जनताका प्रतिनिधिले बहस गर्ने थलो हो प्रतिनिधि सभा। तर आजकाल यो सभा कहिले खुल्छ र कहिले बन्द हुन्छ, त्यसको टुंगो हुन छाडेको छ।
सभामा एमालेको बारम्बारको अवरोधका कारण आफूहरूले बोल्न नपाएपछि प्रतिनिधि सभाको चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यो साता प्रतिनिधि सभाको ढोकैमा पत्रकार सम्मेलन गर्यो र त्यहीँ आफ्ना कुरा राख्यो। सभामुखको ध्यानाकर्षण गरायो।
अबको पाँच वर्ष संसद चलाउने जिम्मासहितको चाबी पाएका छन् देवराज घिमिरेले।
तर सभामुख भएको सात महिना बित्दा-नबित्दै उनी आफ्नै पार्टी एमालेतिर ढल्किएको आरोप लाग्न थालिसकेको छ। संसदको नियमावली नबुझेर पनि उनी कहिलेकाहीँ विवादमा आउँछन्। उमेरमा पाका छन्, तर प्रस्तुतिमा यदाकदा आलोकाँचोझैं देखिन्छन्।
मुलुकमा बहुदलीय व्यवस्था स्थापना भएको तीस वर्षभन्दा बढी भएको छ। संसदका सातवटा निर्वाचन भइसकेका छन्। तर घिमिरे प्रतिनिधि सभा छिरेका पहिलोपटक हो। पहिलोपटकमै उनी सभामुख बनेका हुन्।
कम्युनिस्ट राजनीतिमा भने देवराज घिमिरे पुरानै नाम हो। यति लामो समयसम्म उनी ओझेलमै थिए।
— किन संसदमा थिएनन्, किन ओझेलमा थिए, अनि यसपालि कसरी संसदमा छिर्नेबित्तिकै सभामुख भए?
एमाले पार्टीमा घिमिरेको विरासत, सहकर्मीहरूसँगको सम्बन्ध, आत्मीयता र अहिलेको भूमिकाबारे संवाद गर्न हामी सभामुख निवास बालुवाटार पुगेका थियौं। चार दशकदेखिको पूर्णकालीन राजनीति, न्यून अवसर, छोराहरूको पढाइका कारण झापा, बिर्तामोडमा रहेका दुइटा घर बेचेर डेरामा बस्दै आएका घिमिरेलाई सभामुख निवास पक्कै पनि सुविधाजनक नै छ।
सभामुख निवास, संघीय संसद र सभामुखको भूमिकामा कुरा गर्नुअघि हामी उनको लामो राजनीतिक यात्राबारे कुरा गर्न चाहन्थ्यौं। घिमिरेले भने हामीलाई उनको कर्मथलो झापाभन्दा पनि टाढा ताप्लेजुङ पुर्याए।
१९९६ सालको कुरा हो, तीनधारा स्कुलमा पढ्दै गरेका रामेछापका पदमप्रसाद घिमिरेलाई तत्कालीन राणा सरकारले नोकरी दिएर ताप्लेजुङ पठायो। हुलाकमा काम गर्दागर्दै घिमिरेले उतै घरजम गरे, छोराछोरी जन्मिए। ६ छोरा र ६ छोरी मध्येका एक हुन् देवराज। तर परिवार चलाउने, घर धान्ने भन्ने पिर उनलाई कहिल्यै भएन।
घिमिरे जन्मिँदासम्म पनि उनको गाउँ सिकौजामा स्कुल थिएन। उनका बुवाले नै सिंहदेवी प्राथमिक विद्यालय खोले, देवराजहरू बुवाका विद्यार्थी बने। केही समयपछि सिंहदेवी सरकारी स्कुलमा रूपान्तरण भयो। कक्षा ६ र ७ को अध्ययनका लागि भने घिमिरे गाउँबाट अलि टाढा जानुपर्यो।
