धनुषाको मिथिला नगरपालिका क्षेत्रमा पर्ने औरही खोलाबाट गत सातको एक दिन कम्तीमा एक दर्जन टिपर धमाधम बालुवा–गिट्टी ओसार्दै थिए। पूर्व–पश्चिम राजमार्गबाट दुई किलोमिटर दक्षिणसम्म पाँच वटा स्काभेटर बालुवा निकाल्दै थिए।
क्रसर व्यवसायी तथा स्थानीयबासी केही व्यक्तिहरूले ठूला उपकरण प्रयोग गरेर १५ फिटसम्म गहिरो खनेर बालुवा र रोडा अर्थात गिट्टी निकाल्ने गरेका छन्।
नगरपालिकाले अहिलेसम्म खोलो ठेक्का लगाएको छैन। जबकी खोला/नदीबाट नदीजन्य पदार्थ निकाल्न नगरपालिकाले अनुमति दिनुपर्ने नियम छ। नगरपालिकाले मापदण्ड अनुरूप नदीजन्य पदार्थ निकाल्न ठेक्का दिएपछि मात्र उत्खनन् गर्न पाइन्छ।
ठेक्काबिनै क्रसर व्यवसायी र केही व्यक्तिले अनियन्त्रितरूपमा बालुवा र गिट्टी निकालेर खोलाको निकै ठूलो क्षेत्र पोखरीजस्तो बनाएका छन्। खोलामा पसेका स्काभेटर, लोडर र टिपर देख्न नजिकै पुग्नु पर्छ।
खोला नै पोखरी जस्तो बन्ने गरी अवैध उत्खनन् भइरहँदा पनि मिथिला नगरपालिका कार्यालय आँखा चिम्लेर बसेको छ। उत्खनन् भइरहेको ठाउँ नजिकैको बस्ती श्रीपुरका बासिन्दा पनि मौन छन्।
जनप्रतिनिधि र प्रहरी प्रशासनले पनि नदेखेझैं गरेका छन्।
उत्खनन् भइरहेको यही ठाउँमा विरोध जनाउँदा २०७६ पुस २५ गते ओमप्रकाश महतो (दिलीप) को वीभत्स हत्या भएको थियो। त्यो घटनापछि केही दिन सुनसान भए पनि फेरि सुरू भएको उत्खनन् निर्वाध चलिरहेको छ।
दिलीपको हत्या भएयता खोलाको मामिलामा आसपासका बासिन्दाहरू मौन रहने गरेका छन्। खोलाको कुरा आउँदा बासिन्दाहरूको मनमा डर उत्पन्न हुन्छ।
औरही खोलामा भइरहेको अनियन्त्रित उत्खनन् र अवैध क्रसरको विषयमा सेतोपाटी संवाददताले श्रीपुर र नक्टाझिझका २५ जना बासिन्दासँग कुरा गरेकोमा धेरैले आफ्नो नाम समाचारमा नलेखाउने शर्त राखे।
कुरा गरेका मध्ये केहीले बालुवा–गिट्टीका विषयमा आफ्नो भनाइ केही पनि नरहेको बताए। केहीले आफ्नो कुरा त भने तर नाम भने बताउन मानेनन्। नाम बताएकाले पनि समाचरमा नलेख्न आग्रह गरे।
खोला उधिनेर बालुवा–गिट्टी ओसारेको दृश्य आसपासका बासिन्दाका लागि सामान्य भएको छ। उनीहरूका अनुसार रातभर बालुवा–गिट्टी निकाल्ने काम हुन्छ।
राति नै दर्जनौं टिपरले श्रीपुर, लालभित्ती र हरिहरपुर हुँदै ओसार्छन्। राति बाँकी रहेको दिउँसै पनि ओसार्छन्।
‘दिउँसो धेरै खन्दैनन्। राति आठ बजेदेखि बिहानसम्म खनेर बालुवा–गिट्टी निकाल्छन्। राति नै ओसार्छन्। रातभर खोला खनेको र टिपर चलेको आवाज आइराख्छ,’ श्रीपुरका एक बासिन्दाले भने, ‘यहाँ जनप्रतिनिधि र प्रहरी प्रशासनको मिलेमतोमै सबै भइरहेको छ।’
उनका अनुसार कहिलेकाहीँ प्रहरी आउँछ तर त्यस बेला खोलमा कोही पनि हुँदैन। कहिलेकाहीँ एकदुई जना पक्राउ पनि पर्ने गरेका छन् तर भोलिपल्टै रिहा हुन्छन्।
मिथिला नगरपालिकाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, २०७८ अनुसार बढीमा २ फिट ४ इन्च मात्र खनेर बालुवा निकाल्न अनुमति दिन सकिन्छ। किनारबाट कम्तीमा ७० मिटर परमात्र खन्नुपर्छ।
हाल उत्खनन् भइरहेका केही ठाउँ किनारबाट मुस्किलले २० मिटर पर छन्। केही ठाउँमा त किनारबाट १० मिटरमै पनि खनिएको छ।
श्रीपुरका किसानहरू बाढी आउँदा खेत बगाउने त्रासमा छन्।
‘बालुवा–गिट्टीले जनप्रतिनिधि र प्रहरीका मान्छे धनी भए,’ श्रीपुरका एक किसान भन्छन्, ‘अलिक ठूलो बाढी आयो भने खोला नजिकको सबै खेत बगाउँछ।’
औरही खोलामा श्रीपुर र नक्टाझिझ टोलका बीचमा मात्र ६ वटा क्रसर छन्। त्यहीँ बालुवा निकालिन्छ।
ढुंगा, गिट्टी र बालुवा संकलन, उत्खनन् तथा बिक्री वितरण व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७७ अनुसार घना बस्तीबाट उत्खनन्को दूरी दुई किलोमिटर हुनुपर्छ।
नक्टाझिझ र दिनाभद्री टोलबाट दुई सय मिटरमै क्रसर उद्योग चलेका छन्। रातभर चल्ने टिपर र उद्योगबाट आउने आवाजले सुत्न नसकेको नक्टाझिझका एक बासिन्दाले बताउँछन्।
उनले भने, ‘राति त आवाजले त घरै उडाएर लान्छ जस्तो हुन्छ। हामीले वडाध्यक्ष, मेयर र प्रहरीलाई धेरै पटक भन्यौं। अब त थाकिसक्यौँ।’
नक्टाझिझका एक बासिन्दाले खोलामा गुण्डाराज चलेको अनुभूति भएको बताए। उनले भने, ‘खोलामा क्रसरवालाहरूले आतंक मच्चाएका छन्। विरोधमा बोल्ने आँट कसैको छैन्। बोल्नेको हालत दिलीपको जस्तै हुने डर छ।’
उनले पनि जनप्रतिनिधि र प्रहरी क्रसर व्यवसायीसँग मिलेको आरोप लगाए।
‘ठेक्का भएको छैन तर खोलो खनेका खन्यै छन्,’ उनको प्रश्न छ, ‘मिलेमतो नभई ठेक्काबिना कसरी खोलो खन्दैछन्?’
