लामो रस्साकस्सीपछि सुदूरपश्चिम सरकारको मन्त्रिमण्डल विस्तार भएको छ।
जसअन्तरगत माओवादीबाट दुई मन्त्री, एकजना राज्यमन्त्री र कांग्रेसबाट एक मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नवनियुक्त मन्त्रीहरूले भ्याएसम्म प्रदेशको अवस्थामा सुधार ल्याउने बताएका छन्।
मन्त्रीमा नियुक्त भएका तीन जना मन्त्रीहरूले यस प्रदेशमा भोगिरहेका समस्याहरूलाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
को हुन् सुदूरपश्चिम सरकारमा नियुक्त भएका तीन जना मन्त्रीहरू?
रमेशसिंह धामी – उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री
मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट कैलाली क्षेत्र नम्बर ५ को (१) बाट चुनाव जितेका रमेशसिंह धामी सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्।
२०३८ साल कात्तिक २३ गते दार्चुलाको साविकको धापा गाउँ विकास समिति– ३ बाजमा धामी जन्मेका हुन्। धामीका बुबा धुकुड सिंह धामी र आमा विरमा देवी धामीका कान्छा छोरा हुन्। उनले माध्यमिक शिक्षा मालिकार्जुन माध्यमिक विद्यालयबाट पूरा गरे। उनले २०५४ सालबाट अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीतिमा प्रवेश गरे।
२०५६ सालमा कैलाली बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटी हुँदै २०५७ सालमा अनेरास्ववियुबाट सदस्य पदको उम्मेदवार भएका थिए। २०५८ सालमा उनी अनेरास्ववियु छाडेर अखिल क्रान्तिकारीमा समाहित भए।
माओवादी पार्टीमा आवद्ध हुँदै २०५९ मा स्नातक दोस्रो वर्षको परिक्षा नदिँदै उनले भुमिगत हुनपर्याे।
२०६१ सालमा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष भएका थिए। त्यसपछि पार्टीको जिल्ला सदस्य हुँदै धनगढी नगरपालिकाको इन्चार्जको भूमिका निर्वाह गर्दै पार्टीको योजनासँगै जनमुक्ति सेनाको फर्मेसनमा आवद्ध हुँदै स्पेसल टास्क फोर्समा जिम्मेवारी सम्हालेको उनले बताए।
२०६२/६३ को जनआन्दोलनसँगै शान्ती प्रक्रियामा महत्वपूर्ण निर्वाह गर्नुपर्ने भएकाले सेना फर्मेसनबाट बिदा भएर पार्टी जीवनमा फर्केका थिए।
२०६४ सालमा थारूवान राज्य समितिको सदस्य हुँदै पुन: विद्यार्थीको केन्द्रीय सचिवको भएर काम गरे।
हाल उनी नेकपा माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यको काम गर्दै आएका छन्।
उनी २०७४ सालको प्रदेश सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ को २ बाट निर्वाचनमा सहभागी भएका थिए।त्यसबेला उनी नेपाली कांग्रेसका डिल्ली पन्तसँग पराजित भएका थिए।
२०७९ को निर्वाचनमा भने कैलाली क्षेत्र नम्बर ५ को १बाट नेकपा एमालेका नेपाल चौधरीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।
मन्त्री भएपछि जनताले भोगिरहेको समस्या समाधानलाई प्राथमिकता दिएर काम गर्ने उनले बताए।
‘उद्योग पर्यटन क्षेत्रमा मेरो क्षेत्रअधिकार भित्र परेका कामहरू म प्राथमिकताका साथ पुरा गर्नेछु,’ उनले भने।
झपट साउद सामाजिक विकास मन्त्री
अछाम क्षेत्र नम्बर १ को (२)बाट निर्वाचित सांसद झपटबहादुर साउद सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकासमन्त्री नियुक्त भएका छन्।
२०३७ असार २४ गते साविकको भाटाकाटिया गाउँ विकास समिति –६ मा उनी जन्मेका हुन्।