सरस्वती निम्न माध्यमिक विद्यालयमा पढ्दाताका उनको झुकाव राजनीतितिर देखिन थाल्यो। २०२४ सालतिरको कुरा हो, उनी सात कक्षामा हुँदा स्कुलमा स्ववियु चुनावको चर्चा चल्यो। अनायसै उनी कम्युनिस्ट पार्टीतिर आकर्षित भए। त्यस बेला भूमिगतकालीन राजनीतिमा कम्युनिस्टहरू विभिन्न टुक्राका थिए, अहिलेजस्तो अचाक्ली भने थिएन। त्यसपछि घिमिरे निरन्तर कम्युनिस्टको झन्डामुनि नै रहे। भूमिगतकालभरि माले भए, पार्टी एकीकरण एमाले बने।
आठ कक्षादेखि माथिको अध्ययन गर्न उनी सदरमुकामको भानु माविमा पुगे। त्यहाँ पुराना कम्युनिस्ट नन्दकुमार प्रसाईं प्रधानाध्यापक थिए। उनी पूर्वका जिल्लाहरूमा कम्युनिस्ट पार्टी विस्तार गर्ने अभियान लिएर पुगेका थिए। प्रसाईंकै छत्रछायामा घिमिरे कम्युनिस्ट भए। त्यतिखेर टंक कार्कीहरूसँग पनि उनको भेट भएको थियो। कार्की एमालेको गत महाधिवेशनपछि राजनीतिमा त्यति सक्रिय छैनन्। एमाले विभाजित नहुँदै त्यहाँ भित्रको गुट-उपगुटको राजनीतिमा कार्की पहिल्यैदेखि पिसिँदै आएका थिए।
घिमिरे स्कुलपछिको अध्ययनका लागि पनि कार्कीसँगै धरान आए। त्यति बेलासम्म पूर्वमा झापा विद्रोहपछि राजनीति मौलाइरहेको थियो। झापा विद्रोहबाट जोगिएकाहरूलाई पनि उनले धरान क्याम्पसमा भेटे। तर पढेर केही हुँदैन भन्ने साथीहरू पनि थिए, उनलाई पनि त्यस्तै लाग्न थाल्यो। २०३२ सालमा घिमिरे पार्टी विस्तारको अभियान लिएर फेरि ताप्लेजुङ फर्किए।
'त्यति बेला घरको आर्थिक अवस्था कमजोर भएपछि अशोक राई, युवराज कार्कीहरू पढ्न छोडेर गाउँ जाने अभियानमा थिए। त्यस बेला पनि आइए प्राइभेटबाट दिएर पास गरियो,' घिमिरे सम्झिन्छन्, 'पढ्दा पढ्दै बहिष्कार गरेर, देश र जनताको सेवा गर्न गाउँ जाने, लालसेना निर्माण गर्ने र सशस्त्र संघर्ष गरेर यही बाटोबाट सत्ता कब्जा गर्नुपर्छ भन्ने मान्यता भयो। अनि बीचमै पढाइ छाडेर पार्टी विस्तारका लागि गएँ। त्यस बेलाको माहौल नै यस्तै थियो।'
२०३६ सालदेखि भने उनले पूर्णकालीन भूमिगत राजनीति सुरू गरे। पूर्वमा कम्युनिस्ट पार्टी विस्तार गरिरहेका हरि नेपाल, रत्नकुमार वाइबा लगायत नेताहरू राज्यको धरपकडमा मारिन थालेपछि भूमिगत हुनु उनको बाध्यता पनि थियो। भूमिगतकालमै उनी ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामको पार्टी विस्तारमा लागे। इलाममा २०३९ देखि २०५२ सालसम्मै पार्टी प्रमुख भएर काम गरे।
२०४६ सालको जनआन्दोलन सफल भएपछि प्रतिबन्धित दलहरू खुला राजनीतिमा आए, सँगसँगै घिमिरे पनि। २०४७ सालमा एमाले गठन भयो, उनी पार्टीका सदस्य भए। २०४९ सालमा भएको पार्टीको पाँचौं महाधिवेशनबाट घिमिरे वैकल्पिक केन्द्रीय सदस्य चयन भए। लगत्तै उनी इलाम छाडेर झापा झरे। पार्टीको मेची इन्चार्ज भएर घिमिरेले २०५८ सालसम्मै काम गरे। त्यस बेला सुदूरपूर्वमा नारा लाग्थ्यो 'मेचीका चार जिल्ला, लाल किल्ला!'
