भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धीले एउटा अदालतले उनलाई सुनाएको दुई वर्ष जेल सजायविरूद्ध दिएको पुनरावेदन खारेज भएको छ।
गुजरातको सुरत अदालतले बिहीबार उनले दिएको पुनरावेदन खारेज हुने निर्णय सुनाएको टाइम्स अफ इन्डियाले जनाएको छ।
एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो।
गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।
एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए।
सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको थियो भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको थियो।
उच्च अदालतले उनको पुनरावेदन खारेज गरिदिएपछि गान्धीलाई धक्का लागेको छ।
अदालतले दुई वर्षको जेल सजाय सुनाएसँगै लोकसभा सचिवालयले उनको सांसद पद निलम्बन गरेको छ।
कंग्रेसका नेता जयराम रमेशले पुनरावेदन खारेज भएपछि आफूहरूले उपलब्ध अरू सबै कानुनी उपाय अपनाउने बताएका छन्।