बिहान साढे १० बजेतिर भरतपुरको सिजी ल्याण्डमार्कस्थित सिनेप्लेक्सका दुई वटा सिनेमा हलहरू खचाखच थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हलको भुइँमा थचक्क बसे। त्यसपछि पर्दामा देखिए उनै लामिछाने।
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा निर्वाचित भएको बुधबार एक सय दिन भयो। उनी एक सय दिनभित्रमा आफूले गरेका काम र बनाएका योजना सुनाउन पर्दामा उभिएका थिए। उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क बस सञ्चालन गर्नेदेखि विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारी दिने कार्यक्रहरू सुनाए।
निर्वाचित भएको सयौं दिनमा लामिछानेले आफ्नो निर्वाचन क्षेत्रबाट केही नयाँ कामको थालनी नै गरेका छन्।
उनले विदेशमा रहेका नेपालीलाई स्वेदशमै कामको अवसर दिलाउने गरी अहिले एक सय जनालाई रोजगारीका लागि विज्ञापन गरेको बताए। विदेशमा सीप सिकेका, योग्यता हासिल गरेकालाई प्रोत्साहन गर्न मासिक ४० हजार रुपैयाँ देखि डेढ लाख रुपैयाँसम्म तलबमा काम गर्न आह्वान गरेको उनले बताए। रोजगारदाताको सर्तमा सहमत भए राष्ट्रिय स्वतन्त्र पार्टीले उनीहरुलाई काममा लगाउन समन्वय गर्ने लामिछानेले बताए।
साथै निर्वाचनअघि गरेको घोषणाअनुरुप आफ्नो सचिवालयमा बेलायतबाट उच्च शिक्षा हासिल गरेर फर्किएका व्यक्तिलाई सिइओ बनाएको जानकारी लामिछानेले दिएका छन्। ४०० बढी आवेदनबाट अन्तर्वार्तामार्फत् बेलायतबाट उच्च शिक्षा हासिल गरेपछि जागिर छाडेर फर्किएका सूचना प्रविधि तथा डाटा सेन्टर कन्सल्टेन्ट तथा लेखक हेमन्त बराल छनोट भएको उनले जानकारी दिए।
चितवन क्षेत्र नम्बर २ का महिलाले निःशुल्क सेवा पाउनेगरी बुधबार ‘ब्लू बस’ को सेवा शुभारम्भ गरिएको छ। निलो रङको यो बस भरतपुरका विभिन्न रूटहरू चल्नेछ। पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाएर यो सेवा सुरू गरिएको छ। बसमा रहेको मेसिनमा कार्डले छोएपछि सेवा निःशुल्क हुने लामिछानेले बताए। कार्डले बसमा को-को चढे भन्ने कुराको रेकर्ड पनि रहनेछ। माग र उपयोगअनुसार समन्वय गरी भविष्यमा अन्य बस पनि थप गर्ने उनले बताए।
‘बसमा महिलाहरूका लागि आवश्यक पर्ने स्यानेटरी प्याड पनि रहनेछ। एउटा सूचना बक्स पनि रहन्छ। त्यसमा गुनासोहरू राख्न पाउनुहुन्छ,’ लामिछानेले भने, ‘एउटा जनप्रतिनिधिले सार्वजनिक यातायात कस्तो हुनुपर्छ भन्ने सपना देख्नुपर्छ। अझ सार्वजनिक सवारीमा महिलाको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्छ। देख्नुपर्छ, देखाउनुपर्छ।’
सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाका लागि निःशुल्क मोबाइल क्लिनिक सञ्चालनमा ल्याउने घोषणा गरे। एक जना एमबिबिएस डाक्टरसहितको मोबाइल क्लिनिकले घरघरमा गएर प्राथमिक उपचार सेवा दिनेछ। थप उपचार चाहिए सम्बन्धित अस्पताल र डाक्टर सिफारिस गर्न सहजीकरण गर्नेछ।
‘हरेक दिन नयाँ-नयाँ टोलहरूमा पुग्नेछ, क्लिनिक कहाँ, कहिले कसरी आउँछ पहिल्यै सूचना दिनेछौं। अस्पताल जान नसक्नेले फोन गरेर बोलाउन पनि सक्नुहुन्छ,’ लामिछानेले भने, ‘यो सांसदको काम होइन तर चुनावताका घरघरमा जाँदा आशिर्वाद दिने बा-आमालाई छोराको नाताले हेरचाह गर्ने कर्तव्यअन्तर्गत हो यो।’