झापा व्रिदोहको छाप
त्यतिखेरको भूमिगतकालीन राजनीतिमा लाग्नेमध्ये जसलाई सोधे पनि उनीहरूले तत्कालीन सामन्तवादको अन्त्य गर्न नै राजनीतिमा लागेको जवाफ दिन्छन्। घिमिरेको पनि त्यही थियो।
'समाजमा दु:ख गर्नेहरू गरिब भइरहनुपर्ने, शोसक-सामन्तीहरू अगाडि बढ्ने भन्ने मान्यताजस्तै नै थियो। यो कसरी हुन्छ भन्ने कुरा चित्त बुझ्दैन थियो,' घिमिरेले भने, 'अर्कातिर चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई बदल्यो भन्ने प्रचार खुब हुन्थ्यो। कम्युनिस्ट सिद्धान्तले जनतालाई समृद्धि दियो भन्ने हुन्थ्यो। त्यसले पनि केही प्रभाव पार्यो। तर सबभन्दा धेरै प्रभावित झापा विद्रोहबाटै भइयो।'
२०२९ फागुन २१ गते तत्कालीन पञ्चायती शासकले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली ठोकेर हत्या गरेको थियो। त्यसले कम्युनिस्ट पार्टीप्रति आस्था हुनेहरूलाई उद्वेलित बनाएको थियो र राज्यप्रति थप निर्मम।
त्यस बेला कम्युनिस्टहरू 'सामन्तलाई नगिंडी, सैनिकसँग नभिडी आउँदैन जनवाद भाषण ठोकेर' भन्ने गीत गाउँदै हिँड्थे। यसबाट घिमिरे प्रभावित नहुने कुरै थिएन।
'एकतीस साल माघ १३ गते म र टंक कार्की त्यहाँ पुगेका थियौं। दुई वर्षपछि जाँदा पनि झुप्राझुप्री थिए। त्यहाँ आगो लगाएर डढेका खम्बाहरू यसै थिए,' घिमिरेले भने, 'त्यो देखेपछि यसको बदला लिनुपर्छ भन्ने महसुस हुन्थ्यो। राष्ट्रका लागि आफूलाई समर्पित गर्नुपर्छ, सहिदको बाटोमा हिँड्नुपर्छ भनेर नै सोचियो।'
त्यसो त तुलनात्मक रूपमा पूर्वी नेपाल राजनीतिक चेतना र शिक्षाका हिसाबले अगाडि नै थियो। ब्रिटिस शासकहरूले दार्जिलिङमा राम्रा स्कुल खोलिदिएका थिए। नेपालका हुने-खानेहरू अंग्रेजी पढ्न उतै जान्थे। उता पढेकाहरू पढाउन पूर्वी नेपालका विभिन्न ठाउँमा आइपुग्थे। शिक्षा सँगसँगै राजनीतिक चेतना पनि पूर्वका जिल्लाहरूमा आइरहेका थिए। बिपी कोइराला, मनमोहन अधिकारीहरूमा राजनीतिक चेतना फस्टाउनुका पछाडि कतै नै कतै दार्जिलिङतिरबाट आएको शिक्षा र चेतनाको पनि भूमिका छ।
पश्चिम भारतमा हुने राजनीतिक उतारचढावको असर पूर्वी नेपालमा पर्यो। अझ धेरै असर भारतको पश्चिम बंगालबाट सुरू भएको नक्सलवादी आन्दोलनको पर्यो। भारतको कम्युनिस्ट आन्दोलनको प्रभाव र २०१५ सालमा थोरै भए पनि कांग्रेसको शासन भोगेका पूर्वी नेपालका जनता कम्युनिस्टप्रति आकर्षित भए।
'त्यस बेला कांग्रेस खासै थिएन। मान्छेहरू अर्कालाई गाली गर्नुपर्दा पनि तेरो घरमा कांग्रेस पसोस् भन्थे,' घिमिरेले सुनाए।
