झापाको शिवसताक्षी नगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको वडा 'सिलिङ' बजेट घटाएको भन्दै नगरका पाँच वडाध्यक्षले आपत्ति जनाएका छन्।
मेयर मेघाहाङ थोप्राले आफूहरूलाई पाखा लगाएर एकलौटी वडा सिलिङ बजेट निर्धारण गरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।
चालु आर्थिक वर्षमा नगरले ७५ लाख रूपैयाँ सिलिङ बजेट विनियोजन गरेको थियो। उक्त बजेटबाट सञ्चालित योजना निर्माण सम्पन्नको अन्तिम चरणमा छन्।
आगामी आर्थिक वर्ष ०८०/०८१ मा भने सिलिङ ६० लाख रूपैयाँ मात्र विनियोजन गर्ने विषयले गम्भीर ध्यानाकर्षण भएको भन्दै मेयर थोप्रालाई पाँच वडाध्यक्षले आइतबार ज्ञापन पत्र बुझाएका छन्।
मेयरको कार्यकक्षमै पुगेर वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपाने, ६ का मनोज खुलाल, ७ का भवानी चेम्जोङ, ८ का सन्तकुमार फेउदिन र वडा नम्बर ९ का डिल्ली फेम्फूले हस्ताक्षर गरेको ज्ञापन पत्र संयुक्त रूपमा बुझाएका हुन्।
वडाध्यक्षहरूले ज्ञापन पत्रमा संघीय तथा प्रदेश सरकारबाट स्थानीय सरकारको खर्चको आवश्यकता, पूर्वाधार निर्माणको अवस्था, राजश्व संकलनको क्षमता लगायतका आधारमा प्राप्त हुने वित्तीय समानीकरण अनुदान तथा आन्तरिक आयको न्यायोचित तथा विवेकपूर्ण बाँडफाट हुनुपर्नेमा जोड दिएका छन्।
शिवसताक्षी नगरपालिकाले २०८०/०८१ को बजेट तथा कार्यक्रम तयार गर्ने क्रममा सिलिङ बजेट घटाएकोमा वडाध्यक्षहरूले गुनासो गरेका छन्।
जेठ २४ गते पालिकाबाट गएको इमेलको पत्रबाट मात्र आफूहरूलाई सिलिङ बजेट तय भएको बारे जानकारी भएको वडाध्यक्ष भवानी चेम्जोङले बताए।
विगतमा वडा बजेट सिलिङ निर्धारण तथा नगरका योजनामा बजेट विनियोजन नगर कार्यपालिकाको बैठकको निर्णयबाट हुने परम्परालाई मेयर थोप्राले लत्याएको वडाध्यक्षहरूले आरोप लगाएका छन्।
'हामी वडाध्यक्षहरूसँग सामान्य परामर्श समेत नगरी मेयरले नगरपालिकामा अघोषित सिन्डिकेट लगाउनुभएको हामीले ठहर गरेका छौं। यो हामीलाई मान्य छैन,' वडाध्यक्ष डिल्ली फेम्बूले भने।
कार्यपालिका बैठकपछि ५७ जनाको नगर सभाले अनुमोदन गर्ने बजेटमा नगर प्रमुखले ५-६ जना कोठामा राखेर तयार गरिएको बजेट आफूहरूलाई कुनै हालतमा मान्य नहुने ९ नम्बर वडाका अध्यक्ष फेम्बूले बताए।
नगरको स्रोत अनुमान तथा बजेटको सीमा निर्धारण समितिको बैठकले योजनाहरूमा विनियोजन गरेको बजेटमा महत्वपूर्ण गौरवका योजनाहरू; ल्यान्डफिल साइट सञ्चालन, शिवगन्ज कृषि थोक बजार निर्माण, झिलझिले बसपार्क निर्माण, शिवगन्ज आधारभूत अस्पताल सञ्चालन तथा कृषि क्षेत्रको अग्रगामी विकासका बारेमा कहीँ कतै सम्बोधन नगरिएको आरोप पनि वडाध्यक्षहरूको छ।
त्यस्तै यस्ता अनिवार्य भौतिक पूर्वाधारमा बजेट विनियोजन नगरी सीमित व्यक्तिलाई लाभ हुने गरी विनियोजन गरेको वडाध्यक्षहरूले लगाएका छन्।
'नगरको सुशासन तथा चौतर्फी विकासमा अवरोध सिर्जना हुने प्रकृतिको स्रोत अनुमान तथा बजेटको सीमा निर्धारण समितिको निर्णय सच्याउन माग गर्छौं,' उनीहरूले भने।
हरेक वडाको विकासबाटै नगर विकास हुने तथा वडा क्षेत्रबाहेक नगरको अन्य कुनै भूगोल नहुने भएकाले वडा कार्यालयमा बढीभन्दा बढी बजेट प्रवाह हुनेपर्ने अध्यक्षहरूको जोड छ।
वडा कार्यालयहरूलाई शिथिल बनाउने किसिमको बजेट सिलिङ प्राप्त भएकाले वडाको विकास जस्तो गम्भीर विषयमा लापारबाही नगर्न उनीहरूले मेयरको ध्यानाकर्षण गराएका छन्।
मेयरले कार्यपालिका बैठक नराखी जबरजस्ती अघि बढ्ने काम भएमा आगामी दिनमा नगरको गतिविधि र योजना तर्जुमा तथा कार्यान्वयनमा सहभागी नहुने र त्यसबाट पर्न सक्ने असर तथा परिणामको जिम्मेवारी स्वयं नगरपालिका कार्यालयले लिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।
झापा जिल्लाका अन्य विभिन्न नगरपालिका र गाउँपालिकाले वडा बजेट सिलिङ बर्सेनि बढाउँदै लगेका उदाहरण छन्। वडा सक्षम तथा सबल भए मात्र सम्पूर्ण नगर विकास तथा समृद्ध हुने तथ्यको विपरीत शिवसताक्षी अघि बढेको वडाध्यक्षहरूले आरोप लगाएका छन्।
'वडाको सिलिङ बजेट घटाउने काममा जिम्मेवार व्यक्ति अघि बढेमा वडाको विकासमा बाधा उत्पन्न हुने ठहर गर्दै उक्त निर्णय सच्याउन माग गर्छौं,' ज्ञापन पत्रमा भनिएको छ।
नगर प्रमुखले ४८ घन्टाभित्र बैठक आह्वान गरी २०८०/०८१ को बजेट तथा अन्य विषयमा अर्थपूर्ण छलफलको माग उनीहरूले गरेका छन्।
यसैबीच मेयर थोप्राले वडाध्यक्षहरूले बुझाएको ज्ञापन पत्र बुझ्दै स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले ल्याएको मस्यौदा कार्यपालिका बैठकमा पेस गर्ने बताए।
'नगर सभाका लागि पनि कार्यपालिका बैठक बोलाउनु छ। त्यही बैठकमा यो विषयलाई छलफलका रूपमा लैजाऔंला,' उनले भने।
शिवसताक्षी नगरमा ११ वटा वडा छन्। ज्ञापन पत्रमा ५ जना वडाध्यक्षको हस्ताक्षर भने अरू ६ वडाध्यक्षहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। नगरका पाँच वटा वडामा नेकपा एमाले निर्वाचित भएको छ भने एउटामा माओवादीले जितेको छ। बाँकी पाँच वडामा नेपाली कांग्रेसका उम्मेदवारले जितेका थिए।
यहाँका मेयर र उपमेयर एमालेबाट निर्वाचित भएका हुन्। ज्ञापन पत्र बुझाउने वडाध्यक्षहरू नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन्।