जनकपुरमा मधेश आन्दोलनका क्रममा भत्काइएको आदिकवि भानुभक्त आचार्यको शालिक पुनर्निर्माण सुरू भएपछि विवाद उत्पन्न भएको छ।
यही वैशाख १६ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह शालिक पुनर्निर्माणको शिलान्यास गर्न पुगेपछि जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका नेता–कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका थिए।
विरोध प्रदर्शन हुँदै गर्दा प्रहरी तैनाथ गरेर मेयर साहले जगको इटा राखेका थिए।
जसपा र लोसपाले शालिक बन्न नदिने अडान लिएपछि निर्माण कार्य स्थगित छ। शालिक निर्माणस्थलमा मेयर साहविरूद्ध दिनहुँ नाराबाजी हुने गरेको छ।
मेयर साहका अनुसार शालिक निर्माणका लागि सर्वदलीय बैठकबाट सहमति खोज्ने प्रयास हुँदैछ। पटकपटक बैठक भए पनि सहमति भने जुट्न सकेको छैन।
शालिक निर्माणस्थल भानुचोकको बीच सडकमा खाल्डो खनेर छोडिएको छ।
२०६३ सालको मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले यहाँ रहेको भानुभक्तको शालिक तोडेर ‘भानुचोक’ को साटो मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोको नाममा ‘रमेशचोक’ नाम राखेका थिए।
उनीहरूले शालिकको भग्नावशेषमा ‘रमेशचोक’ लेखेका थिए।
मधेश आन्दोलनपछि भानुभक्तको शालिक रहेको ठाउँमा रमेश महतोको शालिक बनाएर औपचारिक रूपमा ‘रमेशचोक’ नाम राख्न माग हुँदै आएको थियो।
२०७२ सालको भूकम्पमा थप क्षति पुगेको शालिकको भग्नावशेष त्यही सालको अर्को आन्दोलनका क्रममा भत्काइएको थियो। त्यसयता भानुभक्त र रमेश दुवैका बारेमा स्थानीय समाज मौन थियो। शालिक तोडफोड भएको १७ वर्षपछि अचानक भानुभक्तकै शालिक पुनर्निर्माणको योजना बनेपछि विवाद उपन्न भएको हो।
कसरी बन्यो त पुनर्निर्माणको योजना?
जनकपुरधामका मेयर साहका अनुसार उनी निर्वाचित भएर आएपछि विश्व हिन्दु परिषदका विभिन्न संगठनहरूले भानुभक्तको शालिक पुनर्निर्माणको माग गरे।
‘विश्व हिन्दु परिषदका आठ वटा अलाइन्स (घटक) ले हामीलाई भानुभक्तको शालिक बनाइदिन ज्ञापनपत्र बुझाए। हामीले बोर्ड बैठकमा प्रस्ताव प्रस्तुत गर्यौं,’ मेयर साहले भने, ‘बोर्डबाट प्रस्ताव पारित भएपछि नगर सभाबाट बजेट छुट्यायौं।’
भानुभक्तको शालिक पुनर्निर्माणका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ। भानुभक्तले संस्कृत भाषाको रामायण नेपाली भाषामा भावानुवाद गरेर हिन्दुको उपकार गरेकाले शालिक पुनर्निर्माण गर्नुपर्ने ती संगठनहरूको तर्क छ।
शालिक पुनर्निर्माणका लागि आफूहरूले एक वर्षअघिदेखि पहल गरेको विश्व हिन्दु परिषद्, धनुषाका अध्यक्ष सन्तोष साहले बताए।
मेयर साहले पहिले भानुभक्तको शालिक रहेकै स्थानमा पुनर्स्थापन गर्न लागेको बताए।
‘यहाँ पहिले पनि भानुचोक थियो अहिले पनि हुनुपर्छ। भानुभक्तको स्मारक बन्नुपर्छ। यसो गर्दा सद्भाव बढ्छ। पर्यटन बढ्छ, व्यापार पनि बढ्छ,’ मेयर साहले भने, ‘शहीदको विशेष सम्मानका लागि उपमहानगरपालिकाले शहीद गेट निर्माण गरेको छ। त्यहाँ सबै शहीदको प्रतिमा छ। शहीदको सम्मानमा थप काम गर्न उपमहानगर तयार छ।’
भानुभक्तले नेपाली भाषामा रामायण लेखेपछि सीताका बारे देशले थाहा पाएको उनको तर्क छ।
भानुभक्तको शालिक पुनर्निर्माण सम्बन्धमा जनकपुरधामका बासिन्दा विभाजित देखिन्छन्। कोही भानुभक्तकै शालिक राख्नुपर्ने पक्षमा छन् भने कोही रमेशको शालिक राखेर चोक उनकै नाममा हुनुपर्ने पक्षमा छन्।