छिमेकी मुलुकमा फस्टाउँदै गरेको शिक्षा र चेतना त थियो नै, पृष्ठभूमिमा घिमिरेहरूले गरेको भूमिगत राजनीति पनि कारक थियो।
हामीले घिमिरेलाई फेरि उही भूमिगतकालीन राजनीतितर्फ डोहोर्यायौं।
भूमिगत राजनीति नै त्यस्तै थियो, दिनभरि सुत्ने रातभरि हिँड्ने। पाका मान्छेहरू कलिला केटाकेटीका कुरा सुनेर 'कन्भिन्स' हुनै नसक्ने। बरू राजनीतिक परिवर्तन गर्न टर्चलाइट बोकेर हिँडिरहेका यी युवाहरू देखेर गाउँलेहरू टिठाउँथे।
'हामीलाई उनीहरूले कसको छोरा हो, यसले सत्ता ढाल्छु भनेको छ, के पार लाग्छ र खोइ भन्थे,' घिमिरेले भने।
अनुभवका बिस्कुन सुकाउँदै जाँदा घिमिरे अचानक प्रदीप नेपाललाई सम्झिएर टक्क रोकिए। आफ्नो कालमा एमालेमा प्रभावशाली मध्येकै मानिने नेपाल अहिले बिरामी छन्। घिमिरेले झैं पुराना कुरा उस्तै दुरूस्तै सम्झिन सक्दैनन् नेपाल।
'प्रदीप नेपाल मोहित गर्न सक्ने मान्छे हो, गीत गाउन पनि सक्ने। उहाँको नाम कता के, कता के हुन्थ्यो। उहाँलाई मान्छेहरूले सारै खोज्थे,' घिमिरेले भने।
२०४५ सालको अन्तिमतिर आउँदा भूमिगत पार्टीका नेताहरू नै निराश भइसकेको अनुभूति घिमिरेमा थियो।
'पार्टीका संगठित कार्यकर्ता र पार्टी विस्तार गर्न हिँडिरहेकाहरूले नै अब यो राजनीतिबाट हुँदैन, भागेर भारत जाऔं भनिरहेका हुन्थेँ। आफ्नै सहकर्मीहरूविरूद्ध राज्यलाई सुराकी लगाउनेहरू बढिरहेका थिए,' घिमिरेले भने, 'कसरी पार्टी जोगाउने होला, कसरी साथीहरूलाई जोगाउने होला भन्ने लाग्दै थियो, लाग्दै थियो। ठ्याक्कै जनआन्दोलन भएर बहुदल आयो।'
मुलुकमा लोकतन्त्र, पार्टी निरंकुश
मुलुकमा बहुदल आएपछि एमाले २०४८ सालमा पहिलोपटक निर्वाचनमा गयो। त्यतिखेर घिमिरे इलामका जिल्ला सचिव थिए, सचिव नै पार्टीको प्रमुख हुने व्यवस्था थियो। पार्टी खुला भएर चुनावमा जाँदा सकेसम्म धेरै सिट जित्नुपर्छ भन्ने उनलाई पनि लाग्यो। तर उनको भूमिका इलाममा पार्टीका उम्मेदवारलाई जिताउनेमा सीमित थियो। उनले त्यहीँ आफ्नो जिम्मेवारी निर्वाह गरे। त्यस बेला मेची अञ्चलका इन्चार्ज अमृतकुमार बोहरा थिए, पार्टीका महासचिव मदन भण्डारी।
इलाममा दुईवटा निर्वाचन क्षेत्र थिए।
पार्टी महासचिव मदन भण्डारीले घिमिरेलाई एउटामा आफू उठ्न र अर्को निर्वाचन क्षेत्रमा झलनाथ खनाललाई टिकट दिन आग्रह गरे। खनाल बहालवाला मन्त्री पनि थिए, उनलाई टिकट दिने कुरामा दुई मत नै रहेन। तर घिमिरेले जनजाति बाहुल्य क्षेत्रमा दुवै ठाउँमा खसआर्य समुदायबाट मात्रै उठ्न नहुने तर्क गरे।
