पोखरा महानगरका मेयर धनराज आचार्यले पुस्तकालय मासेर झण्डा पार्क बनाउनका लागि लायन्स क्लब इन्टरनेशनललाई अनुमति दिन एकल निर्णय गरेको पाइएको छ।
महेन्द्रपुलस्थित पोखरा सार्वजनिक पुस्तकालय भवन भत्काएर झण्डा पार्क बनाउने भनेर महानगरको ८ औं कार्यपालिका बैठकले निर्णय गरेको थियो। गत पुष १९ गते बसेको कार्यपालिका बैठकले पुस्तकालय भवन भएको ठाउँमा महानगर आफैँले झण्डा पार्क बनाउने निर्णय गरे थियो। उक्त बैठकले लायन्स क्लबलाई झण्डा पार्क बनाउन दिने उल्लेख गरेको छैन।
तर क्लबले अहिले पुस्तकालय भत्काएको ठाउँमा झण्डा पार्क बनाइरहेको छ।
लायन्स क्लबका गर्भनर विमल बस्यालले झण्डा पार्क बनाउने विषयमा मेयरसँग कुरा भएको तर कुनै लिखित संझौता नभएको बताए।
‘लायन्स क्लब र मेयरसाबसँग बैठक बसेर झण्डा पार्क बनाउने सहमति भएको थियो, संझौता भएको छैन,’ उनले भने, ‘मेयरको योजनामा हामीले पनि सहयोग गरौं भनेर पार्क बनाउने जिम्मा लिएका हौं ।’
पुस्तकालयमा संग्रहित पुस्तक क्षेत्री समाजको भवनमा लगेर राखिएको छ। जहाँ १२ हजार भन्दा बढी पुस्तक संग्रहित छन्। अर्को पुस्तकालय भवन बनाउने भन्दै मेयर आचार्यले आलफ्नै नेतृत्वमा महेन्द्रपुलको पुस्तकालय भवनमा डोजर लगाएका थिए।
झण्डा पार्क रहेको स्थानमा पर्ने पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लायन्स क्बलसँग संझौता भएनभएको आफुलाई थाहा नभएको बताए।
झण्डा पार्क बनाउन क्लबले ७० लाख रुपैया खर्च गर्दैछ। शिक्षा, स्वास्थ्य, पार्क निर्माण लगायतमा क्लबले सहयोग गर्दै आएको उनले बताए। झण्डा पार्क बनाउन पोखरामा रहेका लायन्स क्लबका ५ वटा डिष्ट्रिकले स्रोत जुटाएको गर्भनर बस्यालले बताए।
महेन्द्रपुलमा झण्डा पार्क बनेपछि पोखराको पर्यटन प्रवर्द्धन हुने मेयर आचार्यले बताउँदै आएका छन्। पोखरा आउने विदेशी पर्यटक आ–आफ्नो देशको झण्डामुनि बसेर फोटो खिच्ने उनको अपेक्षा छ। तर उनको यस योजनाको सर्वत्र विरोध भइरहेको छ।
पोखरा महानगरका एक अधिकृतका अनुसार मेयर अचार्यले संझौतासमेत नगरी आफू आवद्ध संस्थालाई पार्क बनाउन दिँदा स्वार्थ बाझिएको बताउँछन् ।
‘पोखराका मेयर भन्दा पनि लायन धनराज आचार्य बन्न उहाँलाई उचित लागेको हुन सक्छ,’ ती अधिकृतले भने,‘संझौतासमेत नगरी सरकारी जग्गामा कुनै पनि संस्थाले केही संरचना बनाउन पाउँदैन।’
पोखराका मेयर आचार्य लायन्स क्लब इन्टरनेशनका पूर्व राष्ट्रिय अध्यक्ष हुन्। आफू संलग्न संस्थालाई नै झण्डा पार्क बनाउन दिँदा संझौतासमेत गरेका छैनन्।
यसबारे बुझ्न बिहीबार र शुक्रबार महानगरपालिकाको कार्यालय पुग्दा मेयर आचार्य भेटिएनन्। टेलिफोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।
पुस्तकालय भवन भत्काएका मेयर आचार्यले पृथ्वीचोकमा घण्टाघर बनाएर त्यहीं पुस्तकालय सार्ने बताउँदै आएका छन्। पृथ्वीवचोकमा घण्टाघर निर्माण गर्ने र सोही भवनको एउटा तलामा पुस्तकालय र अर्को तलामा पोखरा आर्ट ग्यालरी राख्ने मेयर आचार्यको योजना छ।
पुस्तकालय भवन भत्काउन र झण्डा पार्क बनाउन जागरूकता देखाएका मेयरले अहिलेसम्म आर्ट ग्यालरी र पुस्तकालय राख्ने भनिएको घण्टाघर बनाउन शुरुसमेत गरेका छैनन्।
पुस्तकालयमा डोजर लगाएपछि त्यहाँ संग्रहित पुस्तक क्षेत्री समाजको भवनमा लगेर राखेका छन्। मेयर आचार्यले महानगरको फेसबुक पेजमा भिडिओ सन्देश जारी गर्दै क्षेत्री समाज भवनमा पुस्तक राख्दा महानगरले भाडा तिरेको बताएका छन्। तर उनले कहिलेसम्म उक्त भवनमा पुस्तक राख्ने र कति भाडा तिरेको खुलाएका छैनन्।
क्षेत्री समाजमा पुस्तक राख्न पनि संझौता नभएको पाइएको छ। मेयर आचार्यको सचिवालयमा रहेका कर्मचारी लोकदर्शन कोइरालाले क्षेत्री समाजका पदाधिकारीसँग बैठक बसेर पुस्तक राख्ने सहमति गरेको बताए। अर्को व्यवस्था नहुँदासम्म सोही भवनमा पुस्तक राख्ने र त्यसको भाडा तिर्ने सहमति भएपनि संझौताबारो उनले अनभिज्ञता देखाए।