बुवा विरबहादुर साउद र आमा भिर्की देवी साउदका माइला छोरा हुन्। उनले २०५४ सालमा महेन्द्र माध्यमिक विद्यालय बयालपाटा माध्यमिक शिक्षा अध्ययनको क्रममा अखिल क्रान्तिकारीको सदस्यबाट राजनीतिकमा जीवन सुरू गरेका थिए।
२०५५ सालमा वाइसिएलको वैधानिक टोल कमिटीको अध्यक्ष भएर काम गरे।
२०५६ साल कात्तिक २३ गते पूर्णकालीन टोल कमिटी अध्यक्ष भएर पार्टीमा आवद्ध भए।
२०५७ सालमा भाटाकटेनी सेल सेक्रेटरीको जिम्मेवारी पाए। त्यसपछि २०५८ देखि अखिल क्रान्तिकारी अछामको अध्यक्ष हुँदै दुई कार्यकालको जिम्मेवारी पूरा गरेको उनले बताए।
२०५९ सालमा अछाम, कालिकोट र बाजुराको जिल्ला इन्चार्जको जिम्मेवारी पनि सम्हालेका थिए।
यस्तै, २०६१ साल माघ १९ गते तत्कालीन समयमा संकटकालको घोषणा भएका बेला पार्टीले नारायणी र बागमती अञ्चलको संयोजकको जिम्मेवारी उनलाई दिएको थियो। त्यसपछि त्यति बेला उनी पार्टीले क्षेत्रीय ब्युरो सदस्य थिए। २०६३ सालमा सेती महाकाली संयोजक भएर पार्टीका गतिविधिलाई अगाडि बढाएको थियो।
उनी २०६४ सालमा संविधान सभा सदस्यको निर्वाचनमा उनी उम्मेदवार बनेका थिए। त्यसबेला उनी पराजित भए।
२०७३ सालमा पार्टीले अछाम जिल्ला संयोजक जिम्मेवारी दियो। २०७५ मा नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर त्यसबेला बनेको नेकपापछि अछाम जिल्ला सचिवको जिम्मा दिइयो। फेरि पार्टी अलग भएपछि पुरानै जिम्मेवारी पाएका थिए।
२०७९ सालको निर्वाचनमा अछाम जिल्ला क्षेत्र नम्बर १ को (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
साधनस्रोतले भ्याएसम्म प्रदेशको अवस्थामा सुधार ल्याउने गर्ने गरी काम गर्ने उनको भनाइ छ।
‘सुदूरपश्चिम सरकारको स्रोत साधानले भ्याएअनुसार विकासका गतिविधिलाई अगाडि बढाउनेछु,’ उनले भने।
पुथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानून मन्त्रालय
बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन्।
२०१५ साल माघ १७ गते बझाङको तत्कालीन लुयाटामा बुबा मानबहादुर सिंह र आमा तारादेवी सिंहका कोखबाट उनको जन्म भएको हो। पाण्डु प्राथमिक विद्यालय र घचाया प्राथमिक विद्यालय हुँदै सत्यवादी माध्यमिक विद्यालयबाट उनले एसएलसी पूरा गरेका थिए।
उनले बीएल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पुरा गरेका छन्। सिंहले कानुनकै विद्यार्थी भएकाले प्रदेशको हित हुने नीति निर्माणमा जोड दिने बताए।
२०३१ सालमा एसएलसी सकेर नेविसंघमा उनी आवद्ध भएका थिए।
उनी नेपालगन्ज हुँदा २०३५ सालतिर महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि भएका थिए।
त्यसैबेला उनी नेविसंघको जिल्ला कार्यसमिति सचिव बने। २०४९ सालमा उनी तत्कालीन लुयाटा गाउँविकास समितिको अध्यक्ष समेत भएका थिए।
२०५४ अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका मन्त्री सिंह २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिको उम्मेदवार भए, तर हारे।
त्यसपछि १२ वर्ष नेपाली कांग्रेस बझाङको सभापतिमा तीन कार्यकाल जिम्मेवारी बहन गरे।
पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै अहिले महासमिति सदस्य रहेका सिंहले २०७४ सालमा बझाङबाटै प्रतिनिधि सभा सदस्य पदको चुनाव लडेपनि हारेका थिए।
२०७९ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका सिंहले बझाङको विकासका लागि आवाज उठाउँदै आएको बताए।
‘सरकारमा सहभागी भएपछि जिल्लावासीलाई धन्यवाद दिन्छु, प्रदेशको हित हुनेगरि काम गर्नेछु,’ उनले भने।