'त्यसो भए इलाम २ मा सुवास नेम्वाङलाई दिनुस्,' त्यस बेला भण्डारीले गरेको प्रस्ताव सम्झिन्छन् घिमिरे। तर उनी मानेनन्। 'हामीले सुवासजीलाई कम्युनिस्ट नै मान्दैन थियौं। उहाँ जमिनदार परिवारको मान्छे हो। उहाँको बुवा न्यायाधीश हो। बरू उहाँको बहिनी शशीले हामीलाई साथ दिनुहुन्थ्यो।'
घिमिरेले नेम्वाङलाई टिकट दिन अस्वीकार गरेपछि उनकै आग्रहमा पार्टीले मणिकुमार लिम्बूलाई टिकट दियो। इलामका दुवै क्षेत्र एमालेले जित्यो। सम्भवतः यही कारण हुन सक्छ, एउटै गुटमा रहेर पनि नेम्वाङ र घिमिरेबीच कहिल्यै हार्दिकता भएन। गत निर्वाचनमा झापा क्षेत्र नम्बर २ मा घिमिरे कि अग्नि खरेल भन्ने रस्साकस्सीमा नेम्वाङ खरेलकै पक्षमा उभिएका थिए।
२०५१ सालको उपनिर्वाचनका बेला घिमिरे झापा जिल्ला इन्चार्जका रूपमा नयाँ थिए। त्यसमाथि 'भेट्रान' नेताहरूको उद्गमथलो झापा नै। झापामा त्यस बेला राधाकृष्ण मैनाली, सिपी मैनाली, केपी ओली लगायत नेताहरूको हालीमुहाली थियो। उनीहरूलाई जिताएर संसद पठाउने पर्दा पछाडिको योद्धाका रूपमा थिए घिमिरे।
तर पार्टी भूमिगतकालमा जस्तो एक ढिक्का रहिरहन सकेन। सुरूमा केपी र सिपीमा खटपट देखियो। अनि फेरि माधव नेपाल र केपी ओलीबीच। गुटको राजनीतिमा घिमिरे र घिमिरेजस्तै अरू थुप्रै नेताहरू गुटको राजनीतिमा घुनझैं पिसिन थाले।
२०५८ सालमा पार्टीको सातौं महाधिवेशन हुनुभन्दा केही समयअघि घिमिरेलाई पार्टीले भूगोलबाट विभागतिर सरूवा गर्यो। उनी मेची छोडेर काठमाडौं आए। त्यसपछि उनी कहिले शिक्षा, कहिले इन्जिनियरिङ, कहिले युवा र कहिले स्वास्थ्य विभागको प्रमुख भएरै काम गरे। बुटवलमा भएको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए तर पराजित भए। नवौं महाधिवेशनमा कुनै पनि प्यानलबाट टिकट पाएनन्। यद्यपी उनलाई अध्यक्ष केपी ओलीले मनोनित गरेर ल्याएका थिए।
'०७२ देखि २०७५ सम्म अध्यक्ष ओलीको सचिवालय प्रमुख भएर लगातार काम गरेँ। नेकपा भएपछि मलाई प्रदेश १ को अध्यक्ष बनाएर पठाइयो। ०७८ मंसिरसम्म इन्चार्ज भएर काम गरेँ,' उनले भने।
२०७८ सालको महाधिवेशनमा उनले पार्टी उपाध्यक्ष बन्ने इच्छा राखेका थिए। सहमतिमा भएन, चुनाव लड्न उनले चाहेनन्। पार्टी फुटेको थियो। २०७८ सालपछि उनी पार्टीको स्थायी कमिटी सदस्य र प्रदेश १ को इन्चार्ज भएर काम गरिरहेका थिए।
— पार्टीभित्र गुट-उपगुटको छिनाझप्टी पछिल्लो कालमा सप्रिएको हो कि पहिले पनि उस्तै थियो?
