वैशाख १० मा हुने प्रतिनिधिसभा उपनिर्वाचनको सरगर्मी चितवनमा सुरू भइसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले त उम्मेदवारी दर्ता हुनु अघि नै घरदैलो कार्यक्रम सुरू गरिसकेका थिए। लामिछाने गत मंसिरमा भएको चुनावमा फराकिलो मतान्तरले विजयी भएका उम्मेदवार हुन्। कांग्रेस र एमालेको भोट जोड्दा हुनेभन्दा १९,६३४ बढी भोट उनले ल्याएका थिए।
तर यसपालि नेपाली कांग्रेस र नेकपा एमाले पनि गएको चुनावमा रवि लामिछानेले तानेका आफ्ना भोट फर्काउन कसरत गरिरहेका छन्। एमालेले चुनावको कमाण्डर नेता गोकुल बाँस्कोटालाई बनाएर पठाइसकेको छ। उनी एकमहिना यता चितवनमै छन्। उम्मेदवारी दर्ताको दिन चितवन पुगेका कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र रूष्ट विभिन्न समूहलाई मनाएर परिचालन गरेका छन्। गएको चुनावमा चितवन कांग्रेसमा ठूलो मतभेद थियो। गएका दुई चुनावमा विद्रोह गरेका चितवनका प्रभावशाली नेताहरू केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गर्दै कांग्रेस उम्मेदवार श्रेष्ठलाई मतदान गर्न आग्रह गरेका छन्।
तर कांग्रेस र एमालेले गएको चुनावमा लामिछानेलाई गएको भोट फर्काउन सक्छन् कि सक्दैनन् भन्ने ठूलो प्रश्न भने छँदै छ। अघिल्लो चुनावमा लामिछानेलाई धेरै कांग्रेस एमालेकै कार्यकर्ताले भोट दिएका थिए। उनलाई भोट दिनेको कति ठूलो लर्को थियो भन्ने कुरा भरतपुर महानगर वडा नम्बर ३ र ११ लाई हेरे पुग्छ।
भरतपुर महानगरको वडा नम्बर ३ कांग्रेसको राम्रो प्रभावक्षेत्र मानिन्थ्यो। गएको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भने कांग्रेसले यहाँ वडाध्यक्ष पद गुमायो।
एमालेबाट निर्वाचित वडाध्यक्षले १६६६ भोट ल्याउँदा कांग्रेसका उम्मेदवारले १०४९ भोटमात्रै ल्याएका थिए। कांग्रेसबाट विद्रोह गरेका जगन्नाथ पौडेलले ६४८ भोट पाएका थिए।
स्थानीय निर्वाचन भएको करिब ६ महिनापछि भएको प्रतिनिधि सभाको निर्वाचनमा यो वडाका मतपेटिकामा कांग्रेस र एमालेको भोटको खडेरी नै पर्यो।
मंसिरमा भएको निर्वाचनमा यहाँबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४३३ र एमालेका कृष्णभक्त पोखरेलले ३२९ भोट ल्याए। रास्वपाका रवि लामिछानेले कांग्रेसलेभन्दा झण्डै ६ गुणा बढी (२४३८) भोट ल्याए।
एमालेले आफ्नो गढ मान्ने भरतपुर–११ बाट लामिछानेले एमालेका पोखरेलले भन्दा साढे ५ गुणाबढी भोट ल्याएका थिए।
कालिका नगरपालिकाका २ र इच्छाकामना गाउँपालिकाका ५ वटा वडामा मात्रै कांग्रेस र एमालेका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भन्दा बढी भोट पाएका थिए। ती वडामा मतदाता संख्या नै कम छ।
मंसिरको निर्वाचनमा कांग्रेसको साथमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरु सहभागी रहेको गठबन्धन नै थियो। एमालेले यो क्षेत्रमा दुई पटक निर्वाचित भइसकेका प्रभावशाली नेतालाई उम्मेदवार बनाएको थियो।
