एमाले नेता खगराज अधिकारी खरो अभिव्यक्ति दिने परिचय बनाएका नेता हुन्। राजनीतिक कार्यक्रमहरूमा मात्र होइन, अन्तर्वार्ता र सदनमा प्रस्तुत हुँदा पनि उनी खरो उत्रिन्छन्। विपक्षीलाई देखी सहँदैनन्।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कांग्रेस नेता सुरेन्द्र पाण्डेले मंगलबार प्रदेश सभामा विश्वासको मत मागे। उनले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदहरूले आ–आफ्ना राय राखिरहेका थिए।
कांग्रेस सांसद महेन्द्रध्वज जिसी, राप्रपाका पञ्चराम गुरूङ र माओवादीका हरिबहादुर चुमानले आफ्ना धारणा राखे।
त्यसपछि सभामुख कृष्ण धितालले सांसद खगराज अधिकारीलाई छलफलमा भाग लिन समय दिए। अधिकारी रोष्टममा पुगेर स्यानिटाइजर मगाए। मर्यादापालकले ल्याइदिएपछि माइकमा छर्किन लगाए। कोभिड–१९ महामारी आएपछि पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारी माइकमा स्यानिटाइजर छर्केर मात्र भाषण गर्ने गरेका छन्।
स्यानिटाइजर छर्किएको माइकमा अधिकारीले सुरूमै सभामुखलाई प्रहार गरे।
'म यहीँबाट सच्याउन चाहन्छु, को त्यहाँ (सभामुखको बायाँतर्फ) हुन्छ, सभामुखज्यूलाई मनपर्छ कि पर्दैन, त्यसमा धेरै जरूरी राख्न पर्दैन। म मान्य सदस्य मात्र होइन, संवैधानिक हैसियतले विपक्षी दलको नेता हो, त्यति भन्न पनि सभामुखज्यूले सक्नुभएन,' अधिकारीले भने।
अधिकारी बोल्नुअघि बोलेका माओवादी संसदीय दलका नेता चुमान र राप्रपा संसदीय दलका नेता गुरूङलाई पनि सभामुखले सांसदका हैसियतमा मुख्यमन्त्रीको प्रस्तावउपर छलफल गर्न समय दिएका थिए।
अधिकारीले आफूलाई प्रमुख विपक्षी दलको नेता नभनेकोमा जनाएको आपत्ति यत्तिमै सीमित रहेन।
उनले भने, 'हामी कस्तो परम्परा सुरू गर्दैछौं? कस्तो संसदीय अभ्यास गर्दैछौं? हामी आग्रहबाट मुक्त हुन सक्छौं या सक्दैनौं?'
गण्डकीमा १०५ दिन मुख्यमन्त्री बनेर प्रमुख विपक्षी दलको नेता बन्न पुगेका थिए अधिकारी। उनलाई कांग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डेले सत्ताबाट विस्थापित गरिदिएका थिए। केन्द्र सरकारमा गठबन्धन परिवर्तन हुँदाको चोट गण्डकीमा अधिकारीले पनि पाएका थिए।
सभामुखको आलोचना गर्ने क्रममा एमाले गण्डकी संसदीय दलका नेतासमेत रहेका अधिकारीले संसदीय व्यवस्था ल्याउन आफूले ठूलो त्याग, तपस्या र बलिदान दिएको बताए।
सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, 'हामी व्यवहारबाट सावित गर्न सक्छौं। सक्दैनौं भने कुण्ठा नपालौं। संकीर्णताको साँघुरोमा नबसौं।'
यता, सभामुख धितालले मंगलबार मात्र नभई प्रदेश सभा स्थापना भएपछि हालसम्म प्रमुख प्रतिपक्षी दलको नेता भनेर सम्बोधन नभएको बताए।
'मैले पहिला पनि प्रतिपक्षी दलको नता भनौं भनेर सभामुखले संसद सञ्चालन गर्न तयार पारेको पत्रमा लेखौं भनेर सुझाएको थिएँ,' उनले भने।
तर संसद सञ्चालन गर्न तयार परिने पत्रमा यसअघि विपक्षी दलका नेतालाई सभामुखले सम्बोधन गरेर समय दिएको रेकर्ड नभएको उक्त पत्र तयार पार्ने कर्मचारीले बताएको उनले सुनाए।
'यसअघि यस्तो अभ्यास भएको थिएन, अघिल्लो कार्यकालमा पनि नभएको रहेछ,' उनले भने, 'यसअघिको विपक्षी नेता सुरेन्द्र पाण्डे र मुख्यमन्त्री अधिकारीले पनि यसबारे कुनै चासो राख्नुभएको थिएन।'