केही दिनदेखि प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहँदै आएकी नेपाली कांग्रेसकी सांसद मञ्जु खाण आज संसद बैठकमा उपस्थित भएकी छन्।
खाणले बोल्न गत वैशाख २७ गते नाम टिपाए पनि उक्त दिन उनी प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहेकी थिइन्।
वैशाख २७ मा उनका श्रीमानसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको थियो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा खाणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।
बालकृष्ण पक्राउ परेसँगै मन्जु सार्वजनिक रूपमा नदेखिँदा अनेक कोणबाट चर्चा भइरहेका थिए। कतिपयले उनी स्वदेशमा नरहेको दाबीसमेत गरेका थिए।
‘मेरी छोरीलाई कतिपय मिडिया र आफूलाई विश्लेषक भन्नेहरूले अष्ट्रेलिया भागेको भनेका थिए तर ऊ त मसँगै कुपण्डोलको घरमा बसिरहेकी छ,’ मञ्जुका बुवा क्षेत्रबहादुर निरौलाले सेतोपाटीसँग भने।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएको थियो।
सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिन्छ।
प्रहरी उच्च स्रोतका अनुसार उक्त अडिओ प्रहरीलाई पीडितले जाहेरी बुझाउँदा नै बुझाएको थियो र त्यसमा अनुसन्धान जारी छ। स्रोतका अनुसार ३० मिनेट लामो अडिओ प्रहरीसँग छ।
अर्की सांसद आरजु राणाले उक्त अडिओ फेक बनाइएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।