तर रवि लामिछानेप्रति उर्लिएका मतदाता सामु उनीहरूको जोर चलेन। लामिछानेले कांग्रेस र एमालेको भोट जोड्दा हुनेभन्दा १९६३४ बढी भोट ल्याएर चुनाव जिते। करिब ५ महिनापछि हुन लागेको उप–निर्वाचनमा कांग्रेस र एमाले आफ्ना कार्यकर्ता जोगाउन दौडधुप गरिरहेका छन्।
उनीहरू अघिल्लो पटक घण्टीमा भोट हालेका कार्यकर्ता तथा मतदातालाई फकाउनमा कसरत गरिरहेका छन्।
यसपटक यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेलाई नै उम्मेदवार बनाएको छ। कांग्रेसले पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठ र नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ। उनीहरू दुवै जना पहिलो पटक संघीय निर्वाचन क्षेत्रमा निर्वाचन लड्दैछन्।
कांग्रेसले उम्मेदवारी दर्ताको दिन पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई यहाँ खटाएको थियो। एमालेले पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटालाई यहाँ खटाएको छ। उनी करिब एक महिनादेखि चितवनमै छन्। लामिछानेको साथमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू पनि खटेका छन्।
पार्टीका उम्मेदवार श्रेष्ठको चुनावी अभियानका लागि चितवन आएका कांग्रेसका महामन्त्री शर्माले यसपटकको निर्वाचनमा कांग्रेस एक भएर जाने दाबी गरे। उनले विगतका तीता कुरा बिर्सिएर चितवनको कांग्रेस वैशाख १० का लागि एक ढिक्का भएर लाग्ने बताए। विमती, असन्तुष्टिहरुलाई सम्बोधन गर्न पार्टी तयार रहेको भन्दै उनले आगामी दिनमा त्यसलाई सम्हालेर जाने उद्घोष गरे।
‘मंसिरमा परिवर्तनको भोगका क्रममा मतदाताबाट आवेग व्यक्त भयो। हामी त्यसको आत्मसमीक्षा गर्छौं,’ महामन्त्री शर्माले भने, ‘चितवन चेतनाको केन्द्र, विचारको राजधानी हो। यहाँका मतदाताले अहिले भूगोल चिनेको उम्मेदवार पाएका छन्। आफ्नो समस्या बुझ्नसक्ने युवा उम्मेदवार पाएका छन्। अब मतदाताले आवेगलाई होइन विवेकलाई ध्यानमा राखेर मत व्यक्त गर्नुहुनेछ।’
कांग्रेसले जिल्लामा पार्टी कार्यकर्तामाझ राम्रो पकड रहेका पूर्वजिल्ला सभापति विकास कोइरालाको कारबाही केही दिनअघि फिर्ता लिएको छ। गत निर्वाचनअघि पार्टीको आधिकारिक कार्यक्रममा भन्दा कोइरालाले डाकेको कार्यक्रममा धेरै कार्यकर्ता भेला भएका थिए। उनको सक्रियताले पार्टीको भोट बढाउने आकलन कांग्रेस कार्यकर्ताहरू गर्छन्।
एक दशकअघि तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरूद्ध बागी उम्मेदवारी दिएपछि विकास कोइराला कारबाहीमा परेका थिए।
गत वैशाख र मंसिरको निर्वाचनमा पार्टी निर्णयविरूद्ध विद्रोह गरेका अन्य केही प्रभावशाली नेताहरूले पनि अहिले कांग्रेसलाई भोट हाल्न आह्वान गरेका छन्। १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका दिनेश कोइराला, कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ, महासमिति सदस्य मीना खरेलले संयुक्त बक्तव्य निकालेर कांग्रेसका उम्मेदवारलाई भोट हाल्न आह्वान गरेका छन्।