'साठी सालअघिसम्म सिपी र केपीका बीचमा द्वन्द्व थियो। त्यसपछि माधव नेपाल र केपी ओलीका बीचमा समस्या उत्पन्न हुन थाल्यो,' घिमिरेले सम्झिए।
यही द्वन्द्वको चपेटामा आफू परेकामा अहिले पनि घिमिरेलाई नराम्रो लाग्दो रहेछ।
'अहिले पनि मेरो राम्रै दाबी के हो भने मेचीमा मेरो प्रभाव माधव नेपालहरूलाई पच्दै पचेन,' घिमिरेले भने, 'राजीनामा दिन्छु नै भनेको थिएँ। केपी ओलीले अहिले राजीनामा नदिनू, जता खटाउँछन् त्यतै जानू भन्नुभयो। साह्रै पेलिएपछि एक जना न एक जना नेतालाई समाउनैपर्ने रहेछ।'
यहीँनिर पार्टीका शीर्ष नेताहरूबीच हुने गुटगत राजनीतिले कार्यकर्ताको मनोविज्ञानमा कस्तो असर पर्छ, यस्तै सुनिन्छन् देवराज घिमिरे।
ओलीसितको निकटता
घिमिरे एमाले अध्यक्ष ओलीलाई पार्टीमा कमजोर अवस्था हुने बेलैदेखि साथ दिने सारथिमध्येका एक हुन्।
उनीहरूको भेट २०४३ सालमा ओली जेलबाट छुटेपछि भएको थियो।
'उहाँ जेलबाट छुटेपछि झापामा पार्टीको राष्ट्रिय भेला भएको थियो, त्यहीँ पहिलो भेट भयो। त्यस बेला हामी रूसलाई कम्युनिस्ट मान्दैन थियौं। पार्टीले रूसको पार्टीलाई कम्युनिस्ट पार्टी मान्नुपर्छ भनेर निर्णय गर्यो।'
उनीहरूबीच दोस्रो भेट पार्टीको चौथो महाधिवेशनमा, सिरहामा भयो। त्यसपछि घिमिरे ओलीले गर्ने हरेक निर्णयमा साथमा छन्। महाकाली सन्धि संसदबाट पारित गर्नुपर्छ भनेर पार्टीले निर्णय गर्दा उनी वैकल्पिक सदस्यको एक नम्बरमा थिए र उनको एक मतका कारण नै पार्टीले सन्धिको पक्षमा जाने निर्णय गर्यो। पछि पार्टीमा नेपाल समूहको एकछत्र हुँदा ओली र घिमिरेहरू सँगसँगै पेलिए।
ओली शक्तिमा हुँदा घिमिरेले कहीँ कतै खाली हात बस्नुपरेको छैन, भलै देखिने गरीको राजकीय जिम्मेवारी भने उनले पहिलोपटक पाएका हुन्। सभामुख बन्नुभन्दा अगाडिको सकसको अर्को कथा छ फेरि!
उनलाई झापा २ मा टिकट पाउनु नै चुनाव जित्नुसरह थियो। महान्यायाधिवक्ताबाट राजीनामा दिएर झापा गएका अग्नि खरेल २ नम्बर क्षेत्रबाट चुनाव लड्न चाहन्थे। त्यसैको तयारीस्वरूप उनले बिर्तामोडमा घर पनि किनेका थिए। खरेलको पुर्ख्यौली थलो रहेको गौरीगञ्ज क्षेत्र नम्बर ५ मा पर्छ। त्यहाँ ओलीले चुनाव लड्ने चाहना राखुन्जेल अरूले नचिताए पनि हुन्छ भन्ने राम्रै थाहा भएकाले खरेल चुनावी क्षेत्र 'सिफ्ट' गर्न चाहन्थे।
झापा २ का नागरिकसँग राम्रो सम्बन्ध बनाउने र पार्टी अध्यक्ष ओलीलाई पनि 'कन्भिन्स' गर्ने दुवै काममा खरेल दत्तचित्त भएर लागेका थिए। यत्रो समयसम्म आफूले ओलीलाई नै सहयोग गर्दा पनि एकपटक पनि संसदीय प्रतिस्पर्धामा उभिन नपाएको भन्दै घिमिरेको दाबी आफ्नो ठाउँमा थियो। पार्टीभित्र घिमिरे र पार्टीबाहिर खरेलको लोकप्रियता मापन गरेका ओलीले अन्ततः घिमिरेलाई झापा २ को टिकट दिए। खरेललाई १ नम्बरमा पठाए।
चुनाव जितेपछि र पार्टीले सभामुख पाउने भएपछि अरू थुप्रै शक्तिशाली पदाधिकारीहरूलाई पन्छाउँदै ओलीले घिमिरेलाई नै सभामुख बनाउने निर्णय गरे।
'अहिले मलाई ओलीको दलाल भन्छन्, भनून् न। तर मैले राजनीतिमा गरेको योगदानको कदर भन्ने पनि त हुन्छ होला नि,' घिमिरले भने।
छाड्नेहरूप्रति निर्मम
सधैं पार्टी र पार्टी राजनीतिमा पनि प्रतिपक्षीको कित्तामा उभिएकाले होला, समन्वयकारीभन्दा आक्रामक ज्यादा देखिन्छन् घिमिरे।
हामीले उनले सम्झिएका अशोक राई, प्रदीप नेपाल, झलनाथ खनाल, टंक कार्कीहरूको नाम लिँदै प्रश्न गर्यौं — ती साथीहरू जो बारम्बार छुटे, सबै जना एकै ठाउँमा हुन पाएको भए पनि हुने जस्तो लाग्छ कि लाग्दैन?
