानो सत्ता गठबन्धन हाइज्याकमा परेको थियो। विश्वासको मत दिएर विश्वासको वातावरण सिर्जना गर्न खोज्दैछौं भन्नुभएको छ। कतै तपाईंहरूले र नेपाली कांग्रेसले जसरी विश्वासको मत दिनुभयो। एमालेलाई बाहिर निकालेर तपाईंहरू त्यहाँ रहने दृष्टि राख्नुभएको त छैन?
कसैकसले के भन्दा रहेछन् भने- ढोक्सा थाप्ने, जाल फाल्ने कुरा त होइन? समयक्रममा ती व्याख्या के हुन् भन्ने प्रष्ट हुँदै जानेछ। एउटा प्रधानमन्त्री हुनेबित्तिकै विरोध गरिहाल्नु पर्ने केही छैन। प्रचण्डजीको नाम आउनेबित्तिकै विरोध गरिहाल्नुपर्छ भन्ने केही पनि छैन। एउटा पक्ष सरकारमा सामेल हुन्छ र अर्को पक्ष सरकार बाहिरै रहेर गुणदोषको आधारमा हेर्छ। त्यसलाई ‘कन्स्ट्रक्टिभ’ प्रतिपक्ष भनिन्छ। अर्को ‘डिस्ट्रक्टिभ’ प्रतिपक्ष पनि हुन्छ। कुर्सी तोड्ने फोड्ने। अब कांग्रेसले के-के गर्यो भने उनकै नेतालाई सोध्नुहोस्।
निर्वाचन अघिको गठबन्धन फेरि ब्युँतन सक्छ?
भर्खरै नयाँ सरकार बनेको छ। धेरै अड्कल अनुमान गर्ने काम कमसेकम मैले गर्नु हुँदैन। मेरो अर्जुन दृष्टि पार्टी निर्माणमा छ।
एकीकृत समाजवादीबारे कुरा गरौं। तपाईंको पार्टीले समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाएन। तपाईंले थ्रेसहोल्ड कटाएको भए पनि कसैले हेलिकप्टर दिने थिएन भन्नुभयो। तर नेपालको राजनीतिक इतिहास हेर्ने हो भने दल विभाजन भएर बनेको अर्को दलको उदय गाह्रो रहेछ हैन?
कुनै पनि नयाँ पार्टी खोल्नु सजिलो हुँदैन। तपाईंहरूले देखिरहनु भएको छ एक सिट ल्याएर पनि पार्टीहरू चलिराखेका छन्। तर हामीले १० सिट ल्याएका छौं। सबै प्रदेशमा संगठन सञ्जाल फैलाएका छौं। सबै प्रदेश सभामा हाम्रो उपस्थिति छ। कुनै ठाउँमा धेरै र कुनै ठाउँमा थोरै छ। त्यसैले हामीसँग आधार विद्यमान नै छ। हामीसँग असल कार्यकर्ता छन्। अरू विकृति विसंगतिको आहालमा डुबेका छन्। हामी जोगिएका छौं। हामीभित्र पनि विसंगतिका पक्ष छन्। राष्ट्रिय राजनीतिमा हामी उदाउन सक्छौं भन्ने विश्वास हामीलाई छ।
तपाईंले दश सिट जितेको भन्नुभयो। तर सबै ठाउँमा समानुपातिक तर्फको मतमा त तपाईंहरूको दल पछाडि छ नि! निर्वाचन व्यक्तिको प्रभाव पनि हुन्छ। तर गठबन्धन नभएको भए तपाईंहरूको त संसदमा उपस्थिति नै नहुने रहेछ नि!
हाम्रो स्थानीय तहको चुनाव र अहिलेको चुनावमा कहाँ समस्या रहन गयो भन्ने कुरा हामीले समीक्षा गर्नुपर्छ। स्थानीय तहमा राम्रो मत पाएका थियौं। मैले नै हाम्रो ठाउँमा के पाएँ भने एउटै मञ्चमा गठबन्धनमा बाँधिएर बोल्दा सबैको चुनाव चिन्हमा मत दिनुहोस् भन्नुपर्दो रहेछ। मैले समानुपातिका साथीहरूलाई छुट्टै समूह बनाएर हिँड्न भनेको थिएँ। घरघरमा मतपत्र बोकेर जानुहोस् भनेको थिएँ। त्यसैले हामीले रौतहटमा ३० हजार भन्दा बढी र मधेस प्रदेशमा सवा लााख मत प्राप्त गर्यौं। राम्रो ढंगले चलेको भए मधेश प्रदेशमा मात्रै पनि दुई लाखभन्दा बढी मत प्राप्त गर्ने रहेछौं। अलि सुपरभिजन पुगेन। परिचालन राम्रो भएको भए हामीले ५-१० लाख मत पुर्याउन सकिन्थ्यो। म धेरै ठाउँमा जान सकिनँ। मलाई हराउन धेरै कसरत भएपछि आफ्नो क्षेत्रमा धेरै केन्द्रित हुनुपर्यो। समय कम भएकाले देशका अरू भागमा जान सकिनँ। जिल्लाका अरू भागमा जान सकिनँ। अरू नेताहरू पनि कति जान सक्नुभयो भएन समीक्षा गर्नुसपर्छ। कमसेकम म सानदार मतका साथ जितेर आएँ। त्यो एउटा गौरवको कुरा हो। मेरो निम्ति मात्र होइन पार्टीको निम्ति पनि गौरवको कुरा हो। समानुपातिकमा केही हजारको कारण थ्रेसहोल्ड कटाउन सकिएन। कता-कता नुन नभएको तरकारी जस्तो हुन पुग्यो। खल्लो भएको छ।
समानुपातिक मत विश्लेषण गर्दा तपाईंहरूको कारणले एमाले १९ स्थानमा हारेको छ यसले त खुशी नै लाग्छ होला?
