साउनका दिनमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, दोमिल्लाकी भगवती बुढालाई करेन्ट लाग्यो। नलमा मोटर चलाएर लुगा धुने क्रममा करेन्ट लागेको थियो।
गाउँलेहरू हतपत गरेर उनलाई स्वास्थ्य संस्था लैजान बाटो लागे। बाटोमा पर्ने ओदाल खोलाको भेलले उनीहरूलाई रोकिदियो। भेल घट्छ कि भनेर पर्खिंदा पर्खिंदै भगवतीको ज्यान गयो।
यो घटना गाउँलेले भुल्न सकेका छैनन्।
‘बिहानै ७ बजे करेन्ट लागेर अचेत भएपछि अस्पताल पुर्याउन ट्याक्टरमा राखेर लैजाँदै थियौँ। ओदाल खोलामा बाढी थियो, तर्न सकिएन। बिरामी बचाउन पनि सकिएन,’ स्थानीयवासी जयमतीदेवी महरले भनिन्, ‘समयमै अस्पताल पुर्याउन सकेको भए बचाउन सकिन्थ्यो होला।’
दुई वर्षअघि श्रीपुरका एक पुरुषलाई राति सर्पले टोक्यो। उनलाई अस्पताल लिएर हिँडेको टोलीलाई पनि ओदाल खोलाको भेलले रोक्यो। खोला किनारमै ज्यान गयो।
केही वर्षअघि दोमिल्लकै जंगबहादुर बुढा आफन्त बिमारी भएर औषधि किन्ने बजार गएका थिए। भोलिपल्ट साँझसम्म पनि फर्किन पाएनन्। खोला बाढी घटेर तर्न सकिने हुन्जेल पर्खे।
उनी ओदाल खोलाको भेलबाढीका भुक्तभोगी हुन्। उनीसँग खोलाको दुःखका अनेक अनुभवहरू छन्। उनीमात्रै होइन, सबै गाउँलेले भुक्तमान व्यहोरेका छन्।
ओदाल खोलाको अवस्था उस्तै छ। अहिले पनि भेल घट्छ कि भनेर पर्खिनुपर्छ, अर्को विकल्प छैन। खोलाको बीचमा पुलको अपूरो संरचना खण्डहरजस्तो देखिन्छ।
चुरेफेदमा रहेको कृष्णपुर नगरपालिकाको वडा नम्बर एकका केही बस्तीका बासिन्दाहरू प्रत्येक वर्ष यस्तै समस्यामा पर्छन्। करिब दुई हजार घरधुरी रहेका आठवटा गाउँका बीचबीचमा चार–पाँच वटा खहरे खोला छन्।
ती खहरेमध्ये ओदाल खोला सबैभन्दा ठूलो हो। बंक–नायल सडकमा यो खोला तर्नुपर्छ। प्रदेश सरकारले गौरवको आयोजनामा राखेको सडकमा पर्ने यो खोलामा पुल छैन।
पुल बनाइदेऊ भनेको धेरै वर्ष भयो। सरकारले बजेट दिने भएपछि २०७३ सालमा पुल बनाउन सम्झौता भएको थियो। त्यस वर्षको भदौमा बुडर–नायल–बंक सडकमा पर्ने ओदाल खोलामा पुल बनाउन ५ करोड ४७ लाख रुपैयाँमा ठेक्का भयो।
सम्झौतामा २०७४ को फागुन १५ गतेभित्र निर्माण पूरा गर्ने भनिएको थियो। काम पनि सुरु भयो तर ठेक्का भएको ८ बर्ष बित्दा पनि निर्माण पूरा भएको छैन। किन अलपत्र पर्यो, अब कहिले पूरा हुन्छ भन्ने पनि थाहा छैन।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पीयूष चौटतका अनुसार अहिलेसम्म ६१ प्रतिशत आर्थिक प्रगति भएको छ। निर्माणको काम आधा बाँकी छ। ठेक्का पाएको ‘एमएस थेगिम गाल्वा जेभी’ ले ३ करोड ६० लाख रुपैयाँ भुक्तानी लिएको छ।
कुल ६० मिटर लामो पक्की पुल निर्माणको निर्धारित म्याद सकिएपछि पटकपटक गरेर चार वर्ष थप भएको छ। सडक डिभिजन कार्यलयमार्फत हुने पुल निर्माणमा सरकारी कर्मचारीको मिलोमतो र ठेकेदारको लापरबाहीले यस्तो भएको स्थानीयवासीको आरोप छ।
