भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अहित हुने गरेर भारतसँग कुनै पनि सम्झदारी नहुने बताएका छन्।
माओवादी केन्द्रको संसदीय दलको बैठकमा दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा सके राम्रो गर्ने नसके नराम्रो नगर्ने र शिष्टाचार भेट गरेर फर्कने प्रष्ट्याएका हुन्।
‘विगतमा धेरै समझदारी हुने, विषय उठ्ने तर भ्रमणपछि अलपत्र पर्ने स्थिति हुँदैन भनेर प्रधानमन्त्रीले प्रष्ट पार्नुभयो,’ सांसद लेखनाथ दाहालले सेतोपाटीसँग भने, ‘यसपटक कार्यान्वयन हुने सम्झौता गर्ने, पुराना समझदारीहरूको अवस्था बुझ्ने काम हुने छ। उहाँको मुख्य जोड नै सके राम्रो गर्ने, नसके नराम्रो नगर्ने भन्ने नै छ।’
यसपटक नेपाल–भारत दुवै देशले तयारी गरेरै भ्रमणको आयोजना गरेकाले फलदायी हुने विश्वास प्रधानमन्त्री प्रचण्डले राखेको उनले बताए।
त्यस्तै बैठकमा सोमबार संघीय संसद्को दुवै सदनमा पेश भएको बजेटबारे पनि छलफल भएको दाहालले बताए।
‘बैठकमा यसपालिको बजेट र यसको कार्यान्वयनबारे पनि छलफल भयो। हामी सदस्यहरूको पनि केही सुझाव थियो। यसपटकको बजेट कार्यान्वयनको प्रतिबद्धतामात्र होइन, ऐन, कानुन र नीतिको सुधारसहित आएकाले कार्यान्वयनमा कुनै समस्या नरहेकोमै प्रधानमन्त्रीको जोड थियो,’ उनले भने।
आगामी आर्थिक वर्ष कृषि क्षेत्रमा झण्डै २० अर्ब बजेट पुग्ने बाटो देखाउँदै उत्पादकत्व वृद्धि र रोजगारी सृजनामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने प्रधानमन्त्रीको भनाइ रहेको दाहालले बताए।
‘उत्पादन, रोजगार र पुँजी निर्माणको दृष्टिले यो बजेट कोशेढुंगा बन्ने छ, यसको कार्यान्वयनका लागि आवश्यक नीतिगत सुधार हुनेछन्,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै दाहालले भने।
बैठकमा भ्रष्टाचार नियन्त्रणमा राज्यका संयन्त्रहरूको क्षमता बढाउनुपर्नेमा जोड दिएको दाहालले बताए।
‘भ्रष्टाचार नियन्त्रणमा सरकारको पहलकदमी राम्रो छ। राज्यका संयन्त्रहरूलाई पनि कडाइका साथ परिचालन गर्नुपर्छ। भ्रष्टाचार नियन्त्रणमा निर्मम नभई सुशासन कायम हुन सक्दैन भन्ने नै सांसदहरूको भनाइ थियो,’ उनले भने।
प्रधानमन्त्री प्रचण्ड बुधबारदेखि भारत भ्रमणमा जाँदैछन्। उनी २० गते स्वदेश फर्कने तालिका रहेको छ।
भ्रमणका क्रममा ऊर्जा, जलस्रोत र पारवहनका क्षेत्रमा सम्झौता–समझदारी हुने बताइएको छ।