अरू हारेकोमा, डुबेकोमा खुशी हुने स्वभाव छैन। हामीले नजितेकोमा चिन्ता छ। अरूको पनि उपादेयता हुन्छ भन्ने बुझेको भए मै हुँ भन्ने भावनालाई त्यागेर सबैको आ-आफ्नो ठाउँमा स्थान र भूमिका छ भन्ने बुझिदए त्यो ज्ञान, चेतना मान्छेमा आइदिए राम्रो हुन्छ।
अब एकीकृत समाजवादी कसरी अघि बढ्छ? अरू पार्टीसँग एकता गर्न वार्ता कमिटी बनाउनु भएको छ। एमालेसँगको पो एकता हुन्छ कि?
एमालेसँग एकताको कुनै आधार वा संकेत छैन। तर हामी वामपन्थी विचार मिल्नेहरूसँग सहकार्य गर्ने पक्षमा छौ|।
तपाईंले शितल निवासमा केपी शर्मा ओलीसँग छलफल गर्नुभयो। तपाईंहरूको कुराकानी टुटेको लामो समय भएको थियो। तपाईंहरू दुबै पूर्वएमालेमै रहेको शक्ति भएकाले हिसाबले सैद्धान्तिक मतभेद पनि कम होला। आगामी दिनमा सहकार्य प्रधान हुन्छ?
अब राजनीतिमा कुनै पनि चिज असम्भव हुने हुँदैन। धेरै मन मिल्नेहरू फुटेको र जुटेको देखिन्छ। शत्रुजस्तो घोषणा गर्नेहरू अंकमाल गरेको राजनीतिमा पाइन्छ। राजनीतिमा कहिले पनि स्थायी शत्रु र मित्र हुँदैन। यो त हामीले बुझ्ने कुरा गरेका छौं। एमालेसँग अहिले कुनै पनि त्यस्ता कुरा छैन। हामीले जनता समाजवादी पार्टीलाई एकताको सवालमा पत्र पठाएका छौं। वार्ता गरौं भनेका छौं। तर उहाँहरू केन्द्रीय सरकारमा सामेल भइसकेपछि सँगै जाने कुरा गर्न गाह्रो छ। यस्तो दोहोरो काम हामी गर्नेवाला छैनौं। अरू समूहसँग पनि हाम्रो वार्ता र संवाद हुन्छ। कसैले पनि कुरा गर्न चाहनुहुन्छ भने हामी तयार छौं।
तपाईंलाई राष्ट्रपति बनाउने अनि एमाले र एकीकृत समाजवादी मिलेर संसदको सबैभन्दा ठूलो दल बन्ने भन्ने सुनेका थियौं। त्यो सत्य होइन?
यो मेरो कानमा आइपुगेको छैन। कानमै नआएको कुरामा म कसरी सत्य भनौं। मलाई जानकारी छैन।
एमालेको तर्फबाट राष्ट्रपति बन्नुहोस् भनेर कहिले पनि प्रस्ताव आएन?
छैन। कोहीले पनि त्यस्तो केही भनेका छैनन्। नभएको कुराको पछिपछि लाग्नु हुँदैन।
एकीकृत समाजवादीमा भीम रावल र घनश्याम भुसाल समाहित भएर सँगै हिँड्ने कुराकानी भएको हो?
हामी कुराकानी गरिराखेका छौं। घनश्याम भुसालसँग अलिक नजिकिएका छौं। उहाँले हाम्रो पार्टीको नाममा चिठी पठाउनुभएको छ। हामीले जवाफ पठाएर आउनुहोस्, समाहित हुनुहोस् र मिलेर जाऔं भनेका छौं। तपाईंले उल्लेख गर्नुभएको कुरा आपत्ती गर्नुपर्ने कुरा होइन। ती ठिक छन्। छलफल गर्नुपर्ने कुरा छलफल गरेर जाऔं।
भीम रावल के ढंगले अघि बढ्न चाहनुहुन्छ त्यो आफैं प्रष्ट पार्ने कुरा भए। उहाँको बारेमा केही भन्न सक्दिनँ।
घनश्याम भुसालले के जिम्मेवारी पाउनुहुन्छ?
