धान रोप्ने बेलामा मल नपाउनु किसानका लागि पुरानो समस्या हो। किसानलाई बेलैमा मल उपलब्ध गराउने बाचा गर्नमा सरकार कहिल्यै पछि पर्दैन। तर बाचा कहिल्यै पूरा भएको छैन।
यसपालि खडेरीले चितवनमा धान रोपाइँ ढिलो सुरु भयो। तैपनि किसानले चाहिनेजति मल पाएका छैनन्। सधैं बाचा गर्ने तर कहिल्यै पूरा नगर्ने सत्तासँग उनीहरुको रोष छ।
सत्ताप्रति किसान नकरात्मक बन्दै गरेको समयमा प्रतिपक्षी दलका नेताहरू चितवनका खेत–खेतमा हाजिर भएका छन्। असारको १५ गतेलाई राष्ट्रिय धान दिवसकोरुपमा मनाइन्छ। यो दिवसको अवसरमा जिल्लाका विभिन्न ठाउँमा धान रोप्न विपक्षी दलका शीर्ष नेताहरु नै आइपुगेका छन्।
पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र डा.बाबुराम भट्टराई, पूर्वगृहमन्त्री रवि लामिछाने किसानले शुक्रबार चितवनका खेतमा पुगेर धान रोपे। एमाले र रास्वपा प्रतिपक्षमा छ।
यो पनि: चितवनमा रोपाइँ गर्दै ओली (तस्बिरहरू)
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपाले मोर्चाबन्दी गर्दा छुटाएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि प्रतिपक्षीजस्तै बनेका छन्।
ओलीले भरतपुर–२४ स्थित केरुङ्गा सामुदायिक तरकारी फार्ममा मेसिनले धान रोपे। उनी सहभागी भएको कार्यक्रममा जिल्लाका धेरै किसान र कार्यकर्ताहरु पनि सहभागी थिए। लामिछानेले भरतपुर–१३ र २३ स्थित खेतमा धान रोपे। त्यहाँ किसान तथा पार्टी कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो।
भट्टराई भरतपुर–२० स्थित पश्चिम भीमनगर टोलमा गरिएको रोपाई महोत्सव कार्यक्रममा सहभागी भए। उनले त्यहाँ बाउसे गरेका थिए। भट्टराई सहभागी भएको कार्यक्रममा पनि किसानहरुको उल्लेख्य उपस्थिती थियो। यो कार्यक्रम नेपाल समाजवादी किसान महासंघ, शाकम्भरी ताजा तरकारी कृषि सहकारी संस्था र युवा आधुनिक सामुहिक खेती फर्मले आयोजना गरेका हुन्।
रापाइँमा सहभागी हुनुअघि बोल्दै ओलीले कृषिको आधुनिकीकरण नेपालको आवश्यकता रहेको बताए। उनले अब पनि आधुनिकीकरणतर्फ नलागे खाद्य संकट आउन सक्ने बताए।
‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सक्नुपर्छ। त्यसका लागि नयाँ प्रविधिको प्रयोग बढाउने हो,’ उनले भने, ‘कृषिमा आत्मनिर्भर भए अरु कुरामा पनि हुँदै जान्छ।’ सरकारले बेलैमा मल नदिएर चिन्तित बनेका किसानहरु विपक्षी दलका नेताहरु आफ्नो ठाउँमा आएर हौसला दिँदा खुसी देखिए।
भरतपुर-२४ की सुकमाया तितुङको १० कट्ठा जमिनमा धान रोप्नुपर्ने छ। तर पानी नभएकाले रोप्न पाएकी छैनन्। ‘पानी त अब पर्ला जस्तो छ। तर मलको व्यवस्था कसरी गर्ने भन्ने पिरलो छ,’ तितुङले भनिन्, ‘बुटवलमा रहेका आफन्तलाई भनेको छु। त्यता पाइयो भने ल्याएर छर्नुपर्ला।’
भरतपुर-२३ का डिलबहादुर घर्तीले किसानलाई कस्तो समस्या परेको छ भनेर सरकारी निकाय कसैले चासो नदेखाएको बताए। ‘विपक्षी नेताहरु भने पनि आएर हौसला बढाएका छन्। सकेको प्रयास गर्छु भनेका छन्,’ उनले भने, ‘किसानलाई चाहिएको पानी र मल हो। यती कुरा पुराइदिए केही चाहिन्थेन।’
धान दिवसको अवसरमा भरतपुर महानगरपालिकाले पनि त्रिपुरेवर कृषि सहकारी संस्थाको खेतमा रोपाई महोत्सवको आयोजना गरेको थियो। यहाँ महानगरकी मेयर रेनु दाहाल उपस्थित भएकी थिइन्। उनले धान पनि रोपिन्। यहाँ रोपाईं प्रतियोगिता र हिले दौड प्रतियोगिता पनि गरिएको थियो।
कृषि ज्ञान केन्द्र चितवनकाअनुसार चितवनमा आजसम्म २० प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ। चितवनमा २३ हजार हेक्टर जमिनमा धान रोपिन्छ। यसपालि वर्षा हुन ढिला, नारायणी लिफ्टमा पम्प फेर्न लागिएकाले नहरमा समयमै पानी नआएको लगायतका कारणले धान रोपाईंमा ढिलो भएको हो।
केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले अब धमाधम रोपाइँ अघि बढ्ने बताए। ‘पानी पर्न थालेको छ। अहिलेसम्म कम रोपाइँ भएपनि अब गति बढ्छ,’ उनले भने।