जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीमा बिजुली बलेको केही महिना भयो। तर गढीसँग जोडिएको वडा नम्बर २ अनकन्टारै छ। वडा नम्बर १ का करिब १५ प्रतिशतको घरमामात्रै विजुली बलेको छ। यी दुई वडा चितवनकै विकट भनेर चिनिन्छन्।
अहिले यी वडालाई कालोपत्रे सडकले छोएको छ। करिब आधा खण्ड कालोपत्रे भइसकेको शक्तिखोर–फिस्लिङ सडकको उपरदाङगढीदेखि उत्तरतर्फका यी वडामा अहिले ठाउँ–ठाउँमा बिजुलीका पोलहरू थुपारिएका देखिन्छन्।
त्यसो त यहाँ अहिलेसम्म बिजुली बलिसक्नुपर्ने थियो। विपन्न समुदायको बसोबास रहेको यो क्षेत्रलाई ठेकेदारले पनि ठगे। विद्युतीकरणका लागि आर्थिक वर्ष २०७५/०७६ मै टेण्डर भएर पनि काम अघि बढेन। त्यतिखेर विद्युतीकरणका लागि साढे ६ करोड रूपैयाँको ठेक्का जनमुखी कन्स्ट्रक्सन प्रालिले पाएको थियो।
उसले गाउँपालिकाका विद्युत नपुगेका वडामा विद्युत बिस्तार गर्नुपर्ने थियो। उसले सिन्को नभाँचेपछि नेपाल विद्युत् प्राधिकरण, ग्रामीण विद्युत महाशाखा, मस्र्याङदी बहुउद्देश्यीय सहकारी संस्था र इच्छाकामना गाउँपालिकाले ठेक्का रद्ध गर्न माग राखेर ठेकेदारको विरूद्धमा मुद्दा हाले। मुद्दा जितेपछि ठेक्का रद्ध भयो।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले अहिले ७ वटै वडाका लागि छुट्टाछुट्टै ठेक्का लागेको बताए।
‘जति ताकेता गर्दा पनि काम नगरेपछि ठेकेदारको विरूद्ध मुद्दा हाल्यौं। मुद्दा जितियो। समग्रमा एउटै टेण्डर गर्दा गाह्रो हुने देखेर अहिले सबै वडामा छुट्टाछुट्टै टेण्डर निकालेर काम सुरू भएको छ,’ अध्यक्ष गुरूङले भने, ‘सबै वडामा विद्युत् बिस्तार र स्तर वृद्धिको काम भइरहेको छ।’
यहाँ विद्युत् लाइन बिस्तारको ठेक्का वडा नम्बर १ र २ मा एउटै ठेकेदारले पारेका छन्। अहिले विद्युत् पोल, तार लगायतका सामग्री लैजाने काम भइरहेको छ। सत प्रतिशत विद्युत् नपुगेको वडा नम्बर २ र १५ प्रतिशत घरमामात्रै विद्युत् पुगेको वडा नम्बर १ मा आर्थिक वर्ष २०८०/०८१ भित्रमा विद्युतीकरणको काम सक्ने लक्ष्य छ। यी दुई वडाको जनसंख्या करिब ८ हजार छ। दुबै वडामा चेपाङ समुदायको बसोबास बढी छ।
इच्छाकामनाको वडा नम्बर १ मा जिल्लाकै सबैभन्दा उचाई भएको सिराइचुली पहाड पनि पर्छ। सिराइचुलीबाट तराईको समथर भूभागदेखि हिमश्रृंखलासम्म देख्न सकिने भएकाले धेरै पर्यटकहरू यहाँ पुग्ने गरेका छन्।
वडा नम्बर ६ मा पनि ५० प्रतिशत भागमामात्रै विद्युत् बिस्तार भएको छ। बाँकी ठाउँमा बिस्तारको काम अहिले भइरहेको छ।
वडा नम्बर ३, ४ र ५ को ठेक्का एउटै ठेकेदारले पाएका छन्। यी वडामा विद्युत् बिस्तार र स्तर वृद्धिको काम भइरहेको छ। यी तीनवटा वडामा गाउँपालिकाको बजार क्षेत्रहरू पनि पर्छन्। पृथ्वी राजमार्गका मुग्लिन, कुरिनटार, फिस्लिङ, चुम्लिङटारलगायतका बजार यीनै वडामा पर्छन्। यहाँ विद्युत् लाइन नपुगेका ठाउँमा पुर्याउने र पुगेका ठाउँमा स्तर वृद्धि गर्ने लक्ष्य छ। पहिले विद्युत् पुगेका ठाउँमा ट्रन्समिटर थप्ने, सडक छेउका पुराना पोलहरू हटाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष गुरूङले बताए।
वडा नम्बर ७ को आधा क्षेत्रमा विद्युत् बिस्तार भएको थिएन। अहिले ठेक्का लागेपछि धेरैजसो क्षेत्रमा विजुली बल्न थालेको छ। अब केही ठाउँमामात्रै विद्युत् लाइन बिस्तार गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताए। चितवनको पुरानो सदरमुकाम उपरदाङगढी यही वडामा पर्छ। यो ठाउँ सन् १९६० सम्म जिल्ला सदरमुकाम थियो। त्यसपछि भरतपुर सारियो।