भानुचोकमा होटल रहेका व्यवसायी पारसनाथ प्रसाद साह भानुभक्तकै शालिक पुनर्स्थापन गर्नुपर्ने बताउँछन्।
‘उनी (भानुभक्त) विद्वान थिए, कवि थिए। जनकपुरको बारेमा रामायणमा लेखेका छन्। यहाँ उनकै शालिक बनाउनुपर्छ,’ उनी भन्छन्, ‘रमेश महतोको शालिक अर्को ठाउँमा बनाउनुपर्छ। त्यो ठाउँलाई उनको नाममा नामकरण गर्नुपर्छ।’
जनकपुरकै बासिन्दा जीतेन्द्र यादव भने फेरि भानुभक्तको शालिक बनाइए मधेश आन्दोलन र शहीदको अपमान हुने बताउँछन्।
उनी भन्छन्, ‘भानुभक्त सम्मानित कवि थिए तर उनको शालिक जनकपुरमा निरंकुशता र राजतन्त्रको प्रतीकस्वरूप बनाइएको थियो। फेरि राजतन्त्र ल्याउन उनको शालिक बनाउन खोजिँदै छ।’
शालिकका नाममा भित्रभित्र ठूलो षड्यन्त्र भएको उनको धारणा छ।
चेतावनी दिँदै उनले भने, ‘मधेश आन्दोलनले यहाँबाट उखेलेर फालिसकेको चिज (भानुभक्तको शालिक) हामी स्वीकार्दैनौं। जबर्जस्ती भयो भने फेरि तोडेर फालिन्छ। यहाँ रमेश महतोकै शालिक बन्नुपर्छ।’
मधेश आन्दोलनमा भएको सहादतकै बलमा मधेशीले अधिकार पाएकाले शहीदको सम्मान हुनुपर्ने उनको भनाइ छ।
उनले प्रश्न गरे, ‘भानुभक्तको शालिक अन्त छँदैछ, यहीँ किन बनाउनुपर्यो? काठमाडौंमा कसैले रमेशको शालिक बनाउन दिन्छ?’
मेयर साहका अनुसार भानुभक्तको शालिक पुनर्स्थापनाका विषयमा गत विवाह पञ्चमीका अवसरमा बृहत्तर जनकपुर परिषदमा सर्वपक्षीय छलफल भएको थियो।
उक्त छलफलमा जसपा, लोसपा लगायतका दलहरूले सहमति जनाएको तर निर्माणको क्रममा अनावश्यक विवाद झिकेको मेयर साहको भनाइ छ।
केही दिनअघि उपमहानगरपालिकामा भएको सर्वदलीय बैठकमा पनि ती दलका नेताहरू भानुभक्तको शालिक बनाउन सहमत देखिएको उनले बताए।
जसपा र लोसपाका नेताहरूले मेयरले भनेका दुबै बैठकमा भानुभक्तको शालिकबारे छलफल नभएको जिकिर गरे। त्यस्तो सहमति वा निर्णय भएको लिखत देखाउन लोसपा नेता परमेश्वर साहले चुनौती दिए।
उनले मधेश आन्दोलनले २०६३ सालमै ‘भानुचोक’ को सट्टा ‘रमेशचोक’ नाम रखेको र अब त्यसमा कुनै फेरबदल हुन नसक्ने बताए। भानुभक्तको शालिक राखेर राजतन्त्र फर्काउने प्रयास भएको उनको आरोप छ।
प्रदेशसभाका पूर्वसदस्य समेत रहेका साहले निरंकुश राजतन्त्र र ‘औपनिवेशिक’ शासनको प्रतीक स्वरूप त्यो समय भानुभक्तको शालिक बनाइएको तर्क गरे।
‘आन्दोलनबाट भएको परिवर्तन हामी सबैले स्वीकार गर्यौं। एकात्मक शासन प्रणालीबाट संघीय प्रणाली स्थापना गर्यौं,’ उनले भने, ‘आन्दोलनको समयमा रमेश महतोको शालिक बनाउने जनताको म्यान्डेट थियो।’
परिवर्तन स्वीकार नगर्ने यथास्थितिवादीहरूले फेरि भानुभक्तकै शालिक राख्न चाहेको उनको ठहर छ।
‘मधेश आन्दोलनबाट प्राप्त उपलब्धि सबैलाई चाहिने तर आन्दोलनका शहीदको शालिक बनाउन नदिने?’ प्रश्न गर्दै उनले भने, ‘आन्दोलनबाट जे प्राप्त भएको छ त्यसलाई स्वीकार गर्न सक्नुपर्छ।’
भानुभक्तको शालिकको आवरणमा संघीय लोकतान्त्रिक गणतन्त्र हटाएर राजाको शासन ल्याउने प्रपञ्च हामीलाई स्वीकार्य नभएको उनले बताए।
उनले भानुभक्तले एकै भाषा र एकै भेषको कुरा गरेको र उनी पहिचानविरोधी रहेको आरोप लगाए।
‘विद्यापति र मधेशका अन्य विद्वान एवं स्रष्टाको शालिक काठमाडौंमा किन नबनाएको?’ साहको प्रश्न छ, ‘भानुभक्तको ठाउँमा अष्टाबक्र, गाग्री, मैत्रीय पनि थिए उनीहरूको शालिक किन बनाइएन?’
