राष्ट्रपति रामचन्द्र पौडेल गत शनिबार शितल निवासबाट बसन्तपुरस्थित कुमारीघर पुग्दा सडकमा सवारी साधन रोकिएनन्। नागरिकले घन्टौं जाममा बस्नु परेन।
यसअघिका राष्ट्रपति हिँड्दा सडक खाली गरेर सर्वसाधारणलाई हिँड्न पनि नदिने चलन नयाँ राष्ट्रपति आएसँगै बन्द भएकोमा धेरैले तारिफ गरे। कतिपयले भने यो अनौपचारिक कार्यक्रम भएकोले कारगेट प्रयोग नभएको आकलन गरे। आगामी दिन राष्ट्रपति पौडेल कसरी सडकमा निस्कन्छन् भन्ने हेर्न बाँकी रहेको धेरैको भनाइ थियो।
आज घोडेजात्राका अवसरमा राष्ट्रपति पौडेल शितल निवासबाट टुँडिखेल आउजाउ गर्दा पनि सडक खाली गराइएन। कुमारीघर आउँदा-जाँदाजस्तै अगुवा र पछुवा गाडीसहित उनी कार्यक्रममा आए र फर्किए।
फागुन २९ मा राष्ट्रपतिको शपथ लिएका पौडेलले दुई पटक शितल निवासबाट निस्कँदा अपनाएको तरिकालाई नै सरकारले अब कानुनी रूप दिने भएको छ। त्यसका लागि गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ परिमार्जन गरेर मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ।
मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत नेतृत्वमा कार्यविधि परिमार्जनको काम भइरहेको छ। राष्ट्रपति शितल निवासबाट बाहिरिँदा सडक खाली नगराइने गरी कार्यविधि परिमार्जन हुने भएको छ।
गृहले बनाएको कार्यविधि परिमार्जन समितिका संयोजक बस्नेत नेतृत्व टोलीले आइतबार राष्ट्रपति पौडेललाई भेटेर परामर्शसमेत गरिसकेको छ।
कार्यविधिमा विशिष्ट व्यक्तिको राजकीय, औपचारिक र कार्यालीय तथा निजी सवारीमा सडक खाली नगराइने गरी उल्लेख गरिएको छ। यो कार्यविधि गृहले केही दिनमै मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ।
‘कार्यविधि परिमार्जनबारे हामीले गर्दै गरेका कामबारे राष्ट्रपतिज्यूलाई जाहेर गरेका छौं। उहाँले पनि जनतालाई सहज हुने गरी र विगतको जस्तो राजकीय शानमानजस्तो अनावश्यक कुराहरू हटाउनू भनेर निर्देशन दिनुभएको छ,’ गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङले सेतोपाटीसँग भने, ‘अति विशिष्ट व्यक्तिहरूको राजकीय, औपचारिक, अनौपचारिक, निजीलगायत भ्रमणका सन्दर्भमा विगतमाजस्तो घन्टौं जाम नगर्ने गरी कार्यविधि ड्राफ्ट भएको छ।’
उनले कार्यविधि परिमार्जनको काम अन्तिम चरणमा पुगेको र मन्त्रिपरिषद बिस्तार हुन लागेकाले नयाँ गृहमन्त्री आएपछि एक चरण छलफल गरेर मन्त्रिपरिषदमा पठाइने बताए। गृहको कार्यविधि मन्त्रिपरिषदले पास गरेपछि परिमार्जित कार्यविधिअनुसार विशिष्ट व्यक्तिहरूको सवारी व्यवस्थापन मिलाइनेछ।
राष्ट्रपति पौडेलको सचिवालयमा प्रेस हेर्ने जिम्मेवारी पाएका खिला कार्कीले पनि विशिष्ट व्यक्तिहरूको कार्यविधि मन्त्रिपरिषदबाट पारित नहुँदासम्म राष्ट्रपतिको सवारी सामान्य हिसाबबाट हुने र कार्यविधि पासपछि सोहीअनुसार अघि बढ्ने बताए।
‘राष्ट्रपतिज्यूको सवारी सामान्य रूपमा भइरहेको छ। राष्ट्रपति शितल निवासबाट बाहिर आउजाउ गर्दा सडकमा सवारी जाम हुँदैन, जनतालाई सास्ती हुँदैन,’ उनले भने।
यसअघि गत माघ २७ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वीर अस्पतालका चिकित्सकलाई सडकमा हिँडेको भन्दै प्रहरीले कुटेको थियो। उक्त घटनाको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ मा परिमार्जन गर्ने सहमति गरेको थियो।
सवारीका बेला आमनागरिकले घन्टौं जाम र सास्ती भोग्नु पर्ने भएपछि राष्ट्रपतिको चुनावअघि पौडेलले आफू राष्ट्रपति भए यस्तो नहुने प्रतिवद्धता व्यक्त गरेका थिए।