तर सरकारी निकाय भने एकअर्कालाई दोष दिएर पन्छिन्छन्।
मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार नगरपालिकाले टेन्डर आह्वान गर्दा फारम भर्न कोही पनि आएन।
नगरपालिकाले ठेक्का नलागेकाले खोला खन्न रोक लगाएको भनेको छ। महतोले प्रहरीकै मिलेमतोमा तस्करले खोलामा आतंक मच्चाएका आरोप लगाए।
‘राति बढी उत्खनन् हुन्छ। सुरक्षा निकाय जानु पर्ने हो। राति प्रहरी जाँदैन। फोन गर्दा पनि जाँदैन। प्रहरीले चासो देखाउँदैन,’ उनले भने, ‘एउटा घटना (दिलीपको हत्या) भइसकेको छ। फेरि घटना भयो भने कसले जिम्मा लिने?’
आफूहरूले जिल्ला समन्वय समितिका प्रमुख र जिल्लाका प्रहरी उपरीक्षक (एसपी) लाई पनि खोला देखाएको बताए। हालै फेरि एसपीलाई भेटेर कुरा गरेको पनि बताए।
‘प्रहरी हामीलाई दोष नलगाइदिनू भन्छ,’ महतोको प्रश्न छ, ‘सुरक्षाको जिम्मा लिएर बसेको प्रहरीले हेरेन भने कसले हेर्छ? प्रहरीको मिलेमतो नभई कसरी खोलो यति धेरै खनिन्छ?’
उनले स्थिति विकराल रहेको पनि बताए।
मिथिला नगरपालिकाका सबै क्रसर उद्योग अवैध रहेको मेयरको भनाइ छ। उनका अनुसार कुनैले पनि मापदण्ड पूरा गरेका छैनन्। दर्ता गर्ने निकायले मापदण्ड वास्ता नगरी दर्ता गरिदिएको छ।
गाउँका कतिपय व्यक्तिहरू भने क्रसर व्यवसायीसँग मेयरको पनि मिलेमतो रहेको आरोप लगाउँछन्। उनीहरूका अनुसार मेयरले अमानतमा उत्खनन् गर्न अनुमति दिएका छन्।
एक प्रहरी अधिकारीले औरही खोलाबाट नगरपालिकाले आम्दानी गर्ने गरेको बताए।
यस सम्बन्धमा जिज्ञासा राख्दा मेयर महतोले चालु आर्थिक वर्षमा ठेक्का नलागेको र गत आर्थिक वर्षमा उत्खनन् गरेर थुपारेको बालुवा–गिट्टीमात्र उठाउन अनुमति दिएको बताए।
महतोले व्यवसायीसँग आफ्नो मिलेमतो छ भन्ने आरोप अस्वीकार गरे।
अवैध उत्खनन् नियन्त्रणका विषयमा प्रहरी र नगरपालिका बीच टकराव छ।
खोला उत्खनन्मा तस्करसँग साँठगाँठ रहेको आरोप खेपिरहेका जिल्लामा प्रहरी प्रमुख एसपी विश्वराज खड्काले पनि आरोप अस्वीकार गरे। उनले उत्खनन् नियन्त्रण गर्ने जिम्मेवारी नगरपालिकाको रहेको बताए।
‘नगरपालिकाले अमानतमा खोला खन्न लगाउने, उत्खनन् भएको चिजबाट राजस्व लिने अनि प्रहरीलाई दोष दिने?’ प्रश्न गर्दै, एसपी खड्काले भने, 'खोलामा प्रहरी बिट छैन। राति दुई जना प्रहरी जान सक्दैनन्। नगर प्रहरीले हेर्नुपर्छ।’
प्रहरीले आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गरेको उनको दाबी छ।
नगर प्रहरीले हेर्नुपर्ने एसपी खड्काको भनाइमा मेयर महतोले असहमति जनाए। उनले भने, ‘नगर प्रहरीसँग हतियार हुँदैन। कसरी नियन्त्रण हुन्छ प्रहरी प्रशासनलाई नै सोध्नू।’
खोला नजिकका बासिन्दा बाढीले निम्त्याउन सक्ने त्रासमा छन्। ठेक्काबिनै अनियन्त्रित रूपमा खोलो खनेको खन्यै छ। कसले, कहिले नियन्त्रण गर्छ, जवाफ कतै भेटिँदैन।