भानुचोक नामकरण हुनुअघि उक्त चोकको नाम ‘खुकुरी चोक’ थियो।
खुकुरीचोक नाम पनि खास पृष्ठभूमिमा रहेको थियो।
जानकारहरूका अनुसार भानुचोकमा पहाडि समुदायको बाक्लो बसोबास थियो। युवाहरू रक्सी खाएर झैझगडा गर्थे।
‘यहाँ रक्सी पसलहरू थिए। रक्सी खाएर सधैं झैझगडा हुन्थ्यो। खुकुरी हानाहान हुन्थ्यो अनि चोक नाम नै खुकुरीचोक भयो,’ जनकपुरको इतिहासका जानकार रोशन जनकपुरीले भने, ‘पछि यो चोकको छवि सुधार गर्ने कुरा उठ्यो। त्यो बेलाको साहित्यिक गतिविधि र भानुभक्तले रामायण अनुवाद गरेका आधारमा उनको शालिक राखेर भानुचोक भनियो।’
पञ्चायतकालमा २०४० सालको आसपास ‘जनकपुर नगर पञ्चायत’ ले भानुभक्तको शालिक राखेर भानुचोक नामकरण गरेको थियो।
जनकपुरीले भानुभक्तको शालिक पुनर्स्थापन हुनु उचित हुने बताए। उनका अनुसार अब बन्ने शालिक सद्भावको हुनेछ।
‘राजा महेन्द्रको समयमा नेपाली भाषा, शाहवंशीय संस्कृति र त्यही अनुसारको राष्ट्रियता खडा गर्न भानुभक्तलाई प्रतीक बनाइएको थियो,’ जनकपुरीले भने, ‘मधेश आन्दोलमा महेन्द्रीय राष्ट्रवादसँग जोडिएका सबै प्रतीकप्रति आक्रोश थियो। भानुभक्तको शालिक भत्काइयो। पहिलेको शालिक दासत्ववाला थियो, अब सद्भाववाला बन्नुपर्छ।’
पहिले भानुभक्तको शालिक निर्माण हुँदा साहित्यकार एवं विश्लेषक डा. राजेन्द्र विमल पनि निर्माण समितिमा सदस्य थिए। उनी पनि भानुभक्तको शालिक पुनर्स्थापन हुनुपर्ने पक्षमा छन्।
‘कुनै बेला एउटा समुदायको आक्रोश दबिएको थियो। त्यो कुनै न कुनै रूपमा निक्लनु थियो, मधेश आन्दोलनमा निस्कयो। आवेशमा आएर आन्दोलनकारीले शालिक तोडफोड गरे। रोक्न जाँदा मलाई पनि एक जनाले थप्पड लगाइदिए,’ उनले भने, ‘भानुभक्तले रामायणमा जनकपुरको गाथा गाएका छन्। शालिक बनाउनुपर्छ। यसबाट राष्ट्रिय एकतामा मद्दत पुग्छ।’
उनका विचारमा भानुभक्तको शालिक बन्दा जनकपुरको आन्तरिक पर्यटन विकासमा पनि मद्दत पुग्छ। जनकपुरका मान्छे पहाडी समुदायलाई देख्न चाहँदैनन् भन्ने धारणामा पनि सुधार हुन्छ।
उनका अनुसार पहिले पनि भानुभक्तको शालिक बनाउने बेला पनि केही विरोध भएको थियो तर त्यो समयमा विरोधको प्रभाव परेन।
मधेशको राजनीति नजिकबाट नियालिरहेका राकेश मिश्रको धारणा केही फरक छ। उनले भानुभक्त र रमेश महतो कसैको पनि शालिक राख्न आवश्यक छैन।
‘जनकपुरमा अरू धेरै मुद्दा छन्। त्यसलाई किनारामा पारेर अचानक शालिक पुनर्निर्माण थालेर मुर्दा उखेलिएको छ। यहाँ शालिक बनाउनुको कुनै तुक छैन,’ मिश्र भन्छन्, ‘शालिकको आवरणमा उपनिवेश, राजतन्त्र र हिन्दुवाद स्थापना गर्न खोजिएको छ।’
उनले मधेशवादी दलले शहीदको कुरा निकालेर राजनीति गर्न खोजेको आरोप पनि लगाए।
उनले भने, ‘यहाँ सडक साँघुरो छ, सवारीको चाप धेरै छ। सडकमा कसैको शालिक बनाउन जरूरी देखिँदैन।’
चोकको नाम भने मधेश आन्दोलनको भावनाअनुसार राख्नुपर्ने उनको धारणा छ। औपनिवेशिक शासन थोपर्ने क्रममा भानुभक्तको शालिक निर्माण गरिएकाले पुनर्निर्माण आवश्यक छैन।