राष्ट्रपति छान्न बिहीबार भएको निर्वाचनको मतगणना सुरू भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो ४ बजेदेखि मतगणना सुरू भएको हो।
मगणनाको अन्तिम परिणाम केही घन्टाभित्रै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।
बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको थियो।
संघीय सांसद र प्रदेश सभाका सांसदहरूले खसालेको मत फरक-फरक स्थानमा गणना भइरहेको छ।
गणनामा राष्ट्रपतिका उम्मेदवारका एक/एक जना गणना प्रतिनिधि छन्। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बसेका छन्।
निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।
आजको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सभा सदस्यले मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मतदान गरेनन्।
मतपरिणाम केही घन्टामै सार्वजनिक हुने र विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र दिइने आयोगले जनाएको छ।