चितवनको इच्छाकामना गाउँपालिकाबाट मंसिरमा भन्दा १३८३ बढी भोट ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले भरतपुर महानगरपालिकाका दुई वटा वडामा पनि पहिलेभन्दा बढी भोट ल्याएका छन्।
ठिमुरा, रामनगर, देवघाट र नारायणगढ बजारको केही क्षेत्रलाई समेट्ने यो वडाबाट लामिछानेले २२१० भोट पाएका छन्। यहाँबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ४८३ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ३१७ भोट ल्याएका छन्। गत मंसिरमा यो वडाबाट लामिछानेले २०५६, गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठले ७१७ र एमालेका कृष्णभक्त पोखरेलले ४५२ भोट ल्याएका थिए। मंसिरमा श्रेष्ठ र पोखरेलले पाएको मतमध्ये केही अहिले लामिछानेले पाएका छन्।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो वडाबाट गठबन्धनका उम्मेदवारले १३९७ र नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले १३१३ भोट ल्याएका थिए।
वडा नम्बर २ मा लामिछानेले मंसिरमा भन्दा १५७ बढी भोट पाए। यहाँबाट उनले ३५६२ भोट पाएका छन्। एमालेका न्यौपानेले ४९३ र कांग्रेसका श्रेष्ठले ४८० भोट ल्याएका छन्।
मंसिरमा यो वडाबाट लामिछानेले ३४०५, एमालेका पोखरेलले ७१२ र कांग्रेसका श्रेष्ठले ६८४ भोट ल्याएका थिए। यो वडामा आँपटारी, क्षेत्रपुर र नारायणगढ बजार पर्छन्।
वडा नम्बर ३ मा लामिछानेले मंसिरमा भन्दा २८ भोट कम पाएका छन्। यो वडामा न्यौपानेले मंसिरमा पोखरेलले पाएको भन्दा ११३ कम र श्रेष्ठले पहिले उमेश श्रेष्ठले पाएको भन्दा ४६ कम भोट पाए। यो वडामा पूर्व–पश्चिम राजमार्गदेखि पश्चिमतर्फको नारायणगढ बजारको भाग पर्छ।
रास्वपाका लामिछाने मंसिरको निर्वाचनमा इच्छाकामना गाउँपालिकामा तेस्रो भएका थिए।
उनले एमालेका पोखरेलले भन्दा ६४८ भोट कम पाएका थिए। इच्छाकामना ७ वडामध्ये ४ वडामा रास्वपा तेस्रो भएको थियो। एउटा वडामा दोस्रो र दुई वटा वडामा पहिलो भएको थियो।
लामिछानेले यो गाउँपालिकामा एमालेका न्यौपानेले भन्दा १८१४ बढी (४३५८ भोट) ल्याएका छन्। यहाँबाट एमालेका न्यौपानेले गत निर्वाचनमा आफ्नै पार्टीका पोखरेललेभन्दा १०७९ कम (२५४४) भोट पाए। कांग्रेसका जितनारायण श्रेष्ठले मंसिरमा उमेश श्रेष्ठले पाएको भन्दा १०११ कम (२२०५ भोट) पाए।
अहिले पाँच वटा वडामा लामिछानेले फराकिलो अग्रता बनाएका छन्। दुइटा वडामा एमालेका न्यौपानेले बढी भोट ल्याएका छन्। न्यौपानेले दुई वटा वडामा धेरै भोट ल्याए पनि त्यो मंसिरमा पोखरेलले ल्याएको भन्दा कम हो।
मंसिरमा ८७ भोट मात्रै ल्याएको वडा नम्बर १ बाट लामिछानेले अहिले ३१९ भोट ल्याए। पहिले १७३ भोट ल्याएको वडा नम्बर ३ बाट अहिले उनले ३३७ भोट ल्याए।
अहिलेसम्म लामिछानेले १२५४०, न्यौपानेले ३५७३ र श्रेष्ठले ३५५५ मत प्राप्त गरेका छन्।