कोइरालाले मंसिरमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दाबी गरेका थिए। तर कांग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई यो क्षेत्रमा सहयोग गर्ने निर्णय गर्यो। यो निर्णयविरुद्ध कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गरे। उनलाई नेकपा एमालेले सहयोग गर्यो। तर पराजित भए। उम्मेदवारी फिर्ता नलिएपछि कोइरालालाई पार्टीले कारबाही गरेको थियो।
सापकोटा, श्रेष्ठ र खरेललाई वैशाखमा स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार जगन्नाथ पौडेललाई सघाएका कारण पार्टीले कारबाही गरेको थियो। उनीहरूले यसपाली कांग्रेसलाई सघाउन अपिल गरेपनि पौडेलले भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सहयोग गर्ने घोषणा गरेका छन्।
कांग्रेसका उम्मेदवार श्रेष्ठ असन्तुष्ट कार्यकर्तालाई फकाउने रणनीतिमा सक्रिय छन्। माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन अहिले पनि कांग्रेसको साथमा छ।
नेकपा एमालेभित्र पनि गुटको असर छ। पार्टीभित्र ओली पक्ष र दस बुँदे सहमतीपछि एमालेमा फर्किएको समूहको आ–आफ्नै प्रभाव छ। उपनिर्वाचनका लागि पार्टीलाई एक ढिक्का बनाउने प्रयास भइरहेको जिल्ला नेताहरू बताउँछन्।
‘हाम्रो प्रयास भनेको अघिल्लो पटक अन्यत्र भोट हालेका हाम्रा मतदातालाई फर्काउने हो। नारायणीमा बाढी आउँदा केही लेदोहरू बगेर गएका थिए। अहिले पानी फेरि सङ्लो भइसकेको छ,’ बाँस्कोटाले भने, ‘अघिल्लो पटक अर्को चिन्हमा भोट हाल्नेहरू यसपाली आफ्नै चिन्हमा फर्कँदै छन्।’
उनले पार्टीभित्र देखिएको असन्तुष्टिका स्वरहरूलाई कम गरेर गुमेको चितवन–२ फिर्ता गर्ने दाबी गरे। यो क्षेत्रबाट २०७० र २०७४ सालमा नेकपा एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए।
गएको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको भोटको आधारमा पनि यो क्षेत्रमा सबैभन्दा बढी प्रभाव नेकपा एमालेकै देखिएको थियो। यो निर्वाचन क्षेत्रको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा प्रमुख र उपप्रमुख पद पनि नेकपा एमालेले नै जितेको छ।
एमालेले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई यहाँको निर्वाचन कमाण्डर बनाएको छ। जिल्लाका अन्य क्षेत्रका नेता कार्यकर्ताहरू पनि आफ्नो उम्मेदवारको प्रचारमा सकृय देखिएका छन्।
एमालेका उम्मेदवार न्यौपानेले मतदाताले रवि लामिछानेलाई चिनिसकेकाले यसपालि पार्टी पुरानो अवस्थामा फर्कने दाबी गरे। पार्टीको अभियान मिसन ग्रासरूटले संगठनमा थप सुधार ल्याएको उनले बताए।
यी दुवै पार्टीले मतदातालाई चितवनमा कसको गल्तीका कारण उपनिर्वाचन हुँदैछ भन्ने कुरा हेक्का राखेर मतदान गर्न आह्वान गरेका छन्। उनीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको संगठननै नभएकाले आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने यसपाली आफ्नो साख जोगाउनु छ।
