चिनियाँ राष्ट्रपति सी चिनफिङले परराष्ट्र मन्त्री छिन काङलाई बर्खास्त गरेका छन्।
एक महिनादेखि सार्वजनिक रूपमा नदेखिएका परराष्ट्र मन्त्री काङलाई मंगलबार बर्खास्त गरिएको ग्लोबल टाइम्सले जनाएको छ।
काङलाई बर्खास्त गरेर उनको ठाउँमा वाङ यीलाई पुन: नियुक्त गरिएको छ।
गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका थिएनन्।
जुलाई पहिलो साता काङले युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठायो। बोरेलको बेइजिङ भ्रमण रद्द भयो।
इन्डोनेसियाको जकार्तामा भएको दक्षिण-पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि काङ सहभागी भएनन्। उनको साटो उक्त बैठकमा चीनका अर्का कूटनीतिज्ञ वाङ यीलाई पठाइएको थियो। वाङ यी गत डिसेम्बरसम्म चीनका विदेश मन्त्री थिए।
यो विषयमा जिज्ञासा राख्दा केही दिनअघि चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले ‘यसबारे तपाईंलाई दिन मसँग कुनै सूचना छैन’ भनेकी थिइन्। उनले चिनियाँ विदेश मन्त्रालयका गतिविधि सामान्य रूपले चलिरहेको दाबी गरेकी थिइन्।
काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि स्वास्थ्यबाहेक अरू कारणबारे पनि चर्चा हुन थालेको छ। चीनबाहिर रहेका विश्लषेकहरूले एक जना टेलिभिजन प्रस्तोतासँग काङको सम्बन्ध पनि यो घटनाको कारण हुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको थियो।
चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेताहरू लामो समयसम्म सार्वजनिक रूपमा नदेखिँदा पनि त्यसबारे यथार्थ विवरणहरू सार्वजनिक गर्ने गरेको छैन।
को हुन् काङ?
सन् १९६६ मा जन्मिएका काङले १९८८ मा सर्भिस ब्युरो फर डिप्लोम्याटिक मिसनमा काम सुरू गरेका थिए। सन् १९९२ देखि १९९५ सम्म उनले विदेश मन्त्रालयको पश्चिम युरोप मामिलासम्बन्धी विभागमा काम गरेका थिए।
बेलायतको राजदूत हुनुअघि उनले त्यही दूतावासमा काम गरेका थिए। दुई पटक चिनियाँ विदेश मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दा उनी निकै कडा रूपमा चीनको आन्तरिक र बाह्य नीतिको रक्षा गर्थे। चीनको ‘वुल्फ वारियर’ कूटनीतिज्ञमध्ये एक जना उनी पनि हुन्।
२०१७ मा उनी चिनियाँ विदेश मन्त्रालयको प्रोटोकल विभागका महानिर्देशक भएका थिए भने २०१८ देखि २०२१ मा उनले उपविदेश मन्त्रीको जिम्मेवारी पाएका थिए।
राष्ट्रपति सीका विदेश भम्रणको सबै चाँजोपाँजो मिलाउनमा उनको प्रमुख भूमिका हुन्थ्यो। यो बीचमा उनी सीका विश्वासपात्र बनेका थिए।
कोरोना महामारी र व्यापार युद्धले अमेरिकासँगको सम्बन्ध नाजुक बनेका बेला सीले काङलाई राजदूत बनाएर अमेरिका पठाएका थिए। १७ महिना अमेरिकामा राजदूत हुँदा उनले दुई देशको सम्बन्धबारे आफ्नो स्वभावअनुसार तीखो टिप्पणी गरेनन् बरू दुई देशको सम्बन्ध बलियो बनाएर अघि बढाउन साझा धरातल रहेको बताएका थिए।
अमेरिकामा रहँदा उनले सिन्जियाङ, हङकङ र ताइवान मुद्दामा आफ्नो कुरा खरो रूपमा राख्थे।
सीसँगको निकटताका कारण काङ निकै छिटो समयमै विदेश मन्त्रालयको जिम्मेवारीमा आइपुगेको बताइन्छ। गत अक्टोबरको राष्ट्रिय सम्मेलनले काङलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनाएको थियो।
सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्ता काङले ट्विटरका नयाँ मालिक एलन मस्कसँग गाडीमै कुराकानी गरेको तस्बिर पनि सार्वजनिक गरेका थिए।