सडक डिभिजनका कर्मचारीहरू ठेकेदारले टेर्नै छाडेको बताउँछन्। वर्षौंसम्म काम अड्काएपछि ठेकेदारसित १० प्रतिशत क्षतिपूर्ति पनि लिइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका अधिकारीको भनाइ छ।
अब चाँडै काम पूरा नगरे ठेक्कासम्झौता रद्द गरेर क्षतिपूर्ति भराउने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने सूचना अधिकारी इन्जिनियर चटौतले बताए।
कुखुरापालन व्यवसाय गर्ने जयमतीदेवीले बर्खाको समयमा दाना ल्याउन नसक्ने बताइन्। होटल, किराना पसल र अन्य व्यवसायीहरू मौका छोपेर सामान ल्याउँछन्।
खोलामा पुल नबन्नुमा प्रमुख दोषी आफ्नो क्षेत्रबाट चुनाव जितेर गएका नेताहरू नै हुन् भन्ने जयमतीदेवीको ठहर छ।
‘नेताहरू कमिसन खाएर केन्द्रमा बस्छन्। यहाँ केही हेर्दैनन्। नेताहरूसँग हाम्रो गुनासो छ,’ उनी भन्छिन्, ‘भोट माग्न आउँछन्, हात जोड्छन्, खुट्टामा पर्छन्। चुनाव जितेर गएपछि फर्केर आउँदैनन्। गाउँघरमा के समस्या छ, बाटो–पुल के छ, केही हेर्दैनन्।’
यस्तै, जंगबहादुरको प्रश्न छ– दस वर्ष हुन आँट्यो, पुल किन नबनेको?
ठेकेदारले काम ठग्ने गरेको उनको आरोप छ। भन्छन्, ‘असार लागेपछि ठेकेदार केही दिन आउँछ, अलिकति काम गर्छ र बजेट लिएर जान्छ। ठेकेदारले काम नगरे पनि सरकारले कारबाही गर्न सकेको छैन।’
आफ्नो जिल्लाका सांसद एनपी साउद अहिले मन्त्री बनेपछि भने उनीहरूमा केही आशा पलाएको छ। कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साउद हाल पराष्ट्रमन्त्री छन्।
स्थानीय पुष्कर बुढाका अनुसार गएका निर्वाचनहरूमा राजनीतिक दलहरूले ओदाल खोलाकोे पुल र बंक–बुडर सडक बनाउने भनेर भोट मागेका थिए।
अलपत्र पुल तयार भए सुन्दरी फाँटा, दोमिल्ला, पहरिया, श्रीपुर लगायत शुक्लाफाँटाको वडा नम्बर ८ लाई समेत उपयोगी हुने स्थानीयवासी जनक बोहराको भनाइ छ।
‘वर्षामा सुत्केरीलाई अस्पताल लैजान सकिँदैन। सर्पले टोकेका बिमारीको उपचार गर्न सकिँदैन। नेतालाई जिताएर पठायो, गाउँमा एउटा पुल पनि बन्दैन,’ उनी भन्छन्, ‘काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने सरकार छ, कारबाही गर्ने कानून बनाउन नसक्ने संसद छ।’
सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद ओमविक्रम भाटले एक साताभित्र पुलको काम सुरु गर्न लगाउने बताए। उनले एक वर्षभित्र काम पूरा हुने गरी गरी काम गर्न सडक डिभिजन कार्यालयसित समन्वय हुने आश्वासन दिएका छन्।
‘पुल नभएकै कारण ज्यान गुमाउनु परेको, विद्यार्थीहरू स्कुल जान नपाएको अवस्था देखेको छु। दस वर्ष पुग्न लाग्दा पनि पुल नबन्नु लज्जास्पद कुरा हो,’ उनी भन्छन्, ‘राज्यभन्दा ठेकेदार बलियो भएको छ। अब काम नभए ठेक्का रद्द गरी नयाँबाट काम गराउन पहल गर्छु।’
भुक्तभोगी स्थानीय बासिन्दाहरू भने नेताका आश्वासनको साटो तुरुन्त काम चाहन्छन्।