कमैया परिवारकी कोइलीदेवी चौधरी नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशको उपसभामुख बनेकी छन्।
सत्ता साझेदार दलहरू नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी उपसभामुखमा बहुमतका साथ मंगलबार निर्वाचित भएकी हुन्।
बुधबार उनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै पदभार पनि सम्हालेकी छन्।
एमालेको कैलाली जिल्ला कमिटीमा आबद्ध भएको २० वर्षपछि सांसद बनेर उपसभामुख बन्दा उनी दंग छिन्।
‘कमिटीमा लामो समयसम्म गरेको मेहनत अहिले पार्टीले मूल्यांकन गर्दा म खुसी छु, मलाई दिएको जिम्मेवारी इमान्दारले पूरा गर्नेछु,’ उनले भनिन्।
५५ वर्षीया चौधरी तत्कालीन समयमा कमैयाको परिवारमा जन्मेकी थिइन्।
उनका आमाबुबा दाङको जिमदारको हलिया भएर बस्दै आएका थिए।
दाङमा रैती हुनुपर्ने, तीकुर व्यवस्था भएका बेला कमैयाले उब्जनीको दुई भाग मालिकलाई दिनुपर्ने र एक भाग आफू खानुपर्ने चलन थियो।
त्यसरी खान नपुगेर उनको परिवार कञ्चनपुर सरेको थियो। बटैयामा काम गरेर साहु र कमैयाले आधा–आधा बाँड्ने चलन छ भन्ने सुनेर आमाबुबा कञ्चनपुरको देखतभुली सरेको चौधरीले बताइन्।
कञ्चनपुरमा पनि कमैया र बटैया गरेर उनीहरूको परिवार चल्थ्यो। कञ्चनपुरमा भने कमैया बसेपछि केही जमिन पनि बस्न र खेती गर्न दिने चलन थियो। उनी यतै हुर्केकी हुन्। कोइलीदेवीका छ दिदीबहिनीमा कसैले पनि स्कुल गएर पढ्न पाएनन्। कोइलीदेवीले पनि पढ्न पाइनन्। उनले पढ्ने समयमा साहुको घरमा गाई चराउनु पर्थ्यो।
‘पढ्छु भनेर स्कुलको चौरमा दिनभरि गाई चराएर बस्थें, तर पढ्न पाइनँ,’ उनले भनिन्।
घरको अवस्थाले कोइलीदेवीले पढ्न पाइनन्। उनी पनि मालिकको घरमा काम गर्न थालिन्।
एक जना शिक्षकको घरमा केटाकेटी हेरिदिने काम गर्न थालेपछि शिक्षकबाट उनले अक्षर चिन्ने अवसर पाएकी थिइन्।
अरूकै काम गरेर हुर्केकी कोइलीदेवी पछि बुबाले अलिकति जग्गा बनाएर जंगल फाँडेर बस्ने व्यवस्था मिलाउनतिर लागेका थिए।
उनीहरूले पनि अरूले जस्तै कटान बनाए र त्यसैमा बस्न थाले।
२०५१ सालको नापीमा उनीहरूको जमिन पनि पर्यो। अहिले पनि त्यहाँ उनका माइती कञ्चनपुरकै देखतभुलीमा बस्छन्। खान लाउनै नपुग्ने भएपछि आमाबुबाले कोइली देवीको १२ वर्षकै उमेरमा बिहे गरेर पठाइदिए।
उनी बिहे गरेर कञ्चनपुरको रैकवार विचवा आइन्। बिहेपछि कोइलीदेवीले थुप्रै पारिवारिक समस्या भोग्नुपर्यो।
‘सानैमा बिहे गरेँ, खान लाउन समस्या झेल्नुपर्याे, १६ वर्षको उमेरमा बच्चा भयो, म त भन्छु सानैमा कसैले पनि बिहे गर्नु हुँदैन, धेरै गाह्रो हुन्छ,’ उनले भनिन्।
