राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिएकी छन्।
बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताइन्।
उनले सरकार गम्भीर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको बताइन्।
उनले पीडितको आवाज नसुनि प्रधानमन्त्री भने दैनिक झिनामसिना कार्यक्रमहरूको उद्घाटन र भाषणमै दिन बिताइरहेको बताइन्।
भट्टले वार्ता टोली गठन गरेर झारो मात्र नटार्न सरकारलाई आग्रह गरिन्।
समस्या समाधानको ठोस निर्णय गर्न सरकारसँग माग गरिन्।
उनले भनिन्,‘सरकार तथा सरोकारवाला निकाय समस्याप्रति गम्भीर नहुँदा मिटरब्याजीको हौसला बुलन्द छ भने पीडित आफ्ना पीडा दबाएर बस्न बाध्य छन्। तर सरकार मौन छ। सरकारका प्रमुख प्रधानमन्त्री दैनिकी झिनामसिना कार्यक्रम, उद्घाटन, मन्तव्य, भाषणमै बितिरहेको छ। लाग्छ यो देशमा गरिब, निमुखाको पीडालाई बुझिदिने कोही छैन। समस्या समाधानको नाममा वार्ता टोली गठन मात्र गर्ने, झारो मात्र टार्ने कार्य नहोस्। एउटा ठोस निर्णयमा पुगी पीडितहरूको माग सम्बोधन गर्न सरकारसँग माग गर्दछु।’
उनले बोल्न पाउने जनताको अधिकारलाई बेवास्ता गर्दै जनताको मुख थुनिएको भन्दै राणा शासन र राजतन्त्रको अवशेष बाँकी रहेको टिप्पणी गरिन्।
उनले विरोध गर्नेहरूको आवाजलाई दबाइएको भन्दै गणतन्त्र यही हो भनी प्रश्न समेत गरिन्।
उनले भनिन्,‘गणतन्त्र ल्यायौं। बोल्ने, विरोध गर्ने अधिकार पनि पायौं तर होइन रहेछ। यता त अहिले पनि राणा शासन र राजतन्त्रको अवशेष बाँकी नै रहेछ। केही दिन अगाडिको घटनाले त यही दर्शाउँछ। यहाँ विरोध गर्दा मुख थुनिन्छ। मुख चिथोरिन्छ। विरोधको आवाज दबाइन्छ। के यही हो त जनताले सहादत दिएर आफ्नो गणतन्त्र ल्याएको? सोचौं। विरोधीको पनि कुरा सुनौं। यो प्रजातन्त्रमा हरेकलाई आफ्ना कुरा भन्न र विरोध गर्ने अधिकार छ। अधिकारको सम्मान गरौं।’
उनले देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन्।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९, १२:४७:४०