सुदूरपश्चिमको सभामुखमा बझाङबाट चुनाव जितेका माओवादीका भीम भण्डारी निर्वाचित भएका छन्।
पुस २८ गते भएको निर्वाचनमा एक मत बदर भएर बहुमत नपुगेपछि माघ ३ गतेको बैठकबाट भण्डारी बहुमतसहित सभामुख चुनिएका हुन्।
भण्डारीलाई माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक जना सांसदले मत दिएका हुन्।
उनको विपक्षमा नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४ र स्वतन्त्र एक जनाले मत दिएका थिए।
२०३८ साल जेठ ८ गते बझाङको केदास्यूँ गाउँपालिका–१ मा जन्मिएका भण्डारीको परिवार पञ्चायतकालदेखि नै राजनीतिमा थियो।
उनका परिवारबाट रणबहादुर भण्डारी तत्कालीन समयको प्रधानपञ्च भएका थिए।
उनका काका वीरेन्द्र भण्डारी लामो समय एमालेमा रहेका थिए। अहिले एकीकृत समाजवादीमा छन्।
परिवारकै सदस्य इन्द्र भण्डारी केदारस्युँ गाउँपालिकाको अध्यक्ष छन्।
सभामुख भण्डारीले बझाङमै स्कुले शिक्षा सकेर नेपालगञ्जबाट आइएस्सी गरे।
‘बझाङमै हुँदा २०५२ सालतिर एमालेनिकट विद्यार्थी संगठनबाट म राजनीतिमा आएँ,’ उनले भने।
स्नातक तहसम्मको अध्ययन सकेर उनी बझाङ फर्किए।
‘२०५८ सालतिर तत्कालीन समयमा सशस्त्र आन्दोलनमा रहेको माओवादीमा उनी समाहित भएर भूमिगत भए।
बझाङमा माओवादी आन्दोलनलाई जोगाइराख्न विशेष भूमिका उनको छ।
२०६४ पछि जिल्ला पार्टीको नेतृत्व गर्ने मौका उनले पाएका थिए। त्यसबेला तत्कालीन जिल्ला विकास समितिमा पार्टीको तर्फबाट उनले प्रतिनिधित्व पनि गरे।
राजनीतिक हिसाबले लामो समय जनताबीच रहेका भण्डारी अब प्रदेशको सभामुख बनेका छन्।
२०७४ मा संघीयताको जग बसाल्दै गर्दा भएको निर्वाचन र त्यसपछि बनेको प्रदेश सभामा पनि बझाङकै अर्जुनबहादुर थापा सभामुख थिए।
अहिले प्रदेश सभाको दोस्रो कार्याकालमा यसअघिका निर्णय कार्यान्वयन गर्नुपर्ने पहिलो जिम्मेवारी आएको छ।
राज्य शक्ति बाँडफाँटका हिसाबले हेर्दा प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख पद संवैधानिक तीन खम्बा हुन्। सभामुखलाई सबै दलको साझा पदको रूपमा पनि लिने गरिएको छ।
प्रदेशका नागरिकको चाहना, विकास र सोही अनुसारको निति निर्माणको दायित्व पनि अहिलेको प्रदेश सभामाथि आएको छ।
‘नयाँ गठन भएको प्रदेश सरकारलाई जनअपेक्षा अनुसार काम गराउनतिर पनि प्रदेश सरकारलाई निर्देशकको भूमिका खेल्नुपर्ने देखिएको छ,’उनले भने।