नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणसँगै पक्राउ परेका उनका सहयोगी नरेन्द्र केसी पेसाले शिक्षक हुन्।
उनी अहिले पनि चितवनको भरतपुर महानगरपालिका-१९ शारदा माविका प्रधानाध्यापक हुन्।
विद्यालय स्रोतका अनुसार केसी २०७८ जेठमा प्रधानाध्यापक नियुक्त भएका थिए। उनी सामाजिक विषय पढाउँछन्।
त्यसअघि उनी विद्यालय निरीक्षक थिए।
प्रधानाध्यापक भएको एक महिनामै पढाउन छोडेर उनी बालकृष्ण खाणको पिए हुन काठमाडौं आएका थिए।
काज मिलाएर खाणको सचिवालयमा आएका केसी उनी गृहमन्त्री छउञ्जेल विद्यालयमा गएनन्। गत पुसमा खाण गृहमन्त्रीबाट हटे। माघमा मात्रै केसी भरतपुरको विद्यालयमा पुगे।
गत वैशाख २४ गते उनी दुर्घटनाका कारण आफूले काम गर्न नसक्ने भन्दै विद्यालयमा विदा मिलाएर काठमाडौं आएका थिए।
‘साइन पनि गर्न नसक्ने भएँ भनेर जानुभएको हो। आज पक्राउ परेको भन्ने समाचार सुन्यौं,’ विद्यालय स्रोतले भन्यो।
खाणसँग केसीको घनिष्ठ सम्बन्ध थियो चितवन कांग्रेसका एक नेताका अनुसार खाण मन्त्री भएबाटै उनी खाणको सचिवालयमा छन्।
‘पहिले विद्यालय निरीक्षक हुँदा अनि पछि शिक्षक हुँदा पनि। किन खाणले केसीलाई नै रोज्छन् भन्ने कुरा पहिलादेखि नै मलाई रहस्यपूर्ण लाग्थ्यो,’ चितवन कांग्रेसका एक नेताले भने।
यो प्रकरणमा केसीले पीडितसँग पैसा लिएको प्रमाण भेटेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो।
यही प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले आफ्नो बयानमा खाणका पिए केसीले पैसा लिएको बयान दिएका दिएका थिए। सबै कुराको दोष आफू लिने वा खाणको निर्देशनमा आफूसमेत संलग्न भएर गरेका कर्तुतहरूमा पूर्वगृहमन्त्रीलाई पनि पोल्ने भन्ने निर्णयमा पुग्न पाण्डेलाई केही समय लागेको थियो। अन्तत: उनले खाणको निर्देशन र संलग्नतामा आफूले काम गरेको बयान दिएका छन्।
सचिव पाण्डेलाई पक्राउ गर्न जाँदा प्रहरीले उनको फोन बरामद गरेको थियो। अनुसन्धान अघि बढाउन उक्त फोनले ठूलो सहयोग पुग्यो। प्रहरीले फोनबाट मेटिएका विवरण उकास्न फरेन्सिक प्रयोगशालामा पठाएको थियो।
फोनबाट ‘रिट्रिभ’ गरिएका (उकासिएका) विवरणमा नक्कली भुटानी शरणार्थी प्रकरण अघि बढाउने गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी लगायतसँग सचिव पाण्डेले पटक-पटक गरेका कुराकानीका साथै अन्य सामग्री पनि थिए।
कुराकानीमा पाण्डेसहितले करोडौं रकमको लेनदेन गरेको प्रमाण भेटिएको छ। त्यसरी लेनदेन गर्नमा खाणका पिए केसीको पनि ठूलो भूमिका देखिएको प्रहरी स्रोत बताउँछ।
सम्बन्धित समाचारहरू: भाग्न सक्ने आशंकामा प्रहरीले ‘जरूरी पुर्जी’ थमाएर पक्राउ गरेको थियो खाणलाई
ब्रेकिङ: पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ
पूर्वगृहमन्त्री खाणलाई पक्राउ गर्ने निष्कर्षमा किन पुग्यो प्रहरी