सहरी विकास मन्त्री विक्रम पाण्डेले सिक्टा सिँचाइ आयोजना नेपालकै सबैभन्दा गुणस्तरीय भएको दाबी गरेका छन्।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला चितवन आइपुगेका पाण्डेले राजनीतिक उद्देश्यले उक्त आयोजनालाई विषय बनाएर आफूमाथि मुद्दा लगाइएको दाबी गरे।
‘सिक्टा सिँचाइ नेपालकै सबैभन्दा राम्रो योजना हो। कसैको लहैलहैमा नलाग्नुस्, आफैं गएर हेनुस्। कहाँनेर त्यस्तो काम भयो,’ मन्त्री पाण्डेले भने, ‘ठूलो बाढी आएर पश्चिम नेपालमा धेरै कुरा ध्वस्त हुँदा ७ मिटर भत्किएको थियो साढे २ लाख रुपैयाँ खर्च गरेर त्यो सम्पन्न भयो। अहिले बाँकेका सबै किसानले यसकै माध्यमबाट ३ बाली, ४ बाली खेती गरेका छन्।’
उनले आफू मन्त्री हुनुभन्दा अघिदेखि नै सञ्चार माध्यमहरूले खेदिरहेको आरोप लगाए।
‘आयोजना सम्पन्न भएको १ वर्षसम्म निर्माण कम्पनीको जवाफदेहिता हुन्छ तर हस्तान्तरण भएको साढे ३ वर्षपछि कालिका कन्स्ट्रकसनमाथि मुद्दा लगाइयो। नहरको माटो भत्कियो भनियो। यस्तो धेरैतिर भएको छ, चितवनमै पनि मर्मत गरेर चलाएका उदाहरण छन्। तर मैले त अदालतबाट सफाइ पाइसकेको छु, यो विषय अहिले किन जोडियो?,’ पाण्डेले प्रश्न गरे।
सिक्टा सिँचाइ आयोजना अलपत्र पारेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्बभन्दा बढी बिगो र त्यति नै जरिवाना तथा २ वर्ष कैद मागदाबी गरेर मुद्दा दायर गरेको थियो।
विशेष अदालते उनीहरुलाई सफाइ दिएको थियो। मन्त्री पाण्डेले आफूमाथि स्वार्थ लाभ हुने मन्त्रालय लिएको भन्ने आरोप लागाइनुको अर्थ नबुझेको पनि बताए।
सबै कम्पनीबाट राजीनामा दिएको र धेरै वर्षदेखि राजनीतिमा सक्रिय भएको भन्दै पाण्डेले परिवारले गरेको व्यापारसँग जोडेर स्वार्थ बाझिन्छ भन्नुको अर्थ नहुने उनले बताए।
‘म मन्त्री बनेपछि मेरो परिवारले यससँग सम्बन्धित व्यापार गरेको पनि होइन। मलाई त्यसो गर्नु पनि छैन। मैले पहिले पनि दुई मन्त्रालय राम्ररी चलाएँ, अब त्यो भन्दा राम्रो चलाउँछु,’ उनले भने, ‘के काम गर्छ भनेर हेर्दै नहेरी स्वार्थ बाझियो भन्नु आश्चर्यको कुरो हो।’
उनले सहरी विकास मन्त्रालयलाई अहिलेसम्म चलेको भन्दा फरक तरिकाले चलाउने बताए। सबै जिल्लामा चलिरहेका, सुरु हुने क्रममा रहेका योजनाहरुलाई सशक्त तरिकाले र आजभन्दा फरक तरिकाले सञ्चालन गर्ने दाबी उनले गरे।
‘मैले चलाउँदा कसरी चल्दो रहेछ भनेर देखाउँछु। विक्रम पाण्डे काम गर्नका लागि आएको हो। जनताले आशा राखेर पठाएका छन् निरासा बनाउँदिनँ,’ उनले भने।
पाण्डेको कालिका कन्स्ट्रक्सनले देशमा विभिन्न स्थानमा जलविद्युत आयोजना, सिँचाइ, सडक निर्माणको काम गर्दै आएको छ। उनी गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।