कोइलीदेवीको राजनीतिक जीवन पनि बिहेपछि कञ्चनपुरबाटै सुरू भयो।
त्यसबेला महिलालाई राजनीतिमा नेतृत्व दिने चलन थिएन। खेतीपाती र अधियाँ गरी खाने कोइलीदेवीलाई २०५१ सालतिर एमालेका नेताहरूले महिला पनि राजनीतिमा आउनुपर्छ भनेर सहभागी गराएका थिए।
‘महिलाले सहभागी हुनुपर्याे भन्दै पार्टीमा आउनुपर्याे भने, त्यसपछि म संगठनमा लागें,’उनले भनिन्।
मतदाता र समाजलाई समेट्न महिला नभई हुँदैन भन्ने लागेर सायद आफूलाई खोज्दै आएका होलान् भन्ने चौधरीलाई अहिले पनि लाग्छ।
चौधरीको परिवारले खेतीपातीबाटै कैलालीको धनगढीको उर्मामा आठ कठ्ठा जमिन जोडे।
२०५१ सालको चुनावमा उनी मतदाताका रूपमा थिइन्। त्यसपछि उनी एमालेनिकट रहेर काम गर्न थालिन्।
२०५४ सालमा भएको स्थानीय निकायको चुनावमा उनी तत्कालीन उर्मा गाउँ विकास समितिमा वडा नम्बर ९ को सदस्यमा निर्वाचित भएकी थिइन्।
पार्टीले उनीमाथि विश्वास गरेर संकट कालका बेला गाविस संयन्त्रको जिम्मेवारी पार्टीका तर्फबाट उनैलाई दिइयो। पछि किसान संगठनको जिल्ला कमिटीमा उनलाई राखियो। केन्द्रीय कमिटीमा पनि पुर्याइयो।
उनले अब संगठनमा मात्रै नबस्ने र पार्टीको कमिटी पनि चाहियो भन्ने कुरा राखिन्।
पार्टीले पनि जिल्ला कमिटीमा उनको सहभागिता गराइदियो। पाँच कार्यकाल जिल्ला कमिटीमा रहेर उनले काम गरिन्।
‘अब पार्टीमा आउँछु भनेर जिल्ला कमिटीमा गएँ’, उनले भनिन्।
समाजबारे जानकारी लिन पाइने, बोल्न, बुझ्न पाइन थालेपछि उनलाई राजनीतिमा जम्न मन लाग्दै गयो।
उनले प्रौढ शिक्षा, साक्षर परियोजनाअन्तर्गत ९ महिने, ३ महिना थुप्रै कक्षा लिएकी छन्।
उनले पार्टीका विधान र केही नियम कानुनका किताब पनि पढेको बताइन्।
२० वर्षभन्दा बढी समय एमालेको कैलाली जिल्ला कमिटीसँग आबद्ध भएकी कोइलीदेवीलाई अहिले एमालेले समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभाको सदस्य बन्ने मौका दियो।
प्रदेश सांसद भएपछि पढ्न नपाएकाहरूका लागि स्कुल जाने वातावरण मिलाउन काम गर्ने सोच उनको छ।
‘मैले त पढ्न पाइनँ, मेरो जस्तो दु:ख अरूको नहोस् भनेर आफ्नोतर्फ पढ्न नसक्ने बालबालिकालाई सहयोग गर्छु’,उनले भनिन्।
उनका दुई छोरा र दुई छोरी छन्।
प्रदेश सभामा उपसभामुख भएपछि सो भूमिकामा निष्पक्ष भएर निर्वाह गर्ने उनको भनाइ छ।
पछिल्लो केही दिनदेखि धनगढीमा छोरीज्वाइँको घरमा बस्दै आएकी चौधरी अब उपसभामुखलाई दिइने आवासमा सर्ने तयारी गर्दैछिन्।