उनले पैसाको अभावले कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर विपन्नका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताएका छन्।
यो कार्यक्रमअन्तर्गत विपन्न नागरिकको पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा हुनेछ। पहिलो चरणमा चितवन क्षेत्र नम्बर २ का एक सय जना विपन्नलाई छनोट गरिसकिएको लामिछानेले बताए। ‘स्वस्थ चितवन’ अभियान नाम दिइएको यो कार्यक्रमलाई उनले भरतपुरमा खानेपानी आयोजना पछिको महत्वाकांक्षी कार्यक्रम भनेका छन्। उनको नेतृत्वमा भएको जनश्रमदानबाट जुगेडीको मगर खहरेको पानी केही दिनअघि रामनगर ल्याइएको थियो। स्वास्थ्य बीमा कार्यक्रममा विपन्न नागरिकहरुको सहभागिता बढाउँदै लैजाने लामिछानेले बताए।
उनले आफ्नो क्षेत्रका दुई वटा विद्यालयहरुलाई नमूना विद्यालय बनाउने बताएका छन्। अहिले रामनगर मावि र चतुर्मुखी माविका कक्षा ११ र १२ लाई नमूना बनाउने काम सुरू गरिएको उनले बताए।
‘थप एक विद्यालय पनि लिन्छौं। क्रमश: अन्य कक्षाहरूलाई पनि नमूना बनाउँदै लैजान्छौं,’ लामिछानेले भने, ‘यहाँका विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई काठमाडौंको बुढानिलकण्ठ र पोखराको गण्डकी बोर्डिङमा पढ्नेसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउने लक्ष्य राखेका छौं।’
उनले इच्छाकामना गाउँपालिका-१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालय(१–७)को स्तरोन्नति गर्ने र कक्षा १२ सम्म आवासीय विद्यालय सञ्चालन गर्ने घोषणा गरे। साथै इच्छाकामना गाउँपालिकाको कृषि क्षेत्रको विकासका लागि इजरायलको कुनै एक स्थानीय तहसँग मितेरी सम्बन्ध गाँस्नका लागि प्रक्रिया सुरू गरेको जानकारी दिए।
लामिछानेले उपनिर्वाचनमा ५४ हजार १७६ मत ल्याएका थिए। त्यही मत बराबरको संख्यामा वृक्षारोपण गर्ने लक्ष्य उनको छ। एक मतदाता बराबर कम्तीमा एक बिरूवा रोप्ने कार्य उनले बुधबार सुरू गरेका छन्।
उनले हरेक चार महिनामा एक पटक सार्वजनिक सुनुवाइ गर्ने बताए। आफ्नो क्षेत्रका विभिन्न स्थानहरूमा सार्वजनिक सुनुवाइ गर्ने घोषणा उनले गरे। पहिलो कार्यक्रम भदौ १० गते हुनेछ।
‘यसमा सरोकारवाला निकायलाई समेत राख्छौं। म मेरो आफ्नो कामको हिसाब जनतालाई बुझाउँछु। सरोकारवालासँग हिसाब जनताले माग्ने छन्,’ लामिछानेले भने।
उनले बर्खाको समयलाई लक्षित गरेर २० जना सदस्य रहेको ‘र्यापिड एक्सन टिम’ बनाएका छन्। त्यो टिमले बर्खाको समयमा आउने विपद्को व्यवस्थापनमा प्रशासनलाई सघाउनेछ।
यी सबै काम गर्नका लागि लामिछानेले विदेशमा रहेका नेपालीहरूसँग हातेमालो गर्ने बताएका छन्। विभिन्न देशमा ‘चितवन क्लब’ बनाएर सहयोग संकलन गर्ने लक्ष्य उनको छ।
‘हामीले गर्न लागेको कार्यक्रममा हातेमालो गर्न हामी विदेशमा रहेका नेपालीलाई आह्वान गर्छौं। चितवन क्लब बनाउँछौं,’ लामिछानेले भने, ‘मेरो क्षेत्रमा सफल भयो भने यसलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने लक्ष्य छ।’
लामिछानेले आफूले सुरू गरेका कार्यक्रमको बारेमा स्थानीय तहहरूसँग पनि छलफल गर्ने बताए।
‘ती कामहरू उहाँहरूले नै गर्ने हुनुभयो भने त झनै राम्रो हुन्छ। म सकेसम्म स्थानीय तहको अधिकार क्षेत्रमा प्रवेश गर्न चाहँदिनँ। सबैसँग छलफल गरेरै अघि बढ्ने मेरो चाहना छ,’ लामिछानेले भने।