सहरी क्षेत्रमा पाएको भोटलाई कायम राख्दै पहाडी क्षेत्रमा पकड बढाउने रणनीतिमा रास्वपा छ। विगतमा जस्तै कांग्रेस र एमालेका मतदातालाई आफ्नो पक्षमा ल्याउन रास्वपाका कार्यकर्ता सक्रिय भएर लागेका छन्। उनीहरुले आफ्नो उम्मेदवार नभएका माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत दलका कार्यकर्ताहरुलाई पनि फकाएका छन्।
रास्वपाका उम्मेदवार लामिछानेले उम्मेदवारी दर्ता गर्नुभन्दा अघिबाटै निर्वाचन क्षेत्रमा घरदैलो अभियान सुरू गरेका थिए। उनले मंसिरमा विजयी भएपनि काम गरेर देखाउने अवसर नपाएकाले यसपालि अवसर दिन मतदातालाई आग्रह गरेका छन्।
लामिछानेले यसपालि भ्रष्टाचारको विषयलाई मुख्य मुद्दा बनाएका छन्। ‘गृहमन्त्री रहँदा मैले जुनसुकै समयको भ्रष्टाचारको फाइल खोलिदिन्छु भनेँ। यही कारण मलाई फसाउने प्रयास भइरहेको छ,’ चुनावी अभियानमा लामिछानेले भने, ‘यसपालि १ को बदला ३ जित्छौं। पाँच वर्षपछि दुई तिहाई जित्न सक्छौं।’ उनले जनताको चाहना पूरा गर्न, देशमा भ्रष्टाचार अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनावमा जिताउन आह्वान गर्ने गरेका छन्।
यस्ता छन् चुनौती
कांग्रेसको साथमा सत्ता गठबन्धनका अन्य दुई ठूला दल पनि छ। यो क्षेत्रमा माओवादी केन्द्रको प्रभाव राम्रै छ। एकीकृत समाजवादीको पनि सामान्य प्रभाव यहाँ छ।
मंसिरको निर्वाचनमा यहाँबाट समानुपातिकतर्फ माओवादीले ८४०७ भोट ल्याएको थियो। एकीकृत समाजवादीले ६१६ भोट ल्याएको थियो। कांग्रेसले ११९१४ भोट ल्याएको थियो। माओवादी र एकीकृत समाजवादीको भोट जोड्दा गठबन्धनको भोट करिब २१ हजार हुन्छ। तर अघिल्लो निर्वाचनलाई हेर्दा गठबन्धनको पुरै भोट तोकिएको उम्मेदवारलाई गएको देखिन्न।
यही क्षेत्रको प्रदेश सभा १ मा माओवादीका उम्मेदवार घनश्याम दाहाल पराजित भएका थिए। प्रदेश सभा दुईमा कांग्रेसका उत्तम जोशी विजयी भए। प्रदेश सभा १ मा समानुपातिकतर्फ कांग्रेस र माओवादीले पाएको मत जोड्दा एमालेले पाएको भन्दा बढी थियो। तर प्रत्यक्ष निर्वाचनमा भने एमालेका उम्मेदवार कृष्ण सिलवाल गठबन्धनका दाहालभन्दा १२३९ बढी भोट ल्याएर निर्वाचित भए। यो परिणामले उक्त निर्वाचनमा कांग्रेसले गठबन्धनको भोट एमालेलाई गएको देखाउँछ। प्रदेश सभा क्षेत्र २ मा भने कांग्रेसको जितमा माओवादीको भोट निर्णयक भएको देखिन्छ। कांग्रेसको सबै भोट पाएको भए गत निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले जित्ने थिए।
यो क्षेत्रमा माओवादी केन्द्रले समानुपातिकतर्फ १६०९० भोट ल्याएको थियो। कांग्रेसले १०५२४ र एकीकृत समाजवादीले १०८५ भोट ल्याएका थिए। यो सबै भोट जोड्दा गठबन्धनको भोट २७६९९ हुन्छ। तर प्रत्यक्षतर्फ माओवादीका उम्मेदवार अधिकारीले २५८२४ भोटमात्रै पाए। यो क्षेत्रमा कांग्रेसले आफ्नो मानेका धेरै मतदाताले समानुपातिकमा रास्वपालाई र प्रत्यक्षमा राप्रपाका विक्रम पाण्डेलाई भोट दिएको देखिन्छ।
राप्रपाले समानुपातिकमा १६७५५ मात्रै भोट ल्याएकोमा प्रत्यक्षमा पाण्डे ३५०६० भोट ल्याएर निर्वाचित भएका थिए।
