आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। सोमबार उम्मेदवारी दर्ता गरेपछि उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय हुन थालेका छन्।
गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारी मतले जितेको क्षेत्र हो यो। त्यसअघि २०७० र २०७४ को निर्वाचनमा यहाँबाट नेकपा एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए।
यसपालि यस क्षेत्रमा २४ जनाले उम्मेदवारी दिएका छन्। उनीहरूमध्ये १२ जना राजनीतिक दलका र १२ जना स्वतन्त्र उम्मेदवार हुन्। उम्मेदवार धेरै भए पनि यहाँ प्रतिष्पर्धा तीन राजनीतिक दलको देखिन्छ। यो क्षेत्रमा रास्वपाका लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेबीच त्रिपक्षीय प्रतिष्पर्धा हुँदैछ।
मंगलबार सेतोपाटीसँग कुरा गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले उपनिर्वाचनबाट नेकपा एमालेले कमब्याक गर्ने दाबी गरेका छन्।
उनी नेकपा एमालेको मिसन ग्रासरूटको लागि चितवनका कमाण्डर हुन्। उनले पार्टीको मिसनमा करिब एक महिना खटिँदा जनतामा ठूलो परिवर्तन पाएको दाबी गरे।
बाँस्कोटाले परिवर्तन गर्छु भनेर आउने नयाँ पार्टी सर्त राखीराखी सत्तामा टाँसिएकोले यसपालि मतदाता आफ्नै पार्टीमा फर्कने दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता मोह र चितवनमा उपनिर्वाचन गर्नुपर्ने परिस्थितिका कारण जनताको मनस्थितिमा ठूलो परिवर्तन आएको उनले बताए। उनले यसपालि जनतामा परेको भ्रमलाई चिर्न सफल हुने दाबी गरे।
‘निर्वाचनको पाँच महिनामै किन उपचुनाव गर्नुपर्ने भयो? यसको दोषी को हो? कसले कसलाई किन ढाँट्यो? नैतिकताको प्रश्न गरौं त्यो काम सही हो?,’ उनले भने, ‘जनतालाई झूटा विवरण अरू पनि दिएका छन् कि प्रश्न उठेको छ।’
बाँस्कोटाले नयाँ शक्तिको उदय रातारात सम्भव नहुने दाबी गरे।
वितृष्णा रहर, लहड, कुण्ठा, आक्रोश, केही थान मान्छेले पाखुरा बझारेर उफ्रेको आधारमा नहुने बताउँदै उनले भने, ‘नयाँले परिवर्तन गर्छौं भनेर आउनेले नयाँ के परिवर्तन गरे त?’
उनले जनतालाई दिइएको भ्रम तोडेर सत्य बताउने काम भइरहेको बताए।
चितवन–२ को उपनिर्वाचन त्रिपक्षीय भिडन्त हुने दाबी बाँस्कोटाको छ।
उनले केही दिनअघि भएको स्ववियु निर्वाचनमा विद्यार्थी संगठनले ल्याएको परिणाम र कार्यकर्तामा देखिएको उत्साह त्यसको प्रमाण रहेको बताए।
‘अघिल्लो पटक किन हारियो, कमजोरी कहाँ थियो पत्ता लगाएका छौं। त्यसको उपचार अहिले चलिरहेको छ,’ उनले भने, ‘कार्यकर्तामा थप उत्साह भर्ने र मतदातालाई कन्भिन्स गर्ने काम भइरहेको छ। म पूरा विश्वास गर्छु, ठूलो परिवर्तन आएको छ। फाइनल टच गर्न बाँकी छ।’
उनले कांग्रेस र एमालेको अन्त गएको मत यसपालि पार्टीमै फर्कने दाबी गरे।
‘रिसाएर उता गए, कोही लोभले गए, कोही चमत्कार हेर्न गए। केही हुँदो रहेनछ भन्ने थाहा पाए। सत्ताको खेलमा लागे भन्ने पनि बुझे। कोही भगवान रहेनछन्, सबै मान्छे हुन् भन्ने थाहा भइसक्यो,’ बाँस्कोटाले भने, ‘चैतमा आउने प्रि मनसुन र हिमनदीको गति एउटै हुँदैन। यो क्षेत्रमा एमालेको संगठनात्मक आधार कमजोर छैन।’