पुरातत्व विभागका अनुसार यो सन् १८०० मा निर्माण भएको किल्ला हो। समुद्र सतहदेखि १२७५ मिटर उचाईमा रहेको यहाँ तत्कालीन बाइसे–चौविसे राज्य एकीकरणका बेला अंग्रेज फौजविरूद्ध युद्धको दौरान नेपाली भूमिको रक्षाका लागि पृथ्वीनारायण शाहका नाती बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेका थिए। एतिहासिक महत्वको ठाउँ भएपनि यहाँ केही महिना अघिमात्रै विद्युत् लाइन बिस्तार भएको हो। यो किल्ला हेर्न धेरै आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। विजुली बल्न थालेसँगै यहाँको रौनक थप बढेको छ।
‘पर्यटकका लागि होमस्टे सञ्चालन गरिएपनि विजुली नहुँदा समस्या थियो। ढिलै भएपनि गढीमा विजुली बल्न थाल्यो,’ अध्यक्ष गुरुङले भने, ‘बाँकी गाउँहरुमा पनि बिस्तारको काम चलिरहेको छ।’
उनले आगामि आर्थिक वर्षमा गाउँपालिकाको सबै कुनामा विद्युत पुर्याउने लक्ष्य रहेको सुनाए।
‘हामी त आगामि वर्ष उज्यालो इच्छाकामना घोषणा गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘ठेकेदारले यताउता गरेन भने घोषणा गर्न सक्छौं। विद्युत् प्राधिकरणसँग समन्वय र सक्दो छिटो काम गर्न ठेकेदारलाई फलोअप गरिरहेका छौं।’
अध्यक्ष गुरुङले इच्छाकामनामा एउटा विद्युत् सबस्टेशन निर्माण गर्न जमिनको खोजी भइरहेको बताए। गाउँपालिकामै सबस्टेसन बनाएर गोरखाबाट लाइन जोडेपछि चौविसै घण्टा विद्युत्मा पहुँच हुने उनले बताए।
गाउँपालिकामा समग्रमा ५५ प्रतिशत घरमा विद्युत् पुगेको छ। बाँकी ठाउँमा विद्युत् बिस्तार र स्तर वृद्धिका लागि १४ करोड रुपैयाँ बजेट परेको थियो।
वडा नम्बर २ का वडाध्यक्ष पञ्चबहादुर प्रजाले विद्युतीकरण सम्पन्न भएसँगै ग्रामीण क्षेत्रमा समृद्धिको यात्रा सुरु हुने बताए।
‘हाम्रो वडाका प्रायःले तरकारी खेती, बाख्रा, गाई पालन, कुखुरा पालन गरेका छन्। तर सडक, विजुलीको पहुँच नहुँदा त्यसलाई व्यवसायिक बनाउन सकिरहेका छैनन्। गाउँमा सडक त आयो विजुली अझै आएको छैन,’ प्रजाले भने, ‘विद्युत् लाइन बिस्तार भएसँगै यहाँ व्यवसायिकता बढ्छ। यसले गाउँमा समृद्धि ल्याउँछ।’
गाउँपालिकाका अध्यक्ष गुरुङले विद्युत् बिस्तारपछि उपल्लो भेगका किसानले बाख्रा, कुखुरा पालन, तरकारी खेती, पर्यटन व्यवसायमा उल्लेख्य काम गर्न सक्ने र सहरी भेगमा हुने विद्युतको स्तर वृद्धिसँगै त्यहाँका व्यवसायीले व्यवसायलाई थप प्रवर्नद्धन गर्नसक्ने बताए। इच्छाकामनाका पहाडमा कालो निउरो र काफल प्रसस्त पाइन्छ। गाउँपालिकाले निउरो र काफललाई ब्राण्डिङ गर्ने र रिद्धी खोलामा पाइने असला माछाको प्रवर्द्धन गरी ग्रामीण पर्यटनको विकासमा सघाउने लक्ष्य राखेको छ।
इच्छाकामना गाउँपालिकाले विद्युत् पुगेका ठाउँका विपन्नलाई मिटरबक्स निशुल्क उपलब्ध गराएको छ। विद्युत् प्राधिकरणमा लाग्ने रकम गाउँपालिकाले भुक्तानी गरेर विपन्नलाई निशुल्क उपलब्ध गराइएको छ। गत वर्षबाट सुरु गरेको यो कार्यक्रमलाई आगामि वर्ष पनि निरन्तरता दिने अध्यक्ष गुरुङले बताए। एउटा मिटरबक्स बापत गाउँपालिकाले प्राधिकरणलाई २ हजार ६० रुपैयाँ बुझाउने गरेको छ।
‘गाउँ–गाउँमा सडक सञ्जाल पुगेको छ। अब सडकलाई थप व्यवस्थित बनाउने, विजुली घर–घरमा पुर्याउने, सबैको पहुँचमा स्वच्छ खानेपानी पुर्याउने, ठाउँ–ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं,’ अध्यक्ष गुरूङले भने।