माओवादी केन्द्रका कार्यकर्ताले गएको चुनावमा कांग्रेसका मतदाताले दिएको धोकाको बदला यो निर्वाचनमा लिन सक्छन्। स्थानीय नेता कार्यकर्तासँग कुराकानी देख्दा उनीहरू कांग्रेस उम्मेदवारलाई भोट हाल्न उत्साही भएको देखिन्न।
‘पार्टीले सहयोग गर्नु भनेकाले प्रचारमा हिँड्नु त परिहाल्यो तर कांग्रेसका उम्मेदवारले विगतमा हाम्रो पार्टी, पार्टीका अध्यक्षलाई लक्षित गरेर बोलेको सम्झिँदा भोट दिने अवस्था छैन,’ माओवादी केन्द्रका एक नेताले भने।
उनले गत निर्वाचनमा माओवादीले चितवन–२ मा कांग्रेसका उम्मेदवारलाई भोट दिएपनि कांग्रेसले ३ नम्बर क्षेत्रमा आफ्ना उम्मेदवारलाई भोट हाल्न कन्जुस्याईं गरेको गुनासो गरे। यसको फाइदा यसपालि रास्वपा र नेकपा एमालेले लिन सक्छन्।
यता एमालेलाई पनि पार्टी फुटको असर पर्न सक्छ। पार्टीभित्रको गुटको असर पनि निर्वाचनमा देखिन सक्छ। अघिल्लो निर्वाचनमा कृष्णभक्त पोखरेललाई पार्टीका हार्डलाइनरकै भोट नगएको उनी निकटका कार्यकर्ताहरु बताउँछन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको बेलामा पोखरेल अर्को कित्तामा थिए। उनले विघटनको विरुद्धमा अदालतमा बहसनै गरेका थिए।
त्यसपछि भएको पार्टी विभाजनअघि ओलीको कित्तामा आए पनि उनलाई ओली निकटका कार्यकर्ताले रूचाएका थिएनन्।
यसपालि उम्मेदवार बनेका न्यौपाने पार्टी अध्यक्ष ओलीका खास मान्छे हुन्। पार्टीभित्रको अर्को गुटले आन्तरिकरूपमा असहयोग गर्यो भने उनलाई अप्ठेरो पर्न सक्छ। संख्यामा थोरै भए पनि एकीकृत समाजवादीको भोटको असर एमालेलाई निर्वाचन परिणाममा पर्न सक्छ।
अघिल्लो निर्वाचन कांग्रेसका धेरै क्रियाशील सदस्यहरू रविको पक्षमा खुलेर लागेका थिए। निर्वाचन अघिको सर्वेक्षणमा हामीसँग एमालेका जिल्ला सदस्यहरूले रविलाई भोट हाल्ने बताएका थिए। उनीहरू पार्टीले कारबाही गरे सहन तयार रहेको बताउँथे। तर अहिले पहिले जसरी खुलेर उनको प्रचारमा लाग्ने अन्य पार्टीका क्रियाशील, संगठित सदस्यहरू कम छन्। तटस्थ मतदातामात्रैको साथले पहिले जति मत ल्याउन रविलाई सहज छैन।
पहिले चोक, चौतारोतिर रविको तारिफमात्रै बढी सुनिन्थ्यो। अन्य पार्टीका उम्मेदवारको आलोचना बढी सुनिन्थ्यो। तर यसपालि रविको तारिफसँगै आलोचना पनि सुनिन्छ। सामाजिक सञ्जालमा रविका कार्यकर्ता हावी देखिन्थे, अरू रक्षात्मक थिए। अहिले रविको आलोचना गर्नेलाई सम्झाउन उनका कार्यकर्तालाई हम्मे हुने गरेको छ। उनको नागरिकता, राहदानी विवाद र चुनाव जितेपछि सरकारमा जान देखाएको हतारोको कारण उनी पनि उस्तै रहेछन् भन्ने प्रश्न उठेको छ।
‘चुनावअघि उनीमाथि धेरै भरोसा थियो। तर जितेर गएपछि उनी पनि अरूभन्दा फरक हुन सकेनन्। उनी पनि उस्तै हुन् भने त आफ्नै पार्टीका उम्मेदवारलाई भोट दिँदा पनि भैहाल्यो,’ अघिल्लो निर्वाचनमा रविको पक्षमा खुलेर लागेकी भरतपुर–७ की एक कांग्रेस क्रियाशील सदस्यले भनिन्, ‘आखिर जुन जोगी आएपनि कानै चिरेका त रहेछन्।’