उहाँको पार्टी भित्रको हैसियतलाई समेत ध्यानमा राखेर उहाँको खुबी र क्षमता हेरेर अघि लैजानेछौं।
नेपालको इतिहास हेर्ने हो भने फुटेका पार्टीहरू मिलेका छन्। कांग्रेस, राप्रपा र एमाले पनि विगतमा विभाजन भएर मिलेका छन्। कालान्तरमा यो पार्टी मिलेर जान्छ भन्ने तपाईंको पार्टीका कार्यकर्तालाई अपेक्षा छ। तपाईं के भन्न चाहनुहुन्छ?
मेरो सुरूदेखिको मान्यता के हो भने एकभन्दा बढी वामपन्थी पार्टी हुँदा आत्तिपुर्ने हुन्छ र? धेरै स-साना पसल नहोस् एउटै ठूलो पसलको आकार ग्रहण गरोस् भन्ने भावना ठीक हो। तर जहाँ रहेर पनि समाजवादको पक्षमा जनमत तयार गर्ने काम गर्छ भने कोही पनि आत्तिनु पर्ने कारण छैन। सुखी नेपाली र समृद्ध नेपालको आकांक्षालाई साकार पार्न र आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको काम गर्नै बाँकी छ। असल नागरिक तयार गर्ने र नयाँ ज्ञान र चेतनाले उत्प्रेरित भएका जमात तयार गर्दै नेपाललाई गरिबी अभाव र विसंगतिबाट मुक्त गरेर साँचो लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने समाज निर्माणमा जुटौं। ठीक छ मिल्न सक्छौं पार्टीहरू मिलौं। होइन भने यो आदर्शमा सबैजना अघि बढौं।
एमाले र एकीकृत समाजवादी मिल्ने पूर्वसर्त के हो?
होइन अहिले त यो प्रसंग नै छैन। जुन कुरा अहिले कल्पना नै गर्न सकिन्नँ। यो काल्पनिक कुराको धेरे छलफल गर्नु राम्रो हुँदैन।
तपाईं उमेरले ६९ वर्ष हुनुभयो। लामो समय एमालेको नेतृत्व गर्नुभयो। अहिले एउटा दल खोलेर नेतृत्वमा हुनुहुन्छ। कहिलेसम्म तपाईं अब राजनीति गर्नुहुन्छ? कहिलेसम्म सक्रिय भएर एकीकृत समाजवादी पार्टी चलाउनुहुन्छ?
आउने पाँच वर्षसम्म सक्रिय भएर लाग्नैपर्यो। तर अब धेरै यो ज्यानले धान्न सक्छजस्तो पनि छैन। फेरि अशक्त भएर छोड्ने पनि त होइन। फेरि पनि जीवन त बिताउनै पर्यो नि। आनन्दले अध्ययन गरेर बस्न सकिन्छ। लेखन गरेर, भ्रमण गरेर बस्न सकिन्छ। संसार घुम्न सकिन्छ।
घुम्ने मेरो त सौख नै हो। म देशका सबै ७७ जिल्ला भ्रमण गर्ने प्रधानमन्त्री मध्ये म एक नम्बरमा पर्छु होला। सूर्यबहादुरजी पनि पर्नुहुन्छ कि पर्नुहुन्न हेर्नुहोला। तर थोरै प्रधानमन्त्रीमा पर्दछु। २०५१ सालअघि नै मनाङबाहेक सबै जिल्ला घुमिसकेको थिएँ। २०५६ मा मनाङ पनि पुगें।
तपाईंले विश्वका देश नै घुमिसक्न लाग्नुभयो नि!
अँ। संसारै मेरो घुम्ने विचार हो। मध्यपहाडी राजमार्गको सबै बाटो हिँड्ने पनि मेरो चाहना छ। आफ्नै आँखाले हेर्ने मन छ।
उमेर भैसक्यो नि त फेरि?
उमेर भएर हिँड्न पो गाह्रो पर्ने हो। गाडीमा के गाह्रो पर्छ र। हिँड्ने कुरामा कसैको शरीर तगडा हुन्छ। मेरो बुवा सय वर्षको उमेरमा मर्निङ वाक जाने गर्नुहुन्थ्यो। वुबा जति बलियो हुन्छु कि हुन्न भन्न सक्दिनँ।
तपाईंको त अर्को सौख पनि छ नि! फोटो कलेक्सन। कति छन् फोटो?
हजारौं हजार छ। त्यसलाई व्यवस्थित गर्नुपर्ला भनेको काम नै बाँकी छ। किताब व्यवस्थित गर्नुपर्नेछ। इतिहासका धेरै प्रसंग व्यवस्थित गर्नुपर्नेछ। धेरै घटनाक्रमलाई व्यवस्थित गर्नुपर्नेछ। समयनै निस्किरहेको छैन।