सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले शुक्रबार पदभार ग्रहण गरेका छन्। बिहीबार नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाह र दुई मन्त्रीहरू; नरेश शाही र प्रकाश देउवाले शुक्रबार पदभार ग्रहण गरेका हुन्।
एकीकृत समाजवादीका नरेश शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन्। बाजुराको प्रदेश सभा १ बाट निर्वाचित शाहीले मन्त्री भएपछि प्रदेश सरकारप्रति आमजनतालाई विश्वास दिलाउने गरेर काम गर्ने बताएका छन्।
पूर्वाधार र सामाजिक क्षेत्रको विकास गर्ने योजना तथा कार्यक्रम ल्याउने उनले बताए।
'भौतिक पूर्वाधार र सामाजिक क्षेत्रको विकासका लागि नयाँ कार्यक्रम दिलाउने गरी काम गर्नेछु। मन्त्रीहरूले फाइल नै नहेरी हस्ताक्षर गर्ने चलन छ। म फाइलहरू अध्ययन गरेर मात्रै हस्ताक्षर गर्ने छु,' उनले भने।
शाही २०३८ जेठमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– ५ डेरामा जन्मेका हुन्। स्वर्गीय बुबा जयबहादुर शाही खेतीपातीको काम गर्थे। आमा नानकला शाही गृहिणी हुन्। गाउँकै भैरवनाथ निम्न माध्यमिक विद्यालयमा उनले कक्षा ७ सम्म पढे। स्वामीकार्तिक माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।
परिवारका चार बहिनी र दुई भाइमध्ये उनी मात्रै राजनीतिमा लागेका छन्। मामाघरतिर भने पञ्चायतकालदेखि राजनीतिक गतिविधिमा संलग्नता रह्यो। गाउँमा कम्युनिस्ट वातावरण बढेपछि राजनीतिमा मान्छेहरूको चासो बढेको थियो। शाही त्यही माहोलमा राजनीतिमा होमिएका थिए। स्कुले जीवनदेखि नै उनी विभिन्न कमिटीमा आवद्ध थिए।
२०५२ सालमा उनी युवा संघको गाउँ कमिटी अध्यक्ष भए। २०५४ सालमा जिल्लाको कमिटी सदस्य भए। युवा संघको गाउँ कमिटीदेखि जिल्ला हुँदै केन्द्रीय कमिटी सदस्य, सचिवालय सदस्य र अध्यक्ष भए। उनी हाल एकीकृत समाजवादी केन्द्रीय सदस्य हुन्।
त्यस्तै नेपाली कांग्रेसका सांसद प्रकाशबहादुर देउवा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्।
कैलाली–५ 'ख' बाट लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएर जितेका देउवाले राजनीतिमा युवाको प्रतिनिधित्व र मागअनुसार काम गर्न आएको बताए।
वर्षौंदेखि अलपत्र पुल-सडक लगायतका योजना सम्पन्न गर्न आफूले काम गर्ने उनले बताउँदै आएका छन्।
'अब मन्त्री भएपछि जनताले महशुस गर्न सक्ने गरी काम गर्नेछु,' देउवाले भने।
२०४० साल भदौ ५ गते कन्चनपुरको कृष्णपुरमा जन्मेका देउवाका बुबा स्वर्गीय ललितबहादुर देउवा सामान्य घरायसी काम गर्थे। स्वर्गीय आमा मोतीदेवी गृहिणी थिइन्। कृष्णपुरबाटै स्कुले पढाइ सकेर उनले धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसबाट प्रविणता तह उत्तीर्ण गरे। त्यसपछि काठमाडौंबाट व्यवस्थापन संकायमा स्नातकोत्तर सकेका हुन्।
देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाका भतिजा पनि हुन्। लामो समय कांग्रेस नेता आरजु राणा देउवाको सचिवालयमा रहेर समेत उनले काम गरेका छन्।
परिवारमै उच्च राजनीतिक व्यक्तित्वको साथ पाएर उनी नेपाली कांग्रेसप्रति आकर्षित भएका हुन्। आफू नेविसंघ हुँदै राजनीतिमा आएको उनी बताउँछन्।
देउवा अहिले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन्। चुनावपछि कांग्रेस संसदीय दलको नेतामा समेत दाबी गरेका देउवा अन्तमा कमल शाहलाई सर्वसम्मत मुख्यमन्त्री बनाउनेमा सहमत भएका थिए।
कमल शाह मुख्यमन्त्री भएपछि देउवा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा आएका हुन्।