नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशको नगरपालिका चुनावमा सत्तारूढ भारतीय जनता पार्टीले १७ वटै पालिकामा मेयर जितेको छ।
टाइम्स अफ इन्डियाका अनुसार भाजपाले सबै नगर निगममा मेयर जितेको हो।
उत्तर प्रदेशमा राजधानी लखनऊसहित अयोध्या, बनारस, गाजियावाद, बरेली, अलिगढ, कानपुर, मिरूत, झाँसी, प्रयागराज, गोरखपुर, आगरा, मथुरा, मोरदावाद, सहारानपुर, फिरोजवाद, साहजहानपुर नगर निगम छन्।
उत्तर प्रदेशमा भाजपाका योगी आदित्यनाथ मुख्यमन्त्री छन्। यो चुनावमा क्रममा उनले प्रदेशव्यापी चुनावी अभियान गरेका थिए। उनले १२ दिनमा ५० वटा सभालाई सम्बोधन गरेका थिए।
नगरपरिषद्को मेयरसँग नगरपालिका परिषद् र नगर पञ्चायतमा पनि भाजपाले उल्लेख्य सिट जित्ने देखिएको छ।
यसपालि भाजपाले नगरपालिकाको चुनावमा सबै मेयर जितेको मात्र छैन, उसका उम्मेदवारहरूले पाएको भोट प्रतिशत पनि बढेको छ। चार वटा पालिकामा मेयर जित्नेले ५० प्रतिशतभन्दा बढी मत पाएका छन् भने बाँकी १३ वटामा पनि भाजपा उम्मेदवारको मत ४५ प्रतिशतभन्दा बढी छ।
दक्षिण राज्य कर्नाटकाको विधान सभामा लज्जास्पद हार व्यहोरेकै दिन उत्तर प्रदेशको स्थानीय चुनावमा पाएको यो सफलताले भाजपालाई राहत भएको छ।
पढ्नुस्: कर्नाटकामा कंग्रेस आईलाई पूर्ण बहुमत
नगर निगममा क्लिन स्विप गरेपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भाजपाका प्रतिवद्ध कार्यकर्ताका कारण यो ऐतिहासिक नतिजा आएको बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो जितलाई सानदार विजयको संज्ञा दिएका छन्।
उनले ट्विटरमा लेखेका छन्- निकाय चुनावको यो सानदार विजयका लागि भाजपा उत्तर प्रदेश कमिटीका सबै कार्यकर्ता र उम्मेदवारलाई धेरै धेरै बधाई। यो सफलताले योगी आदित्यनाथजीको नेतृत्वमा प्रदेशमा भइरहेको अभूतपूर्व विकासलाई हरेक नागरिकले गरेको समर्थनलाई व्यक्त गर्दछ।