एकछिन रोकिएर केही सोचेपछि घिमिरेले भने — मलाई त लाग्दैन, पार्टी छोडेर जानेसँग मायामोह छैन।
उनले आफ्ना पुराना सहकर्मीहरूले प्रतिनिधि सभा विघटनपछिको परिस्थितिमा कांग्रेसलाई आदर्श मानेको भन्दै आलोचना पनि गरे।
'केही दिनअघि सीता दाहालको अन्त्येष्टिमा जानुभएको रहेछ म पनि गएको थिएँ, हामी एकै ठाउँमा भयौं। मलाई झलनाथले तपाईं यहाँ हुनुहुन्छ, पार्टी एकीकरणका लागि कोसिस गर्नुपर्यो भन्नुभयो। मैले हुँदैन भनेँ,' घिमिरेले भने, 'उहाँले किन हुँदैन भनेर सोध्नुभयो। मैले तपाईंहरूमा यति धेरै इगो छ, के छ फुट्नुपर्ने कारण, एकअर्कामा सिध्याउन लाग्नुभएको छ, कसरी देश बनाऔं भनेर लाग्नुपर्नेमा कसलाई सिध्याऔं भनेर लाग्नुभयो, तपाईंहरूबीच एकताका लागि के मेहनत गराइ भयो र भनेँ।'
पार्टी नै फरक भएपछि मायामोह पनि बिस्तारै कम हुँदै जाने घिमिरेको अनुभव छ।
'पार्टी फरक भइसकेपछि त्यो मायाममता मसँग चाहिँ हुँदैन, अरूसँग के हुन्छ थाहा छैन,' उनले भने।
हुन त अहिले यो सबै पार्टी राजनीतिबाट टाढै बस्ने भूमिकामा छन् घिमिरे।
'म यतिका समयसम्म संगठन बनाउने काममा हिँडेँ। अहिले फरक भूमिकामा छु,' घिमिरेले भने, 'रेफ्री भएर काम गर भनेका छन्। मैले त्यही गरेको छु। निर्णय गर्ने गरीको केही आएको छैन। घटना विशेषमा जे गरे पनि दोषारोपण हुन्छ। कोही भए पनि बुझेर गर्ने कोही हुन्न।'
हामीले सोध्यौं — एमालेप्रति अलि बेसी झुकाव त देखिन्छ नि?
'सभामुखको कति-कति दायित्व हुन्छ भनेर अरूले बुझेका हुँदैनन्। पार्टीहरूले के सहमति गर्छन्। त्यसले भूमिका खेल्छ। सभामुखले न भोट हाल्छन्, न हाल भन्छन्, भूमिका नै नभएपछि के हुन्छ? मलाई आशंकाले नहेरियोस् भनेको छु। सदन रोक्ने, लैजाने, बोल्न दिने/नदिने भन्ने कुरा स्वाभाविक ढंगबाट गरेकै छु। सबैलाई मिलाउन गाह्रै छ, एउटा न एउटा आरोप लगाइहाल्छन्,' घिमिरेले भने।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी