सरकारले मेडिकल विश्वविद्यालय सञ्चालन गर्छु भन्ने प्रतिबद्धता लिखित दिन आन्दोलनरत संघर्ष समितिले माग गरेको छ।
प्रधानमन्त्री र मन्त्रीहरूले सोमबार कैलालीको गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने बताएका थिए।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा गेटामा मेडिकल विश्वविद्यालय नै चलाउने बताएका छन्।
लामो आन्दोलनपछि सोमबार संसदमा बोल्दै अर्थमन्त्री महतले गेटामा विश्वविद्यालय र अस्पताल सञ्चालनका लागि एक अर्ब १५ करोड बजेट विनियोजन गरिएको बताए।
‘यो प्रतिष्ठान भएर आयो भन्ने विषयमा धेरै चासो र चिन्ताको विषय भयो, जे नाम दिए पनि त्यहाँ हुनुपर्छ, बजेट सुनिश्चित गरिएको छ, विश्वविद्यालयको रूपमा अगाडि बढोस् नै भन्ने हामी चाहन्छौं,’ उनले भने।
उनले नाउमा प्रतिष्ठान हुन गएछ, भावनाअनुसार विश्वविद्यालय नै हुनुपर्छ भन्ने भावनालाई नजरअन्दाज गर्न नसकिने बताए।
‘ऐन पनि अघि बढ्दैछ, त्यो ऐनमा विश्वविद्यालय भनेर आउँछ, त्यही अनुसारले यो बजेट पनि अगाडि बढ्छ,’ उनले भने।
यस्तै, एकीकृत समाजवादीका सांसदहरूसित भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सरकारले गरेको निर्णय अनुसार काम हुने बताएका थिए।
प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आले लगायतका सांसदहरूले प्रधानमन्त्रीसँग विश्वविद्यालयको मागसहित सुदूरपश्चिममा भइरहेको आन्दोलनबारे छलफल गर्न प्रधानमन्त्रीलाई भेटेका थिए।
यस्तै, परराष्ट्र मन्त्री एनपी साउदले पनि सरकारले यसअघि निर्णय गरेअनुसार नै गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको बताएका छन्।
सुदूरपश्चिमका कांग्रेस नेताहरूसँगको भेटमा मन्त्री साउद विश्वविद्यालय सञ्चालनका लागि आवश्यक विधेयकको काम भइरहेको जानकारी गराएका थिए।
गृहजिल्ला कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसका नेताहरूसँग सोमबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका हुन्।
‘प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेताहरू मन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो,’ साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीले भने, ‘मन्त्रीज्यू प्रतिष्ठान नभएर मेडिकल युनिभर्सिटी नै बन्छ, यसमा सरकार प्रतिबद्ध छ भन्नुभयो।’
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभा बैठकमा बोल्दै केन्द्र सरकारको बजेटमा गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने कुरा समावेश भएको कुराले ध्यानाकर्षण भएको बताए।
नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विश्वविद्यालय विधेयक चालू अधिवेशनमा नै प्रस्तुत गर्ने भनी उल्लेख भएको थियो। तर वार्षिक बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान उल्लेख भएपछि अस्पष्टता सिर्जना हुन पुगेकोमा सुदूरपश्चिम प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्री शाहको भनाइ छ।
यस विषयमा नेपाल सरकारका जिम्मेवार राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग निरन्तर संवाद र सम्पर्क गरिरहेको मुख्यमन्त्री शाहले विज्ञप्तीमार्फत् पनि जनाएका छन्।
मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका आम नागरिकको चाहना र नेपाल सरकारको पूर्व निर्णय बमोजिम सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने गरी आवश्यक कानुनी र अन्य व्यवस्था मिलाइने विश्वास दिलाएका छन्।
नेपाली कांग्रेसले कैलालीको गेटामा स्वास्थ विज्ञान विश्व विद्यालय सञ्चालन गरिनु पर्ने धारणा राखेको छ।
सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त धारणा राखेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले यथाशिघ्र विश्व विद्यालय सञ्चालनमा ल्याउनु पर्ने बताए।
उनले प्रक्रियामै धेरै समय भइसकेकाले अब ढिलो गर्न नहुने बताए।
‘केन्द्रमा गठबन्धनको सरकार र प्रदेशमा कांग्रेसको नेतृत्व भएका बेला विश्वविद्यालय सञ्चालनमा बिलम्व गर्नुहुँदैन,’ उनले भने।
यस्तै, नेकपा माओवादी केन्द्रले पनि कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गरेको छ।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज तथा प्रदेश सांसद खगराज भट्टले जनतालाई दु:ख दिने संघर्षका कार्यक्रमबाट नभएर खबरदारीका माध्यमबाट सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने बताए।
उनले सरकार आफैं सकारात्मक भएका बेला चर्का आन्दोलनको औचित्य नहुने बताउँदै यो विषयमा सांसद पटक/पटक विश्वविद्यालय सञ्चालनका लागि आवाज उठिरहेको बताए।
नेकपा एमालेका प्रदेश सभा सांसदले गेटामा विश्वविद्यालय स्थापनाको माग गर्दै भइरहेको आन्दोलनको समर्थनमा सदन बहिष्कार गरेका छन्।
सोमबार दिउँसो बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी गर्दै एमालेका सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।
मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन आफूले पहल गरिरहेको बताए पनि लगत्तै एमाले सांसदहरूले मुख्यमन्त्री शाहको धारणा नभई मन्त्रिपरिषद् बैठकको निर्णय नआउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए। एमाले सांसद बाहिरिएपछि सभामुख भीम भण्डारीले १ घण्टाका लागि बैठक स्थगित गरेका थिए।
गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम प्रदेश सभा घेराउ गरिएको छ।
नाराबाजीसहित संघर्ष समिति र नेकपा एमालेका नेता कार्यकर्ताले संयुक्त रूपमा प्रदेश सभा अगाडि प्रदर्शन गरेका हुन्।
विश्व विद्यालय स्थापनार्थ दुई साता अघिदेखि आन्दोलन गरिरहेको संघर्ष समितिले सोमबार दिउँसो प्रदेश सभाको बैठकमा जाने सांसदहरूलाई प्रवेश निशेध गर्ने कार्यक्रम थियो।
प्रदेश सभाको गेटमा आन्दोलनकारी पुग्नु अघि नै सांसदहरू प्रदेश सभा परिसरभित्र पुगिसकेकाले अवरोध भने भएन।
सरकारले मेडिकल विश्वविद्यालय सञ्चालन गर्छु भन्ने प्रतिबद्धता लिखित दिन आन्दोलनरत संघर्ष समितिका संयोजक लोकराज पाण्डेले माग गरेका छन्।
‘आफूले गरेको निर्णय र नीति तथा कार्यक्रममा समावेश भएको कुरा बजेटमा छुटाइन्छ भने, अब मौखिक बोलेको कुरा पूरा हुने विश्वास छैन, गर्छु भन्ने प्रतिबद्धताको लिखित चाहिन्छ,’ उनले भने ।